© 2026
काठमान्डौँ ।
काठमाडौंको बूढानीलकण्ठमा बसेर सुनको अवैध कारोबार गर्दै आएका चिनियाँ नागरिकले अमेरिकामा बस्ने एक व्यक्तिको घरलाई कारोबारको अखडा बनाएको पाइएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरूले विष्ट थर भएका व्यक्तिको घर गत साउनदेखि भाडामा लिएका थिए । उक्त घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ तय गरिएको थियो। घरभाडाबापत चार महिनाको रकम घरधनीलाई अग्रिम भुक्तानी गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ ।
घर भाडामा लिएर सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार छापा मारेको थियो। छापा मार्ने क्रममा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उक्त घरबाट करिब २१ किलो ७५०।६८ ग्राम सुन तथा विभिन्न मेसिन र उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चिनियाँ समूहका एक सदस्य सुरुमा काठमाडौं आएर यहाँको बजार र कारोबारको अवस्थाबारे जानकारी लिई चीन फर्किएका थिए । त्यसपछि समूहका अन्य दुई सदस्य पनि नेपाल आएका थिए ।
उनीहरू नेपाल आएपछि पनि तीनदेखि चार पटकसम्म विमानस्थलबाट आवतजावत गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।