Butwal Today

चाडपर्व सुरक्षा योजनाको औचित्य

२८ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

अहिले प्रहरी प्रशासनले देशैभरी चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । बडादशैंको अवसरमा घर फर्किने यात्रुहरूको सुविधाका लागि भन्दै देशका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने लहरपनि बेस्करी चलेको छ । यात्रु र सवारी साधनको सुरक्षा तथा संभावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गर्नु राम्रो हो ।

तर, यस प्रकारका यात्रु सहायता कक्ष दशैं तिहारको बेलामा भन्दापनि सधै गरिनुपर्ने हो । किनभने यात्रुलाई आवश्यक पर्दा सेवा सुविधा दिनु बस व्यवसायी र प्रहरी प्रशासनको दायित्व हो । बस व्यवसायीले मात्रै होइन अहिले प्रहरी प्रशासनले पनि बडादशैं लक्षित सुरक्षा योजना लागू गरेको छ । निश्चित रूपमा दशैं तिहारको बेला सुरक्षा चुनौति बढेको हुन्छ ।

यस्तो बेला प्रहरी प्रशासनको थप सकृयता आवश्यक पनि हुन्छ तर दशैंको बेलामात्रै गरिने यस प्रकारको सुरक्षा योजना अरू बेला किन लागू गर्न सकिदैन ? सार्वजनिक सवारीका साधनमा भीडभाड हुँदा यात्रुहरूलाई पर्ने समस्या, गन्तब्य र सवारी साधनको बारेमा जानकारी, चोरी, लुटपाट लगायत बिभिन्न प्रकारका असुरक्षा, आकस्मिक रूपमा उत्पन्न हुने शारिरिक स्वास्थ्य समस्या लगायतका ब्यक्तिगत घटनाका बारेमा समेत सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क राखिनु स्वागत योग्य कुरा हो तर यस्ता हेल्पडेस्कहरू बाह्रै महिना लागू गर्नु अति आवश्यक छ ।

यो समयको मागपनि हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूले आ– आफ्नो जिल्लामा दशैं, तिहार र छठलाई ध्यानमा राख्दै सुरक्षा योजना लागू गर्दै आएका छन् । यो बर्षपनि त्यो सुरक्षा योजनाले निरन्तरता पाएको छ । विगतमा पनि चाडपर्व आउनै लाग्दा यस प्रकारका सुरक्षा योजना लागू हुने गरेको सर्बविदीत छ । प्रहरी प्रशासनको दायित्व नै चाडपर्वमा मात्रै नभै हरेक दिन नागरिकलाई शान्तिको अनुभूति दिलाउनु हो ।

तर, यस्तै बेलामा हत्या, चोरी, डकैती र लूटपाटका घटना हुने गर्दछन् । अहिले सार्वजनिक गरिएको चाडपर्व लक्षित सुरक्षा योजनाको कार्यान्वयन गर्ने निकाय र स्थानीय जनताबीच समन्वय हुन जरुरी छ । सुरक्षा निकायको साथ र सहयोग लिएर सुरक्षा योजना पालना गर्नु सबैको कर्तब्य नै हो । अर्कोतर्फ जनताले सुरक्षाको अनुभूति गर्न पाए भनेमात्र यस प्रकारको सुरक्षा योजना प्रभावकारी हुन्छ भन्ने कुरा बिर्सन सकिदैन् ।

त्यसैपनि अहिले देश तथा विदेशबाट दशैं मान्न घर फर्किनेहरूको भीडभाड छ । यस्तो बेला स्वास्थ्य जोखिमपनि बढ्न सक्छ । प्रहरी प्रशासनले सहरी क्षेत्रमामात्रै सुरक्षा योजना लागू गरेको छ तर अव सहरदेखि गाउँसम्मै सुरक्षा योजना लागू हुनुपर्दछ । सीमित सहरी क्षेत्रमामात्र लागू हुने सुरक्षा योजनाले समग्र जिल्लाको शान्ति सुरक्षाको अनुभूति दिलाउन सक्दैन । अवको दिनमा सुरक्षा योजनाका साथ यात्रुले पाएको सास्ती र सुविधाको विषयमा समेत अनुगमन गर्नु जरुरी छ ।

देश तथा विदेशबाट आउने यात्रु सकुशल आफ्नो घरसम्म पुग्न पाएकी पाएनन् ? यो सवाल सर्वाधिक महत्वपूर्ण छ । तसर्थ चाडपर्व आउँछन, जान्छन तर सुरक्षा योजना अनुसार नेपालीले हरेक दिन सुरक्षाको अनुभूति गर्न पाउनुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?