© 2026
सिद्धार्थनगर । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ न्यू पक्लिहवा तेक्वान्दो दोजाङको आयोजनामा प्रथम स्पिड किकिङ तेक्वान्दो च्याम्पियनसिप–२०२६ आइतबार पक्लिहवा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
प्रतियोगितामा १४ विधामा खेल सञ्चालन गरिएको थियो भने ५६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाणपत्र तथा टीका लगाएर सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्राचार्य बसन्तकुमार बस्नेतले खेलाडीहरूको हौसला बढाउँदै खेलकुदले अनुशासन, आत्मविश्वास र प्रतिभा विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
तेक्वान्दो खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा युवामा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजित प्रतियोगिताले खेलाडीहरूमा अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।
कार्यक्रम प्रशिक्षक मोहम्मद हुसेन सुल्तानको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष उज्ज्वल पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा भैरहवा तेक्वान्दोका प्रमुख प्रकाशमान राजभण्डारी, बेलहिया माध्यमिक विद्यालयकी प्रधानाध्यापक बिना भण्डारी पाठक, इनर हिल क्लब अफ लुम्बिनीकी अध्यक्ष नारायणी नेपाल, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ, भैरव क्लबका अध्यक्ष यामबहादुर थापा, नयाँ गाउँ आमा समूहकी अध्यक्ष हरिमाया गुरुङ र मेडिहवा आमा समूहकी अध्यक्ष इन्दिरा बस्नेतलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा चेतकुमारी गुरुङको स्वागत मन्तव्य थियो भने यमकुमारी थापाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।