© 2026
विमला चौधरी
नेपालगञ्ज ।
नेपालगञ्जमा मुख्य कार्यालय रहेको नील सागर सेवा आश्रमले आफ्नो दशौँ वार्षिकोत्सव विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम गरी मनाउँदैछ । आश्रमले वार्षिकोत्सवको अवसरमा बालबालिकाबीच कविता प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आश्रयविहीन, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण र सेवा दिँदै आएको आश्रमले सहयोगस्वरूप प्राप्त खाद्यान्न अस्पताल, अपाङ्गता भएका व्यक्ति तथा आवश्यकतामा रहेका अन्य व्यक्तिलाई समेत वितरण गर्दै आएको जनाएको छ । दशौँ वार्षिकोत्सवको मुख्य कार्यक्रम भने भोलि दिउँसो ३ बजे आयोजना गरिने आश्रमले जनाएको छ ।
एक दशकको यात्रामा नील सागर सेवा आश्रम अहिले २४५ जनाको आश्रयस्थल बनेको छ । आश्रमले हाल बालबालिका, ज्येष्ठ नागरिकलगायत २४५ जनालाई संरक्षण तथा सेवा प्रदान गरिरहेको छ । त्यसमध्ये ८७ जना बालबालिका छन् । आश्रित बालबालिकामध्ये ६८ जना विद्यालय तहमा अध्ययनरत छन् भने १० जना उच्च शिक्षा अध्ययन गरिरहेका छन् । विद्यालय जाने उमेर नभएका १२ जना साना बालबालिका पनि आश्रममा रहेको जनाइएको छ ।
आश्रय र संरक्षणसँगै बालबालिकालाई भविष्यमा आफैँ आफ्नो जीवन धान्न सक्ने बनाउने योजनासमेत आश्रमले अघि सारेको छ । दशैँपछि नेपालगञ्ज उपमहानगरपालिका–६ स्थित हडियाबाबा मन्दिरनजिकै निर्माण सम्पन्न नयाँ भवनमा आश्रम सर्ने तयारीमा छ ।
४० वटा कोठा र तीनवटा हलसहित निर्माण गरिएको नयाँ भवनमा ३०० भन्दा बढी मानिसलाई राख्न सकिने क्षमता रहेको छ । नयाँ भवनमा सरेपछि बालबालिकालाई पढाइसँगै व्यावसायिक तथा व्यवहारिक सीप सिकाउने योजना आश्रमले बनाएको छ ।
आश्रमकी अध्यक्ष सरिता खनालका अनुसार बालबालिकालाई अर्गानिक तरकारी उत्पादन, चिया बगान सञ्चालन, बीउ उमार्ने तथा त्यसलाई उत्पादनका रूपमा प्रयोग गर्नेलगायतका सीप सिकाउने तयारी भइरहेको छ । “बालबालिका आश्रममा हुर्किएपछि भविष्यमा आफैँले जीविकोपार्जन गर्न सकून् भन्ने
हाम्रो उद्देश्य हो,” अध्यक्ष खनालले भनिन्, “त्यसैले संरक्षणसँगै उनीहरूलाई व्यावसायिक र व्यवहारिक सीप सिकाउने योजना बनाएका छौँ ।”
यसका लागि आश्रमले नयाँ भवन निर्माण क्षेत्रमै एक बिघा जग्गा १० वर्षका लागि लिजमा लिएकोछ । उक्त जग्गाको प्रतिकठ्ठा वार्षिक चार हजार रुपैयाँका दरले भाडा तिर्ने गरी सम्झौता गरिएको आश्रमले जनाएको छ । सोही जग्गामा बालबालिकालाई उत्पादन र सीपसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
आश्रयमा रहेका बालबालिकालाई शिक्षा, संरक्षण र खानपानको व्यवस्था गर्नुका साथै उनीहरूको भविष्यलाई आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन थालेको आश्रमको भनाइ छ । बालबालिकालाई सीप र उत्पादनसँग जोड्न सके उनीहरूले आश्रमबाट बाहिरिएपछि पनि आफ्नै खुट्टामा उभिन सक्ने आश्रमको अपेक्षा छ । आश्रमका अनुसार देशभर हालसम्म ५४१ जनाले नील सागरको सेवा लिइरहेका छन् ।