© 2026
भैरहवा ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको प्रदेशसभा क्षेत्र नं. ३(क) क्षेत्रीय कार्यसमितिको सभापति पदमा महेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
शनिवार भैरहवामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा श्रेष्ठको नेतृत्वमा पदाधिकारीसहित कार्यसमितिका उम्मेदवार सार्वजनिक गरिएको हो । सभापतिका उम्मेदवार श्रेष्ठले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबिचको एकता, सक्रियता र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घोषित उम्मेदवारअनुसार उपसभापतिमा सुनिलराज विष्ट, सचिवमा हुमलाल पौडेल तथा सहसचिवमा विनिता श्रेष्ठ र गोकुल यादवले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वका लागि उम्मेदवारी घोषणा भएसँगै नेपाली काँग्रेसको स्थानीय सङ्गठनभित्र निर्वाचनको माहोलसमेत तातेको छ । उम्मेदवारहरूले पार्टीको विधान, सङ्गठन सुदृढीकरण र कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्र नं. ३(क) को निर्वाचन असोज ११ गते भैरहवामा हुने जनाइएको छ । निर्वाचनबाट सभापतिसहित पदाधिकारी तथा कार्यसमितिका सदस्य चयन हुनेछन् ।
स्थानीय तहदेखि प्रदेशसभा क्षेत्रीय तहसम्म नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै रुपन्देहीमा काँग्रेसको आन्तरिक राजनीतिक प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ । पछिल्लो समय विभिन्न तहका अधिवेशनमा देखिएको प्रतिस्पर्धाले पार्टीभित्र नयाँ नेतृत्वका आकाङ्क्षीहरू सक्रिय भएका छन् । आगामी निर्वाचनले प्रदेशसभा क्षेत्र नं. ३(क) मा पार्टी सङ्गठनको नेतृत्व कसरी अघि बढ्छ भन्ने निर्धारण गर्नेछ ।