© 2026
काठमान्डौँ ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ । विभागका अनुसार यस अवधिमा भारी वर्षा हुने वा लगातार झरी पर्ने सम्भावना छैन ।
विभागका मौसमविद् डेभिड ढकालले सोमबार मौसम विवरण सार्वजनिक गर्दै देशभर वर्षासम्बन्धी कुनै चेतावनी जारी नगरिएको जानकारी दिएका हुन् ।
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा सामान्यतया बादल लागेको छ । हुम्लाको हिल्सा आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ भने देशका अन्य अधिकांश भूभागमा घाम लागेको छ ।
पछिल्लो २४ घण्टाको मौसम विवरणअनुसार सिन्धुपाल्चोक, प्युठान र रोल्पाका एक–दुई स्थानमा मध्यम वर्षा मापन भएको छ । यसबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ । तराईका कुनै पनि भूभागमा वर्षा भएको छैन ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका करिब १० प्रतिशत स्थानमा हल्का वर्षा हुने सम्भावना छ । बाँकी पहाडी भूभागका साथै तराईका सबै क्षेत्रमा वर्षाको सम्भावना न्यून छ । आज राति पनि वर्षा हुने सम्भावना छैन ।
भोलि र पर्सिको मौसम पनि आजकै जस्तै रहने अनुमान गरिएको छ । आगामी दुई दिनसमेत हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मात्रै हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । यस अवधिमा भारी वर्षा वा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् ढकालले बताएका छन् ।
वर्षाको सम्भावना न्यून रहेकाले विभागले मौसम चेतावनीको स्तर हरियो राखेको छ । मौसमविद् ढकालका अनुसार हरियो रङले वर्षासम्बन्धी कुनै चेतावनी नरहेको जनाउँछ ।
सुदूरपश्चिम र कर्णालीका केही स्थानमा बादल लागे पनि देशका अधिकांश भूभागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ । मौसमसम्बन्धी आधिकारिक तथा नियमित जानकारीका लागि विभागको वेबसाइट र सामाजिक सञ्जाल हेर्न मौसमविद्ले सुझाव दिएका छन् ।