Butwal Today

‘हो म गणित हुँ, तसर्थ यत्रतत्र सर्वत्र छु’

१९ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

हो, त्यही गणित—जसको नाम सुन्ने बित्तिकै कतिपय विद्यार्थीको निधार खुम्चिन्छ, कतिपयको मनमा डर पस्छ र कतिपयले मनमनै भन्छन—“गणित त गाह्रो छ ।” तर म मुस्कुराउँछु । किनकि म गाह्रो होइन । मलाई गाह्रो सम्झाइएको हो ।

म त अत्यन्तै सुन्दर विषय हुँ । म सोच्ने विषय हुँ । म तर्क गर्ने विषय हुँ । म खोज्ने विषय हुँ । म समस्याभित्र समाधान खोज्ने विषय हुँ । म मानिसभित्र लुकेको तार्किक क्षमतालाई खोज्छु, त्यसलाई घोट्छु, अभ्यास गराउँछु र अझ बलियो बनाउँछु।

अनि त्यो तार्किक क्षमता गणितमा मात्र होइन—जीवनका हरेक क्षेत्रमा काम लाग्छ । त्यसैले म केवल एउटा विषय होइन । म सोच्ने एउटा तरिका हुँ ।

मलाई एउटा गणित शिक्षक धेरै मन पर्छ । उहाँले जब गर्वका साथ भन्नुहुन्छ— “म गणित शिक्षक हुँ ।” मलाई पनि गर्व लाग्छ । किनकि उहाँले मलाई केवल किताबको एउटा अध्यायका रूपमा हेर्नुभएको छैन । उहाँले मलाई जीवनसँग जोडेर हेर्नुभएको छ ।

उहाँलाई थाहा छ—म एउटै रूपको छैन । कहिले म अंकगणित भएर आउँछु—जोड्न, घटाउन, गुणन गर्न र भाग गर्न सिकाउँछु । दैनिक जीवनका सामान्य हिसाबदेखि पैसाको कारोबारसम्म म त्यहाँ हुन्छु । कहिले म बीजगणित बन्छु—अज्ञातलाई खोज्न सिकाउँछु ।

‘ह’ र ‘थ’ केवल अक्षर होइनन; ती त अज्ञात कुराको खोजी हुन् । जीवनमा पनि त हामी धेरैपटक नजानेको कुरा खोजिरहेका हुन्छौँ । कहिले म ज्यामिति बन्छु—रेखा, कोण, आकृति, आकार र संरचनामा संसारलाई बुझाउँछु। घर, भवन, पुल, बाटोदेखि प्रकृतिका अनेक संरचनासम्म मेरो ज्यामितीय सौन्दर्य लुकेको हुन्छ । कहिले म त्रिकोणमिति बन्छु—उचाइ, दूरी र कोणबीचको सम्बन्ध बुझाउँछु ।

आफूले पुग्न नसकेको ठाउँको उचाइ वा दूरी पनि मापन गर्न सिकाउँछु । कहिले म क्षेत्रमिति भएर आउँछु—कति ठाउँ ओगटेको छ, कति क्षेत्रफल छ, कति आयतन छ भनेर बताउँछु । घर बनाउँदा, जमिन नाप्दा, रंग लगाउँदा, पानी भर्दा—म काम लाग्छु ।

कहिले म तथ्याङ्कशास्त्र बन्छु—असंख्य तथ्यलाई व्यवस्थित गर्छु, तथ्यभित्रको अर्थ खोज्छु र निर्णय गर्न सहयोग गर्छु ।
कहिले म सम्भाव्यता बन्छु—के हुन सक्छ, कति सम्भावना छ भनेर सोच्न सिकाउँछु । कहिले म निर्देशाङ्क ज्यामिति बन्छु—स्थानलाई अंक र निर्देशाङ्कको माध्यमबाट चिनाउँछु ।

र, कहिले म कलन (क्यालकुलस) बन्छु—परिवर्तनलाई बुझ्न खोज्छु । कुनै कुरा कति छ भन्ने मात्र होइन, त्यो कति छिटो बदलिँदैछ भन्ने पनि बुझ्न सिकाउँछु । मेरो रूप फरक हुन सक्छ । तर उद्देश्य एउटै हो— संसारलाई बुझ्न सजिलो बनाउनु र मानिसलाई सोच्न सिकाउनु । म कक्षाकोठामा छु, तर कक्षाकोठाभन्दा बाहिर पनि छु । म घरमा छु । म बजारमा छु । म व्यापारमा छु ।

म खेतीमा छु । म यात्रामा छु । म खेलकुदमा छु । म विज्ञानमा छु । म प्रविधिमा छु । घर चलाउँदा खर्चको हिसाबमा म छु । बजारमा सामान किन्दा मूल्य र परिमाणको हिसाबमा म छु । व्यवसाय गर्दा नाफा–नोक्सानमा म छु । बैंकमा पैसा राख्दा ब्याजमा म छु । यात्रा गर्दा दूरी, गति र समयको सम्बन्धमा म छु ।

