© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौँका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ । पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घका अध्यक्ष लिलाप्रसाद ढकालले १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी काठमाडौँका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको जानकारी दिए । उनका अनुसार कोशी र मधेस प्रदेशबाट आएका प्रतिनिधिलाई गौशाला र कोटेश्वर, बागमती प्रदेशका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क, कर्णाली र सुदूरपश्चिमका लागि सुन्धारा र कलङ्कीमा बस्ने व्यवस्था गरिएको छ ।
यस्तै, विदेशबाट आएका जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा व्यवस्था गरिएको छ । प्रतिनिधि बस्नका लागि सहुलियत दरमा बसोबासको व्यवस्था मिलाइएको अध्यक्ष ढकालले बताए । “देश र विदेशबाट आएका १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी पाँच हजार कोठाको व्यवस्थापन गरेका छौँ”, उनले भने ।
महाधिवेशनमा भाग लिन आउने जिल्ला, जनसम्पर्क समिति, भ्रातृ संस्थाका महाधिवेशन प्रतिनिधिले बस्ने व्यवस्था र होटलको खर्च भने आफैँले व्यहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट महाधिवेशनमा आउने पाहुनाका लागि भने आवास खर्च पार्टीले व्यहोर्ने केन्द्रीय सदस्य धमलाले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना पार्टीले भृकुटीमण्डपमा खुवाउने व्यवस्था गरेको छ । बस्नका लागि समस्या भएमा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले सहजीकरण गर्ने धमलाले बताए । कांग्रेसले पार्टीको वेबसाइटमा होटलको नाम, क्षेत्र र मूल्यको बारेमा राखेकाले कुनै अलमलमा परेमा उक्त विवरण हेर्न सकिने जनाएको छ । महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।