© 2026
बाँके । नेपाल–भारत सीमाको जमुनहा नाकाबाट दैनिक ठूलो संख्यामा मानिस तथा सवारीसाधन आवतजावत गर्ने गरेका छन् । रोजगारी, व्यापार, उपचार, किनमेल तथा अन्य कामका लागि भारत जाने–आउने नेपाली र भारतीय नागरिकको चाप बढ्दै गए पनि सोही अनुपातमा भन्सार राजस्व भने बढ्न सकेको छैन । सशस्त्र प्रहरीका अनुसार सामान्य अवस्थामा जमुनहा नाकाबाट एक दिनमा ३२ हजारसम्म मानिस ओहोरदोहोर गर्ने गरेका छन्। सीमाबाट आवतजावत गर्नेमध्ये ठूलो हिस्सा रोजगारीका लागि भारत जाने र भारतबाट समेत नेपालमा काम सकेर नेपाल फर्किने नेपाली नागरिकको रहेको सुरक्षा निकायको भनाइ छ । जमुनहा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डिएसपी जीवन मल्लका अनुसार आवतजावत गर्ने मानिसमध्ये करिब ८० प्रतिशत रोजगारीका लागि भारत आउने–जाने गरेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने नेपाली श्रमिकको संख्या उल्लेख्य रहेकाले दैनिक यात्रुको चाप ठूलो हुने गरेको उनले बताए ।
“सामान्य अवस्थामा जमुनहा नाकाबाट दैनिक ३२ हजारसम्म मानिस आवतजावत गर्ने गरेका छन् । त्यसमध्ये ठूलो हिस्सा रोजगारीका लागि भारत जाने–आउने नेपाली नागरिकको छ,” डिएसपी मल्लले भने । तर अहिले भदौ महिनामा भने नाकाबाट हुने आवतजावतमा उल्लेख्य कमी आएको उनले बताए । उनका अनुसार पछिल्लो समय दैनिक ८ देखि १० हजारको हाराहारीमा मात्र मानिस आवतजावत गरिरहेका छन् । मल्लका अनुसार रोजगारीका लागि भारत जाने नेपालीको आवतजावत, चाडपर्वको समय, मौसम तथा सीमावर्ती क्षेत्रमा हुने आर्थिक गतिविधिले नाकामा यात्रुको संख्या घटबढ हुने गरेको छ ।
जमुनहा नाकाबाट मानिससँगै निजी तथा व्यावसायिक प्रयोजनका सवारीसाधन पनि उल्लेख्य संख्यामा आवतजावत गर्ने गरेका छन् । सुरक्षा निकायका अनुसार दैनिक १२ सयदेखि १५ सयसम्म मोटरसाइकल तथा अन्य सवारीसाधनले आवतजावत सुविधा लिने गरेका छन् । नेपाल–भारत सीमाबाट छोटो दूरीमा आवतजावत गर्ने सीमावर्ती बासिन्दाले मोटरसाइकल तथा अन्य सवारीसाधन प्रयोग गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रका मानिसको दैनिक आवश्यकता, व्यापार तथा रोजगारीसँग जोडिएको आवतजावतका कारण सवारीसाधनको चापसमेत उच्च रहेको सुरक्षा निकायको भनाइ छ ।
भारतबाट नेपाल प्रवेश गर्ने कतिपय सवारीसाधनले निश्चित समयका लागि अस्थायी पैठारी सुविधा लिने गरेका छन् । नेपालगन्जसम्मका लागि मात्रै दैनिक करिब एक सय जनाले अस्थायी पैठारी सुविधा लिने गरेको तथ्यांक सुरक्षा निकायले दिएको छ । यसरी हेर्दा जमुनहा नाका मानिसका लागि मात्र नभई सीमावर्ती आर्थिक गतिविधिका लागि समेत महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको देखिन्छ । जमुनहा नाकामा दैनिक हजारौँ मानिसको आवतजावत हुने गरे पनि त्यसको तुलनामा भन्सारबाट उठ्ने राजस्व भने कम देखिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार सीमाबाट आवतजावत गर्ने यात्रुको संख्या ठूलो भए पनि सबै यात्रुले भन्सार प्रयोजनका सामान नल्याउने भएकाले यात्रुको संख्याका आधारमा मात्र राजस्वको अवस्था मूल्यांकन गर्न नसकिने अवस्था छ । “यात्रा कक्षमा मानिसहरू धेरै ओहोरदोहोर गरेको देखिन्छ । तर त्यहाँबाट उठ्ने राजस्व भने त्यति धेरै छैन,” भन्सार प्रमुख पौडेलले बताए ।