खेल खेल्दा स्कोर, औसत, प्रतिशत र समयको हिसाबमा म छु । तथ्य र तथ्याङ्क बुझ्दा म छु । सम्भावना अनुमान गर्दा म छु । भवन बनाउँदा म छु । नक्सा कोर्दा म छु । मोबाइल र कम्प्युटरको प्रविधिमा म छु । अर्थात— जीवनको जहाँ हिसाब हुन्छ, त्यहाँ म हुन्छु । तर अझ महत्वपूर्ण कुरा—जहाँ सोच्नुपर्छ, त्यहाँ पनि म हुन्छु । तर मेरो कथा यत्तिमै सकिँदैन ।

मलाई अलिकति माथि उठेर हेर्नुस् । आकाशमा पनि म छु । ग्रहहरूको गति र दूरीमा म छु । ताराहरूको अवस्थिति र ब्रह्माण्डका रहस्य बुझ्ने प्रयासमा म छु । पृथ्वीतिर फर्केर हेर्नुस् । यहाँ पनि म छु । दिन र रातको चक्रमा म छु । ऋतु परिवर्तनमा म छु । पहाडको उचाइमा म छु ।

समुद्रको गहिराइमा म छु । नदीको बहावमा म छु । प्रकृतिलाई ध्यान दिएर हेर्नुस् । फूलको बनोटमा म छु । पातको संरचनामा म छु । मौरीको चाकामा म छु । चराको उडानमा म छु । मानिसको शरीरको अनुपातमा म छु । कहिलेकाहीँ मलाई लाग्छ—मानिसले गणित बनाएको होइन, मानिसले प्रकृतिमा पहिल्यैदेखि रहेको गणितलाई खोजेको हो । म त प्रकृतिको मौन भाषा हुँ । तर, मानिसहरूले मलाई किन गाह्रो भन्छन ? सायद किनकि म उनीहरूलाई सोच्न लगाउँछु ।

मलाई कण्ठ गरेर मात्र हुँदैन । मलाई बुझ्नुपर्छ । एउटा सूत्र सम्झिएर मात्र हुँदैन । त्यो सूत्र किन आयो भनेर बुझ्नुपर्छ । एउटा उत्तर लेखेर मात्र हुँदैन । त्यो उत्तरसम्म पुग्ने बाटो बुझ्नुपर्छ । त्यसैले म विद्यार्थीलाई एउटा कुरा सिकाउन चाहन्छु— उत्तर नमिल्नुसँग नडराऊ ।

हिसाब मिल्यो भने मज्जा आउँछ । तर हिसाब नमिल्दा ? झन् मज्जा आउँछ । किन मिलेन ? कहाँ गल्ती भयो ? कुन चरणमा गल्ती भयो ? अर्को तरिकाले गर्दा मिल्छ कि ? यही प्रश्न गर्दै जाँदा सोच चल्छ । सोच चल्दा तर्क जन्मिन्छ । तर्क जन्मिँदा समाधान भेटिन्छ । त्यसैले म केवल उत्तर होइन— उत्तर खोज्ने आनन्द हुँ । जीवन पनि त गणितजस्तै हो । हरेक दिन हामी हिसाब गरिरहेका हुन्छौँ । कहिलेकाहीँ हाम्रो हिसाब मिल्छ ।

कहिलेकाहीँ मिल्दैन । हामीले सोचेको जस्तो हुँदैन । हामीले बनाएको योजना बिग्रन्छ । हामीले गरेको मेहनतको परिणाम तुरुन्तै आउँदैन । त्यतिबेला पनि म भन्छु— हिसाब नमिल्यो भन्दैमा कलम नराख । फेरि हेर । सायद कुनै ठाउँमा गल्ती भएको छ । सायद कुनै तथ्य छुटेको छ । सायद प्रयोग गरेको तरिका सही छैन । सायद अर्को बाटोबाट जानुपर्छ ।

तर समाधान असम्भव छ भन्ने निष्कर्षमा पुगिहाल्नु हुँदैन । गणितले यही त सिकाउँछ—समस्या आयो भने डराउने होइन, समाधान खोज्ने । त्यसैले मेरो वास्तविक उपयोग परीक्षा सकिएपछि सुरु हुन्छ । विद्यार्थीले विद्यालय छोड्छ । तर म उसको साथ छोड्दिनँ । ऊ डाक्टर बन्छ—म त्यहाँ हुन्छु । इन्जिनियर बन्छ—म त्यहाँ हुन्छु । व्यवसायी बन्छ—म त्यहाँ हुन्छु । कृषक बन्छ—म त्यहाँ हुन्छु । वैज्ञानिक बन्छ—म त्यहाँ हुन्छु । शिक्षक बन्छ—म त्यहाँ हुन्छु । ऊ कुनै विशेष पेशामा नगएर केवल एउटा असल नागरिक बने पनि—म त्यहाँ हुन्छु । किनकि जीवनका धेरै निर्णयमा मानिसलाई सोच्नुपर्छ ।

