© 2026
बुटवल । रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित तथा समानुपातिक सांसदहरूले यातायात व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. बुटवलले विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवतलगायत चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसदहरूले यातायात क्षेत्रका समस्या समाधान गर्न आवश्यक कानुनी सुधारमा पहल गर्ने बताएका हुन् ।
प्रत्यक्ष निर्वाचित सांसद सुलभ खरेल तथा समानुपातिक सांसदहरू मञ्जु भुसाल र अमृता विकले विगतमा बनेका कतिपय कानुन अहिले अव्यावहारिक रहेकाले समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए । सुशासन र विकासको गतिलाई तीव्र बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
सांसद खरेलले तीन तहका सरकारबिच समन्वयको अभाव, झन्झटिलो प्रशासनिक प्रक्रिया, नीतिगत जटिलता र प्रभावकारी नियमनको कमीले विकासले अपेक्षित गति लिन नसकेको बताए ।
वर्तमान सरकारले नयाँ कानुन निर्माण तथा पुराना कानुन संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले यातायात क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन सम्बन्धित कानुन संशोधनका लागि पहल गरिने बताए ।