© 2026
सल्यान । सल्यानको कपुरकोटमा बेमौसमी तरकारीको नियमित कारोबार जारी रहँदा पछिल्लो चार महिनामा मात्रै साढे २३ करोड रूपैयाँ भन्दा बढीको कृषि उपज बाहिरी जिल्लामा निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार गत जेठदेखि भदौसम्म २३ करोड ६९ लाख ४ हजार १७५ रूपैयाँ बराबरको ताजा तरकारी, अदुवा तथा फलफूल बिक्री भएको हो ।
कपुरकोटमा मंगलबार लागेको बजारमा टमाटर प्रतिकिलो ४५ देखि ५० रूपैयाँ, बन्दागोभी ३० देखि ३३ रूपैयाँ र फूलगोभी ५० देखि ८० रूपैयाँमा कारोबार भएको छ । भेडे खुर्सानी अधिकतम ५० रूपैयाँमा बिक्री हुँदा मोटो खुर्सानी ६० देखि १००, मसिनो खुर्सानी ५० देखि ७५, अकबरे ४० देखि ८५ र माछे खुर्सानी ३० देखि ४० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको बजार केन्द्रले जनाएको छ ।
त्यस्तै सिमी प्रतिकिलो ५० देखि १०० रूपैयाँ, लोकल काँक्रो १५ देखि २०, उन्नत पानी काँक्रो २० देखि ३५, मुला ४० देखि ५०, अदुवा ५० देखि ८० र कागती ५० देखि १०० रूपैयाँमा बिक्री भएको छ । मंगलबारको बजारमा सागको मूल्य अधिकतम ७५ रूपैयाँ र राजमा सिमीको मूल्य प्रतिकिलो २०० रूपैयाँसम्म पुगेको छ । बिएसएस जातको टमाटर ३० देखि ५०, धनिया १०० देखि १२०, तितो करेला ६० देखि ८५, भान्टा ३० देखि ४० र इस्कुस अधिकतम १५ रूपैयाँ प्रतिकिलोमा थोक कारोबार भएको बजार केन्द्रले जनाएको छ ।
पछिल्लो चार महिनाको कारोबार हेर्दा कपुरकोटको तरकारी बजारमा टमाटरको हिस्सा सबैभन्दा ठूलो देखिन्छ । उक्त अवधिमा ३२ लाख ४८ हजार ७३५ किलो टमाटर बाहिरी जिल्लामा निकासी हुँदा मात्रै ११ करोड ४१ लाख १३ हजार १२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै ७ लाख ६९ हजार ३१२ किलो काउली बिक्रीबाट ३ करोड ९५ लाख ९ हजार ५१३ रूपैयाँ गाउँमा भित्रिएको बजार केन्द्रका अध्यक्ष तिलक शर्माले जानकारी दिए । जेठदेखि भदौसम्म ५७ लाख ५६ हजार २६६ किलो ताजा तरकारी, ६४ हजार ८१० किलो अदुवा र २५ हजार ९२५ किलो फलफूल बिक्री भएको बजार केन्द्रले जनाएको छ । बन्दा गोभी, सिमी, विभिन्न जातका खुर्सानी, अदुवा र नासपाती पनि ठूलो परिमाणमा निकासी भएका छन् ।
बजार केन्द्रका अध्यक्ष शर्माका अनुसार कपुरकोटमा जेठ देखि कार्तिक, मंसिर सम्मको मुख्य सिजनमा हरेक वर्ष ठूलो परिमाणमा कृषि उपजको कारोबार हुने गरेको छ । मंगलबार र शुक्रबार लाग्ने मुख्य बजार तथा सहायक संकलन केन्द्रमार्फत किसानले उत्पादन बिक्री गर्दै आएका छन् । कपुरकोटको तरकारी दाङ, नेपालगञ्ज, बुटवल, भैरहवा, सुर्खेत, कैलाली लगायतका बजारसँगै काठमाडौं, पोखरा र धनगढीसम्म पुग्ने गरेको छ । सीमावर्ती भारतीय बजारमा समेत यहाँको तरकारी जाने गरेको बजार केन्द्रले जनाएको छ ।
कपुरकोटमा वि.सं. २०४७ सालदेखि व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती सुरु भएको हो । तराई तथा सहरी क्षेत्रमा गर्मी र वर्षाका कारण तरकारी उत्पादन घट्ने समयमा कपुरकोटको चिसो हावापानीमा उत्पादन हुने तरकारीले बजार पाउँदै आएको छ । पछिल्लो समय नियमित बजार कारोबार र बाहिरी जिल्लामा हुने निकासीले कपुरकोट क्षेत्रको कृषि अर्थतन्त्रमा तरकारी खेतीको योगदान बढाउँदै लगेको छ ।
किसानहरूले विभिन्न समयमा, हुरिबतास, असिनापानी, रोग, किरा तथा खडेरी जस्ता कारणले लाखौंको नोक्सानी समेत व्यहोर्दै आएका छन् ।