उनका अनुसार सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुलाई प्रचलित कानुनअनुसार भन्सार तिर्नुपर्ने सामान भएमा घोषणा गरी भन्सार गराउन आग्रह गर्ने गरिएको छ । तर यात्रुहरूले भन्सार गराउनुपर्ने सामान ल्याए पनि कतिपय अवस्थामा भन्सार प्रक्रियामा नआउने अवस्था देखिएको कार्यालयको भनाइ छ । भन्सार कार्यालयले यात्रुहरूलाई भन्सार गराउनुपर्ने सामान भए कानुनअनुसार भन्सार प्रक्रिया पूरा गर्न आग्रह गर्दै आएको छ । तर यात्रु आवतजावतको ठूलो संख्या र वास्तविक राजस्व संकलनबीच ठूलो अन्तर देखिँदा सीमा नाकाको निगरानी र भन्सार कार्यान्वयनको विषयसमेत महत्वपूर्ण बनेको छ ।
नेपालगन्ज र आसपासका सीमावर्ती क्षेत्रका बासिन्दाका लागि भारतको रुपैडिहा बजार दैनिक किनमेलको प्रमुख गन्तव्यसमेत हो ।
नेपालगन्जसँग जोडिएको सीमाका कारण सामान्य घरायसी सामग्रीदेखि लत्ताकपडा, खाद्यान्न, औषधि तथा अन्य उपभोग्य सामग्री खरिदका लागि नेपाली नागरिक भारत जाने गरेका छन् । त्यसैगरी भारतका सीमावर्ती बस्तीका नागरिक पनि विभिन्न कामका लागि नेपाल प्रवेश गर्ने गरेका छन् । नेपालगन्ज बजारमा व्यापार, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सेवा लिन आउने भारतीय नागरिकको संख्या पनि उल्लेख्य हुने गरेको छ । सीमावर्ती क्षेत्रमा यस्तो आवतजावत पुरानै भए पनि पछिल्ला वर्षमा रोजगारी र व्यापारसँग जोडिएको आवतजावतले यसको स्वरूप थप फराकिलो बनाएको सुरक्षा निकायको भनाइ छ ।
जमुनहा नाकाबाट हुने आवतजावतको ठूलो हिस्सा रोजगारीसँग जोडिएको तथ्यांकले सीमावर्ती नेपाली परिवारको आयआर्जनमा भारतको श्रम बजारको भूमिका अझै महत्वपूर्ण रहेको देखाउँछ । सशस्त्र प्रहरीका डिएसपी मल्लका अनुसार करिब ८० प्रतिशत आवतजावत रोजगारीका लागि हुने गरेको छ । यसले सीमावर्ती क्षेत्रमा रोजगारीको अवस्था, भारतमा निर्भर श्रम बजार र दैनिक ज्यालादारीमा आधारित नेपाली श्रमिकको अवस्थालाई समेत देखाउँछ । नेपालका सीमावर्ती जिल्लाबाट भारतका विभिन्न सहरमा मौसमी तथा दीर्घकालीन रोजगारीका लागि जाने गरेका नेपालीहरू कामअनुसार केही दिन, केही साता वा लामो समयपछि घर फर्किने गर्छन् । विशेषगरी निर्माण, होटल, कृषि, सुरक्षा, घरेलु काम तथा अन्य अनौपचारिक क्षेत्रमा नेपाली श्रमिकको उपस्थिति रहेको पाइन्छ । सीमाबाट हुने सहज आवतजावतका कारण भारतमा रोजगारी गर्ने सीमावर्ती नेपालीका लागि जमुनहा नाका महत्वपूर्ण मार्ग बनेको छ ।
जमुनहा नाकामा यात्रुको आवतजावत वर्षभरि समान हुँदैन। रोजगारी, खेतीपाती, चाडपर्व र मौसमअनुसार यात्रुको संख्या घटबढ हुने गरेको सुरक्षा निकायले जनाएको छ । भदौमा दैनिक ८ देखि १० हजारको हाराहारीमा आवतजावत भइरहेको भए पनि अन्य समयमा यो संख्या निकै माथि पुग्ने गरेको डिएसपी मल्लले बताए । चाडपर्वको समयमा भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपालीहरू घर फर्कने भएकाले नाकामा यात्रुको चाप बढ्ने गरेको छ। त्यस्तै, चाडपर्व सकिएपछि पुनः रोजगारीका लागि भारत जाने नेपालीका कारण सीमामा भीड बढ्ने गर्छ । यसले जमुनहा नाका केवल अन्तर्राष्ट्रिय सीमा पार गर्ने स्थान मात्र नभई नेपाली श्रम बजारको एउटा महत्वपूर्ण प्रवेश तथा निकास बिन्दुसमेत भएको देखाउँछ । ठूलो संख्यामा यात्रु तथा सवारीसाधन आवतजावत गर्ने जमुनहा नाकामा भन्सार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यात्रुको चाप अत्यधिक हुँदा