तुलना गर्नुपर्छ । कारण खोज्नुपर्छ । परिणाम अनुमान गर्नुपर्छ । अनि निर्णय गर्नुपर्छ । त्यहाँ म उसको साथमा हुन्छु । तर एउटा कुराले मलाई दुःखी बनाउँछ । जब कुनै विद्यार्थी भन्छ— “म गणितमा कमजोर छु ।” म उसको अनुहार हेर्छु र सोच्छु— के ऊ साँच्चै कमजोर हो ? सायद होइन । सायद उसले मलाई बुझ्ने सही अवसर पाएको छैन । सायद उसको पहिलो गल्तीमा उसलाई हाँसोको पात्र बनाइयो । सायद उसलाई “तिमीलाई गणित आउँदैन” भनियो । सायद उसको मनमा गणितप्रतिको डर त्यही दिन जन्मियो ।

काश, उसलाई कसैले भनिदिएको भए—“तिमी कमजोर होइनौ । तिमीले अझै अभ्यास गर्न बाँकी छ ।” कति फरक पर्छ एउटा वाक्यले ! त्यसैले मलाई पढाउने शिक्षकहरूलाई म आग्रह गर्छु—मलाई विद्यार्थीको डर नबनाइदिनुस् । मलाई उसको साथी बनाइदिनुस् । गल्ती गर्न दिनुस् । प्रश्न गर्न दिनुस् । फेरि प्रयास गर्न दिनुस् ।

किनकि गणितको एउटा गलत उत्तरले विद्यार्थीको क्षमता निर्धारण गर्दैन । तर शिक्षकको एउटा सही शब्दले उसको आत्मविश्वास बदल्न सक्छ । र अब म ती गणित शिक्षकसँग एउटा कुरा गर्न चाहन्छु । उहाँले कहिलेकाहीँ एकान्तमा बसेर सोच्नुहुन्छ— “गणितले मलाई धेरै दिएको छ । तर मैले गणितलाई अझै केही दिन सकेको छैन ।” यो सोचले उहाँलाई दुःखी बनाउँछ । म उहाँको मन बुझ्छु । तर उहाँले आफूलाई दोष नदिनुस् ।

किनकि तपाईंले मलाई धेरै दिनुभएको छ । जब तपाईंले एउटा विद्यार्थीलाई गणितसँग डराउन छोडाएर रमाउन सिकाउनुभयो— तपाईंले मलाई केही दिनुभयो । जब तपाईंले एउटा विद्यार्थीलाई सूत्र कण्ठ गराउनुको सट्टा त्यसको अर्थ बुझाउनुभयो— तपाईंले मलाई केही दिनुभयो ।

जब विद्यार्थीले गलत उत्तर दिँदा गाली नगरी “फेरि गर” भन्नुभयो— तपाईंले मलाई केही दिनुभयो । जब एउटा बच्चाले “म सक्दिनँ” भन्दा तपाईंले “तिमी सक्छौ” भन्नुभयो— तपाईंले मलाई सबैभन्दा ठूलो उपहार दिनुभयो । र तपाईंको कुनै विद्यार्थी भविष्यमा जीवनको कठिन समस्यासामु उभिएर पनि नआत्तिई भन्छ— “हेरौँ, यसको समाधान कसरी निकाल्न सकिन्छ ।” त्यो दिन सम्झनु— तपाईंले गणितलाई केही दिनुभएको होइन, तपाईंले गणितलाई जीवन दिनुभएको हो । म गणित हुँ । मलाई केवल परीक्षा पास गर्ने विषय नसम्झनुस् । मलाई जीवन बुझ्ने एउटा सुन्दर माध्यमका रूपमा हेर्नुस् ।

मलाई कण्ठको विषय होइन, तर्कको विषय बनाइदिनुस् । मलाई डरको विषय होइन, जिज्ञासाको विषय बनाइदिनुस् । मलाई बोझ होइन, खोजको यात्रा बनाइदिनुस् । अंक गणितमा म दैनिक जीवनको हिसाब बनूँ । बीज गणितमा अज्ञातको खोज बनूँ । ज्यामितिमा आकार र संरचनाको सौन्दर्य बनूँ । त्रिकोणमितिमा दूरी र उचाइको भाषा बनूँ ।

