Butwal Today

चट्टानमा लुकेको स्वर्ग

५ आश्विन २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची  ।   अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित प्राकृतिक चट्टानहरूको अद्भुत संसार ‘रक गार्डेन’ पछिल्लो समय अर्घाखाँचीको महत्वपुर्ण पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गएको छ ।

सन्धिखर्कबाट झण्डै २० मिनेटको गाडीको यात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ । प्रकृतिले आफैँ कुँदेर बनाएको जस्तो देखिने विशाल चट्टानहरूको यो अनौठो संरचना, ढुङ्गाको बगैंचाजस्तै फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षण क्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ ।

पहिलो पटक रक गार्डेन पुग्ने आगन्तुकहरू त्यहाँका चट्टानहरूको अनौठो बनावट देखेर आश्चर्यचकित हुने गर्छन्। कतै मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारीझैँ देखिने ती चट्टानहरू वास्तवमा प्रकृतिको अनुपम सिर्जना हुन्। सयौँ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र ढुङ्गाको जंगलजस्तै देखिन्छ, जसले आगन्तुकलाई एकैपटक रहस्य, सौन्दर्य र शान्तिको अनुभूति गराउँछ ।

डिभर्नास्थित यो रक गार्डेन अहिले बिस्तारै आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट दैनिक रूपमा मानिसहरू यहाँ घुम्न आउने क्रम बढ्दो छ। स्थानीयका अनुसार यहाँको स्वच्छ वातावरण, चिसो मौसम र प्राकृतिक दृश्यावलोकनले शहरको भीडभाडबाट केही समय टाढा पुगेर मानसिक ताजगी प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

पछिल्लो समय रक गार्डेनमा आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको सन्धिखर्क नगरपालिका–११ का वडा अध्यक्ष चेतनारायण आचार्यले बताए । “प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यो क्षेत्रलाई अझ व्यवस्थित बनाउन हामीले पूर्वाधार विकासमा जोड दिएका छौं,” उँनको भनाई छ ।

यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सन्धिखर्क नगरपालिकाले योजनाबद्ध रूपमा विभिन्न काम अघि बढाएको छ। पर्यटकहरूको सहजताका लागि यहाँ शौचालय, विश्रामस्थल (ट्रस्ट) तथा मन्दिर निर्माण गरिएको छ। यी संरचनाले आगन्तुकको बसाइलाई थप सहज र आरामदायी बनाएको छ । साथै, रक गार्डेनको प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै स्थानीय तहले दीर्घकालीन पर्यटन विकास रणनीति पनि तयार पारिरहेको जनाएको छ ।

रक गार्डेनलाई सन्धिखर्क नगरपालिकाको महत्वपूर्ण प्राकृतिक सम्पत्ति हो । उचित प्रचारप्रसार र संरक्षण गर्न सके यो स्थान नगरकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको स्थानीय युवा नारायण आचार्यले बताए । “अहिले जिल्लाभित्रबाट बढी पर्यटक आउने गरेका छन्, तर बाहिरी जिल्लासम्म यसको पहिचान पु¥याउन सकियो भने यसको महत्व अझ बढ्नेछ,” उनको भनाई छ ।

रक गार्डेनको अर्को विशेषता भनेको यहाँबाट देखिने विशाल भू–दृश्य हो। यस स्थानबाट सन्धिखर्क नगरपालिका मात्र होइन, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिका लगायत पाल्पा र प्युठान जिल्लाका केही भूभागहरू समेत सहजै अवलोकन गर्न सकिन्छ।

एकै स्थानबाट यति विस्तृत दृश्यावलोकन गर्न पाउनु आफैंमा दुर्लभ अनुभव हो। विशेषगरी सूर्योदय र सूर्यास्तका बेला यहाँको दृश्य अत्यन्तै मनमोहक देखिन्छ, जसले प्रकृतिप्रेमी तथा फोटोग्राफीमा रुचि राख्नेहरूलाई विशेष आकर्षित गर्ने गरेको छ  । लुम्बिनी र सुपा देउराली मन्दिरमा आउने पर्यटकहरूलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र रक गार्डेनसम्म ल्याउन सकियो भने जिल्लाको पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुन सन्धिखर्कका स्थानीय व्यवसायी डिलाराम भुसालले जानकारी दिए । “यसले होटल, यातायात, व्यापार लगायत स्थानीय व्यवसायमा प्रत्यक्ष लाभ पु¥याउनेछ,”।

रक गार्डेनलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । “पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने र आर्थिक गतिविधि विस्तार गर्ने हाम्रो लक्ष्य हो,” उनको भनाई छ ।
लुम्बिनी र सुपा देउरालीमा आएका पर्यटकलाई खाँचीकोट भगवती मनिदर तथा राज्य, सन्धिखर्कको सिद्धेश्वर मन्दिर, अर्घा भगवती हुदै यस स्थानमा लैजाने गरी योजना बनाउन सकेमा यस स्थानमा पर्यटकहरू बढ्न नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रकृतिले आफैँ निर्माण गरेको डिभर्नाको यो अद्भुत ढुङ्गाको संसार साँच्चिकै नेपालकै नमुना पर्यटकीय सम्पदा बन्ने सम्भावना बोकेको छ । यसको व्यापक प्रचारप्रसार, संरक्षण र पूर्वाधार विकासमा सरोकारवाला सबै पक्षको ध्यान पुग्न सके रक गार्डेन अर्घाखाँचीको पर्यटन नक्सामा चम्किलो गन्तव्यका रूपमा स्थापित हुने सन्धिखर्कका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए ।

रक गार्डेन केवल एउटा प्राकृतिक स्थल मात्र नभई अर्घाखाँचीको समृद्ध भविष्यको आधार बन्न सक्ने अमूल्य सम्भावना पनि हो । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र विशाल सम्भावनाले भरिएको यो क्षेत्रले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?