© 2026
काठमान्डौँ ।
नेपाली काँग्रेसका नेता विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा समावेशीतर्फबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
चौधरीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि उनले परम्पराको सम्मान गर्दै परिवर्तनको सङ्कल्पका साथ नेपाली काँग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दिशातर्फ अघि बढाउने बताएका छन् ।
अर्थतन्त्रलाई बलियो बनाउन र यसको जग बसाल्ने खुला अर्थतन्त्रको नीति काङ्ग्रेसकै पहलमा सुरु भएको उल्लेख गर्दै उनले स्वदेशमै लगानीको वातावरण तयार गर्न आफ्नो भूमिका रहने बताए । ‘मेरो जीवन नै रोजगारी र उद्यमशीलतामामै व्यतीत भएको छ, मैले राजनीति कति बुझे,कसरी बुझे भन्ने भन्दा पनि म जुन भूमिकामा रहेपनी देशलाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी युवाहरूलाई यहीँ रोक्न सकिन्छ भन्नेमा नै सक्रिय छु’ मनोनयन दर्ता गर्दै उनले भने ।
निजी क्षेत्रले पनि राष्ट्रको झन्डा अन्तर्राष्ट्रिय जगतमा फैलाएको भन्दै चौधरीले काङ्ग्रेसले युवाहरूको आकर्षणलाई व्यावसायिकता तर्फ पनि जोड्न सक्नु पर्छ भन्ने उद्देश्यले आफ्नो उम्मेदवारी उपसभापतिमा रहेको बताए ।
उनले काँग्रेसलाई नयाँ दिशातर्फ अघि बढाउन सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।