© 2026
भैरहवा ।
रुपन्देहीको भैरहवामा आगामी मंसिर १७ देखि २८ गतेसम्म दशौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८३ आयोजना हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पर्यटन, उद्योग, कृषि र व्यापारको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।
मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवको मूल आयोजक समितिका संयोजक नेत्रप्रसाद आचार्यले महोत्सवमा करिब तीन लाख दर्शक सहभागी हुने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको जानकारी दिए ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार : राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा उद्योग, व्यापारिक प्रतिष्ठान, घरेलु तथा साना उद्योग, महिला उद्यमी र व्यवसायीका गरी करिब ३०० स्टल रहनेछन् । महोत्सवमा स्थानीय उत्पादनदेखि राष्ट्रियस्तरका उद्योगबाट उत्पादित वस्तु तथा सेवासम्मको प्रदर्शनी गरिने आचार्यले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघले २०६१ सालदेखि भैरहवामा मेला तथा महोत्सव आयोजना गर्दै आएको छ । संघले विगतका महोत्सवबाट प्राप्त अनुभव र सफलतालाई आत्मसात गर्दै यस वर्ष दशौं संस्करण आयोजना गर्न लागेको हो । महोत्सव मंसिर १७ गते बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन हुनेछ ।
महोत्सवलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्ने माध्यम बनाइने आयोजकले जनाएको छ । यस क्षेत्रका विभिन्न जातजातिको कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै लुम्बिनी क्षेत्रको आन्तरिक र बाह्य पर्यटन विस्तारमा महोत्सव केन्द्रित रहनेछ ।
महोत्सवमा विभिन्न जिल्लाका मौलिक तथा विशिष्ट पहिचान बोकेका वस्तु र उत्पादनको प्रदर्शनी गरिनेछ । स्वदेशी तथा गुणस्तरीय वस्तु उपभोग गर्न उपभोक्तालाई प्रोत्साहित गर्ने, सीमावर्ती भारतीय बजारमा उपलब्ध वस्तुसँग मूल्यको तुलनात्मक जानकारी गराउने र स्थानीयस्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार विस्तार गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय किसान, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने उद्देश्यले कृषिजन्य वस्तु, माछा तथा कुटीर र घरेलु उद्योगका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ । यसबाट स्थानीय उत्पादनको बजारीकरण, कृषिको व्यवसायीकरण र नयाँ उद्यमीको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको आचार्यले बताए ।
भैरहवा नेपाल–भारत सीमावर्ती क्षेत्रको प्रमुख व्यापारिक केन्द्र भएकाले महोत्सवमा भारतीय सीमावर्ती सहरबाट समेत उल्लेख्य सहभागिता हुने आयोजकको अपेक्षा छ । भारतीय पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधिलाई प्राथमिकता दिइनेछ ।
भगवान् गौतम बुद्धसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामका पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रलाई समेटेर विशेष पर्यटन प्याकेज निर्माण गरी भ्रमणको व्यवस्था मिलाउने योजना रहेको आचार्यले जानकारी दिए । यसका लागि सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरिनेछ ।
महोत्सव अवधिमा विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम पनि आयोजना गरिनेछन् । स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्टार्टअप उद्यमीलाई प्रतियोगिता र सिर्जनात्मक गतिविधिमार्फत सहभागी गराउने कार्यक्रमसमेत राखिएको छ ।
त्यसैगरी, स्थानीय पर्यटन विकास र स्थानीय सीप तथा साधनको प्रयोगबाट उत्पादित घरेलु वस्तुको प्रवद्र्धनका लागि सरोकारवालाबीच छलफल तथा गोष्ठी आयोजना गरी आवश्यक कार्ययोजना तय गरिने आयोजकले जनाएको छ ।
महोत्सव सफल बनाउन कार्यसम्पादन समिति, संयोजक समिति, आयोजक समिति तथा सल्लाहकार समिति गठन गरी तयारीका काम अघि बढाइएको संघले जनाएको छ । महोत्सवलाई सबैको अपनत्व र सहभागिताको कार्यक्रम बनाउन रुपन्देहीका स्थानीय तह, व्यावसायिक तथा सामाजिक संघसंस्था र अन्य सरोकारवालासँग सहकार्य गरिनेछ ।
आयोजकले महोत्सवमा स्टल राखेर आफ्ना वस्तु तथा सेवाको प्रचारप्रसार गर्न चाहने उद्योगी, व्यवसायी, घरेलु तथा महिला उद्यमी र विभिन्न संघसंस्थालाई सहभागी हुन आह्वान गरेको छ । साथै, महोत्सवको प्रचारप्रसार र सफलताका लागि सञ्चारकर्मी तथा आम नागरिकसँग सहयोगको अपेक्षा गरिएको छ ।
महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन प्रवद्र्धन, रोजगारीका अवसर सिर्जना र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि बढाउन योगदान पु¥याउने विश्वास आयोजकको छ ।