Butwal Today

परिणाम गम्भीर हुन सक्ने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष गुरुङको चेतावनी

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

सल्यान । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले प्रधानमन्त्री बालेन्द्रको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गर्दै सरकारको गतिविधिले जनआक्रोश बढाउँदै लगेको दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल सल्यानको १२औँ जिल्ला अधिवेशनको शनिबार श्रीनगरमा उद्घाटन गर्दै गुरुङले बालेन्द्रले अराजकता मच्चाएर युवालाई भड्काउँदै विद्रोहको वातावरण बनाएर सत्तामा पुगेको आरोप लगाए । उनले अहिलेको कार्यशैली निरन्तर रहे राजनीतिक नेतृत्व र उनीहरूका परिवारसमेत गम्भीर सामाजिक प्रतिरोधको सामना गर्नुपर्ने चेतावनी दिए ।

“बालेन्द्र शाह अराजकता मच्चाएर युवाहरूलाई भड्काएर त्यस अनुसारको विद्रोह गरेर जसरी सत्तामा पुगेका छन्, त्यसको परिणाम गम्भीर हुन सक्छ,” गुरुङले भने, “पहिलेका नेताहरूले घर जलाइए पनि कतै न कतै बस्ने ठाउँ पाए, तर बालेन्द्रले जसरी अहिले सत्ता चलाइरहेका छन्, त्यसैगरी अघि बढ्ने हो भने यिनीहरू यो देशमै बस्न पाउने कि नपाउने भन्ने प्रश्न गम्भीर रूपमा अगाडि बढ्छ ।”

गुरुङले प्रधानमन्त्री बालेन्द्रलाई रिस उठेका व्यक्तिलाई मध्यरातमा कानुनी प्रक्रिया पूरा नगरी उठाउने जस्ता कार्यशैली अपनाइएको दाबी गर्दै त्यसले समाजलाई थप भड्काउने बताए । यस्तो अवस्थामा एमाले र राष्ट्रिय युवा संघमा आबद्ध युवाहरू भने उत्तेजित नभई संयमित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले पछिल्लो समय सामाजिक सञ्जालका एल्गोरिदम मार्फत गलत सूचना र भ्रम फैलिँदा युवाहरू त्यसको प्रभावमा पर्न सक्ने भन्दै भ्रम चिरेर तथ्यका आधारमा अघि बढ्न आग्रह गरे ।

गुरुङले नयाँ पुस्ताको जोश र सिर्जनशीलतालाई पुरानो पुस्ताको अनुभवसँग जोडेर मात्रै समाजलाई सही दिशामा अघि बढाउन सकिने बताए । समाजलाई विभाजन गर्ने तथा युवालाई उत्तेजित बनाउने गतिविधिले सामाजिक सद्भाव कमजोर पार्न सक्ने उनको भनाइ थियो ।

एमाले निर्माणको इतिहास स्मरण गर्दै उनले थोरै मानिसबाट सुरु भएको पार्टी विभिन्न आरोह अवरोह पार गर्दै अघि बढेको बताए । नेपाल र नेपालीको अस्तित्व, सामाजिक सद्भाव तथा सम्मानपूर्वक बाँच्ने वातावरण जोगाउन युवाको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोबिन्द पुन, जिल्ला कमिटी उपाध्यक्ष ओजबहादुर बुढाथोकी, सचिव पुष्पा बोहरा, उपसचिव गणेशमान सिंह, युवा संघ कर्णाली प्रदेश इन्चार्ज पञ्चमी रेग्मी र कर्णाली प्रदेश अध्यक्ष जीवन शाही लगायतले युवाहरूलाई पार्टीको विचार, सिद्धान्त र संगठनप्रति प्रतिबद्ध बनाउँदै समाज परिवर्तनको अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?