© 2026
बुटवल ।
बुटवल उपमहानगरपालिकाले सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।
बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयबाट २०८३ असोज ८ गते दिवा सत्रका कक्षा र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षा बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको जनाएको छ । निर्णयअनुसार असोज ८ गते नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षा सञ्चालन हुने छैनन् । यस्तै, असोज ९ गते भने बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहनेछन् ।
उपमहानगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा आफ्ना बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरेको छ । साथै बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन अभिभावक तथा विद्यालय परिवारलाई अनुरोध गरेको छ ।
उपमहानगरपालिकाले विद्यालय बन्दसम्बन्धी निर्णय कार्यान्वयन गर्न नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई जानकारी गराएको छ ।