प्रत्येक यात्रुको सामानको विस्तृत जाँच र भन्सार प्रक्रिया पूरा गराउनु व्यवहारिक रूपमा चुनौतीपूर्ण हुने गरेको छ । यात्रुहरूले व्यक्तिगत प्रयोजनका लागि ल्याएका सामान र व्यापारिक प्रयोजनका लागि ल्याइएका सामान छुट्याउने विषय पनि भन्सारका लागि चुनौती भन्सार प्रमुख पौडेलले बताए ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार भन्सार गर्नुपर्ने सामान भए कानुनअनुसार प्रक्रिया पूरा गर्न यात्रुलाई आग्रह गर्ने गरिएको छ । तर यात्रुहरूको ठूलो संख्या भएकाले सबै गतिविधिमाथि प्रभावकारी निगरानी राख्नु सहज छैन, उनले भने । यात्रु कक्षमा दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने तर सोही अनुपातमा राजस्व नउठ्नुको एउटा कारण यात्रुको ठूलो हिस्सा रोजगारी तथा व्यक्तिगत प्रयोजनका लागि मात्र आवतजावत गर्नु पनि हुनसक्ने भन्सार अधिकारीहरूको प्रमुख पौडेलको भनाई छ ।जमुनहा नाकाबाट दैनिक हजारौँ मानिस र सयौँ सवारीसाधन आवतजावत गरिरहेका बेला सीमाको सुरक्षा व्यवस्थापनसँगै राजस्व संकलन पनि महत्वपूर्ण विषय बनेको छ । सीमा नाकाबाट हुने आवतजावतलाई सहज बनाउँदै कानुनअनुसार भन्सार प्रक्रिया पूरा गराउनु राज्यका लागि दोहोरो चुनौती हो । एकातिर रोजगारी र दैनिक आवश्यकताका लागि आवतजावत गर्ने नागरिकलाई अनावश्यक झन्झट नहोस् भन्ने अपेक्षा छ भने अर्कोतर्फ कर तथा भन्सार लाग्ने वस्तुहरू अवैध रूपमा प्रवेश नगरून् भन्ने दायित्व भन्सार तथा सुरक्षा निकायमाथि छ । विशेषगरी सीमावर्ती बजारमा हुने किनमेल र साना व्यापारिक गतिविधिलाई व्यवस्थित गर्न नसक्दा राजस्व चुहावटको जोखिम रहने गर्छ । त्यसैले यात्रु सुविधा र राजस्व व्यवस्थापनबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखिन्छ ।
जमुनहा नाकाको पछिल्लो अवस्थालाई हेर्दा एउटा रोचक तथ्य देखिन्छ । नाकामा मानिसको चाप ठूलो छ, तर भन्सार राजस्व त्यसको अनुपातमा कम छ । सामान्य अवस्थामा दैनिक ३२ हजारसम्म मानिस आवतजावत गर्ने, १२ सयदेखि १५ सयसम्म मोटरसाइकल तथा अन्य सवारीसाधनले सुविधा लिने र नेपालगन्जसम्म अस्थायी पैठारीका लागि करिब एक सयले प्रक्रिया पूरा गर्ने गरेको सुरक्षा निकायको तथ्यांक छ । तर यात्रु कक्षमा देखिने भीड र भन्सारबाट संकलन हुने राजस्वबीच अपेक्षित समानुपातिक सम्बन्ध देखिँदैन । यसले जमुनहा नाकाको वास्तविक आर्थिक गतिविधि, यात्रुको प्रकृति, सीमापारि किनमेल, अस्थायी पैठारी र भन्सारयोग्य वस्तुको अवस्थाबारे थप अध्ययन आवश्यक रहेको देखाउँछ ।
भन्सार कार्यालयले यात्रुहरूलाई कानुनअनुसार भन्सार गराउन आग्रह गर्दै आएको जनाएको छ । सुरक्षा निकायले पनि सीमा क्षेत्रमा हुने गतिविधिमाथि निगरानी राख्दै आएको छ । तर सीमा नाकाबाट हुने आवतजावतको विशाल आकारलाई व्यवस्थित गर्दै रोजगारीका लागि आवतजावत गर्ने श्रमिकलाई सहजता, यात्रु सेवाको प्रभावकारिता, सीमा सुरक्षा र राज्यको राजस्व संरक्षण एकसाथ अघि बढाउनुपर्ने चुनौती भने कायमै छ । जमुनहा नाका नेपालगन्ज र आसपासका नागरिकका लागि भारत प्रवेश गर्ने प्रमुख मार्ग हो । दैनिक हजारौँ मानिसको आवतजावतले यो नाका दुई देशबीचको आवागमन मात्र नभई रोजगारी, व्यापार र सीमावर्ती अर्थतन्त्रको महत्वपूर्ण आधार भएको देखाउँछ । अब प्रश्न यति मात्र हो नाकामा देखिने भीडलाई आर्थिक गतिविधि र राजस्वमा कसरी रूपान्तरण गर्ने ?