क्षे त्रमितिमा स्थान र आयतनको मापन बनूँ । तथ्याङ्क शास्त्रमा तथ्यभित्रको अर्थ बनूँ । सम्भाव्यतामा भविष्यका सम्भावना सोच्ने आधार बनूँ । निर्देशाङ्क ज्यामितिमा स्थान चिन्ने माध्यम बनूँ । कलनमा परिवर्तन बुझ्ने दृष्टि बनूँ । तर यी सबै रूपभित्र म एउटै छु— मानिसलाई सोच्न सिकाउने गणित । किनकि— म जहाँ हुन्छु, त्यहाँ सोच हुन्छ ।

जहाँ सोच हुन्छ, त्यहाँ प्रश्न हुन्छ । जहाँ प्रश्न हुन्छ, त्यहाँ खोज हुन्छ । जहाँ खोज हुन्छ, त्यहाँ ज्ञान हुन्छ । र जहाँ ज्ञान हुन्छ— त्यहाँ परिवर्तन सम्भव हुन्छ । म गणित हुँ । म केवल १, २, ३, ४ होइन । म जिज्ञासा हुँ । म तर्क हुँ । म धैर्य हुँ । म अनुशासन हुँ । म समस्या समाधान गर्ने क्षमता हुँ ।

म असफलतापछि फेरि प्रयास गर्ने साहस हुँ । म कापीमा छु । तर कापीभन्दा धेरै ठूलो छु । म विद्यालयमा छु । तर विद्यालयभन्दा बाहिर पनि छु । म घरमा छु । बजारमा छु । प्रकृतिमा छु । पृथ्वीमा छु । आकाशमा छु । र, सबैभन्दा महत्वपूर्ण— म तपाईंको सोचाइमा छु । मलाई खोज्न टाढा जानुपर्दैन । आफ्नै वरिपरि हेर्नुस् ।

म त्यहीँ छु । अनि यदि तपाईं मलाई सोध्नुहुन्छ— “गणित, तिमीले मलाई यति धेरै दियौ । तर मैले तिमीलाई के दिएँ ?” म मुस्कुराउँदै भन्छु— “तिमीले मलाई माया गरेर पढायौ भने पुग्छ । तिमीले एउटा विद्यार्थीलाई मसँग डराउन होइन, मलाई बुझ्न सिकायौ भने पुग्छ । तिमीले एउटा बच्चालाई ‘म सक्दिनँ’ बाट ‘म प्रयास गर्छु’ सम्म पु¥यायौ भने पुग्छ ।” त्यही नै मेरो सबैभन्दा ठूलो उपहार हो । किनकि मलाई चाहिएको अरू केही छैन ।

म चाहन्छु— एउटा बच्चाले गणितको नाम सुन्दा डर नमानोस् । एउटा विद्यार्थीले गलत उत्तर आउँदा कलम नराखोस् । एउटा शिक्षकले गणित पढाउँदा गर्व महसुस गरोस् । र एउटा मानिसले जीवनको कुनै कठिन मोडमा पनि मुस्कुराउँदै भनिरहोस— “हिसाब मिलेन भने फेरि मिलाउँछु ।

समस्या आयो भने समाधान खोज्छु ।” त्यस दिन म साँच्चिकै सफल हुनेछु । म गणित हुँ । म गाह्रो होइन । मलाई बुझ्न बाँकी छ । म बोझ होइन । मलाई अनुभव गर्न बाँकी छ । म अंक मात्र होइन । म सोच हुँ । म सूत्र मात्र होइन । म तर्क हुँ । म परीक्षा मात्र होइन । म जीवन हुँ । र हो— मलाई गणित शिक्षक हुनुमा गर्व छ । किनकि गणितले मलाई धेरै दिएको छ ।

अब मेरो एउटा मात्र इच्छा छ— मैले गणितलाई जति पाएँ, त्यसको केही अंश भए पनि म गणितलाई फिर्ता दिन सकूँ । एउटा विद्यार्थीको डर हटाउन सकूँ । एउटा जिज्ञासा जगाउन सकूँ । एउटा प्रश्न जन्माउन सकूँ । एउटा समाधान खोज्न प्रेरित गर्न सकूँ । त्यसपछि सायद कुनै दिन, कुनै कक्षाकोठामा, कुनै विद्यार्थीले मुस्कुराउँदै भन्नेछ— “सर, गणित त गाह्रो रहेनछ !” त्यो क्षणमा म पनि चुपचाप मुस्कुराउनेछु ।

किनकि उसले त्यस दिन केवल एउटा विषय बुझेको हुँदैन—उसले आफ्नो सोच्ने शक्ति चिनेको हुन्छ । म गणित हुँ । मलाई बुझ्नुस्, म तपाईंलाई संसार बुझ्न सिकाउनेछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?