Butwal Today

स्क्रब टाइफस : १० हजारभन्दा बढी संक्रमित, ७ जनाको मृत्यु, लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं । नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म किर्ना जस्तो देखिने माइटको टोकाइबाट देशभर १० हजारभन्दा बढी संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार यस अवधिमा २२ जनाको मृत्यु भएको रिपोर्ट भएको छ । तीमध्ये ७ जनाको मृत्यु स्क्रब टाइफसकै कारण भएको पुष्टि भएको छ भने बाँकी १५ जनाको मृत्युको कारणबारे थप अध्ययन भइरहेको छ । ईडीसीडीको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार मृत्युका सबै घटनालाई स्क्रब टाइफसकै कारण भएको मान्न मिल्दैन । मृत्यु प्रमाणपत्र, उपचारसम्बन्धी विवरण तथा चिकित्सकसँगको छलफलपछि मात्रै मृत्युको कारण पुष्टि गर्ने गरिएको उनले बताए।

स्क्रब टाइफस नेपालमा हरेक वर्ष देखिने संक्रमण हो । विगतका वर्षहरूमा पनि हजारौँ मानिस संक्रमित हुने गरेका थिए । ईडीसीडीका अनुसार २०८० मा ९ हजार ३३० जना, २०८१ मा ११ हजार ५०० जना र २०८२ मा करिब ७ हजार जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । ती वर्षमा स्क्रब टाइफसबाट मृत्यु भएको पुष्टि भने भएको थिएन । यस वर्ष विशेषगरी सल्यानमा मृत्युका घटना देखिएपछि संक्रमणको जोखिमबारे थप चासो बढेको हो । ईडीसीडीका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै २ हजार ७७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिममा १ हजार ९४७, गण्डकीमा १ हजार ८६४, बागमतीमा १ हजार २२६, कोशीमा १ हजार १३२, कर्णालीमा ७२९ र मधेशमा २४६ जनामा संक्रमण देखिएको छ । दाङ, सल्यान, बझाङ, स्याङ्जा, बर्दिया, पाल्पा र संखुवासभालगायतका जिल्लामा स्क्रब टाइफसको संक्रमण तुलनात्मक रूपमा धेरै देखिएको छ ।

स्क्रब टाइफस माइटको टोकाइबाट मानिसमा सर्ने संक्रमण हो । संक्रमित माइटमा पाइने ओरिएन्टिया सुसुगामुसी नामक ब्याक्टेरियाका कारण यो रोग लाग्छ । माइट प्रायः झाडी, खेतबारी, वनजंगल तथा घर वरिपरिका घाँसपात र फोहोर भएका स्थानमा पाइन्छ । डा. दाहालका अनुसार सल्यानमा मृत्यु भएका केही व्यक्तिको प्रारम्भिक अध्ययन गर्दा स्वास्थ्य संस्था पुग्न ढिला गर्नु मृत्युको प्रमुख कारणमध्ये एक देखिएको छ । ज्वरो आएपछि घरमै सामान्य औषधि खाएर बस्ने र स्वास्थ्य संस्था पुग्न ढिला गर्ने प्रवृत्तिले संक्रमण जटिल बन्न सक्ने उनले बताए । समयमै उपचार पाए स्क्रब टाइफसबाट संक्रमित बिरामी निको हुन सक्ने र यसको उपचारका लागि आवश्यक औषधि स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने उनको भनाइ छ । समयमै उपचार नपाए स्क्रब टाइफसले शरीरका विभिन्न अंगमा असर गर्न सक्छ । गम्भीर अवस्थामा मल्टी अर्गन डिसफङ्क्सन अर्थात् शरीरका विभिन्न अंगले एकसाथ काम गर्न छाड्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा बिरामीलाई आईसीयूसम्म राखेर उपचार गर्नुपर्ने र मृत्युको जोखिमसमेत बढ्ने चिकित्सकहरू बताउँछन् ।

वर्षायामपछि किन बढ्छ संक्रमण

स्क्रब टाइफसको मुख्य स्रोत मुसा मानिन्छ । संक्रमित मुसाको सम्पर्कमा आएको माइट संक्रमित हुन्छ र त्यस्तो माइटले मानिसलाई टोकेपछि ब्याक्टेरिया मानिसको शरीरमा प्रवेश गर्छ । वर्षायामपछि वातावरणमा चिस्यान र आर्द्रता बढ्नु, घाँसपात तथा झाडी बढ्नु र मानिसको खेतबारी तथा जंगलसँगको सम्पर्क बढ्नुका कारण माइटको सक्रियता बढ्ने गरेको ईडीसीडीको भनाइ छ । यही समयमा मकै तथा अन्य कृषि उपज भित्र्याउने काम हुने भएकाले मानिस र संक्रमित माइटबीच सम्पर्क बढ्दा संक्रमणको जोखिमसमेत बढ्न सक्छ । नेपालमा स्क्रब टाइफस वर्षभरि देखिने भए पनि वर्षायामपछि यसको संक्रमण तुलनात्मक रूपमा बढी देखिने गरेको ईडीसीडीले जनाएको छ । अहिले ७४ जिल्लामा संक्रमण देखिनुले यो रोग कुनै निश्चित भूगोलमा मात्र सीमित नरहेको देखाएको छ । ईडीसीडीले ज्वरो आएमा घरमै बसेर औषधि खानेभन्दा तत्काल स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ । विशेषगरी सल्यानमा संक्रमण र मृत्युका घटना देखिएकाले स्थानीयस्तरमा जनचेतना बढाउन आवश्यक रहेको डा. दाहालले बताएका छन् । स्क्रब टाइफस परीक्षणमा प्रयोग हुने किटका केही सीमितता भए पनि बिरामीको अवस्था हेरेर चिकित्सकीय मूल्यांकन र समयमै उपचार सुरु गर्नु महत्वपूर्ण हुने उनको भनाइ छ ।

स्क्रब टाइफसका लक्षण

स्क्रब टाइफस हुँदा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक पसिना आउने, खान मन नलाग्ने, आँखा रातो हुने, खोकी लाग्ने, झाडापखाला हुने तथा निमोनियासमेत हुन सक्ने लक्षण देखिन्छन् । माइटले टोकेको स्थानमा रातो डाबरजस्तो दाग देखिन सक्छ र पछि उक्त स्थानमा कालो दाग बस्न सक्छ ।संक्रमणबाट जोगिन खेतबारी, घाँस काट्ने वा वनजंगल तथा झाडीमा जाने क्रममा शरीर ढाकिने कपडा र सम्भव भएसम्म बुट लगाउन चिकित्सकले सुझाव दिएका छन् । घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याउने, सम्भव भएसम्म भुइँमा नबस्ने तथा खाट वा अग्लो स्थानमा बस्ने र सुत्ने गर्नुपर्छ । घर वरिपरि झाडी, घाँस तथा फोहोर जम्न नदिने र मुसाको नियन्त्रणका लागि अन्न सुरक्षित रूपमा भण्डारण गर्नसमेत स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?