Butwal Today

काँग्रेस सिद्धार्थनगर सभापतिमा सञ्जीव शर्मा रेग्मीको प्यानलसहित उम्मेदवारी घोषणा

६ आश्विन २०८३, मंगलवार
अ+
अ-

भैरहवा । 

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगर सभापति पदका लागि सञ्जीव शर्मा रेग्मीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्व केन्द्रीय मन्त्री एवं काँग्रेस नेता भरतकुमार शाह तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानको उपस्थिितिमा आयोजित कार्यक्रममा रेग्मीले आफ्नो प्यानल सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।

कार्यक्रममा काँग्रेस नेतृ अनिता शाह ढुंगाना, नेताहरू सुशील गुरुङ, दीपक क्षेत्री न्यौपानेलगायत स्थानीय तथा प्रदेश तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

उम्मेदवारी घोषणा गर्दै रेग्मीले पद प्राप्तिभन्दा कार्यकर्ताको विश्वास जित्ने र सङ्गठनलाई तल्लो तहदेखि नै बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताए । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका रेग्मीले वडा सचिव, नगर कोषाध्यक्ष तथा नगर सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनले आफू विगतको अनुभव, स्पष्ट कार्य योजना र प्रतिबद्धतासहित नगर सभापतिको प्रतिस्पर्धामा आएको बताए ।

“हामी व्यक्ति वा गुटको राजनीति होइन, विचार र सङ्गठनको राजनीति गर्न चाहन्छौँ । वर्षका ३६५ दिन नै कार्यकर्ता र जनताको सुख–दुःखमा साथ दिने नेतृत्व आजको आवश्यकता हो,” रेग्मीले भने ।

उनले ‘व्यक्ति होइन, विचार रोजौँ : गुट होइन, संगठन रोजौँ’ भन्ने नारासहित सिद्धार्थनगरका प्रत्येक वडा तथा टोलमा काँग्रेसको सङ्गठनात्मक उपस्थिति थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

रेग्मीको नेतृत्वमा सार्वजनिक गरिएको प्यानलमा उपसभापतिमा अनिल केसी र लक्ष्मी अर्याल, सचिवमा पंकज उदास तथा सहसचिवमा राममिलन यादव रहेका छन् ।

प्यानलले अग्रजको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्दै समावेशी, पारदर्शी र उत्तरदायी नगर समिति निर्माण गर्ने जनाएको छ । साथै स्थानीय तहदेखि आगामी निर्वाचनसम्म पार्टीको सङ्गठनलाई थप सक्रिय र प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?