Butwal Today

सकियो ऐतिहासिक मूल ढोकाको पुनर्निर्माण

३ आश्विन २०८३, शनिबार
अ+
अ-

पाल्पा । ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण मानिएको एसियाकै सबैभन्दा ठुलो ढोकाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

सदरमुकाम तानसेन बजारको शीतल पाटीमा रहेको दरबार परिसरको प्रवेशद्वारका रूपमा रहेको विशाल ढोका राणाकालीन समयमा निर्माण भएको हो । पुरातात्त्विक हिसाबले समेत महत्त्वपूर्ण मानिएको उक्त ढोकाको पुनर्निर्माण पुरातत्त्व विभागले थालेको थियो ।

तानसेन नगरपालिकाको समन्वयमा गत वर्षदेखि पुनर्निर्माणको काम सुरु भए पनि गत आर्थिक वर्षमा बजेट अभावका कारण काम रोकिएको विभागका इन्जिनियर ध्रुव प्रजापतिले बताए । यस वर्ष आवश्यक बजेट प्राप्त भएपछि बाँकी काम पूरा गरिएको उनले जानकारी दिए ।

विश्व सम्पदामा समेत सूचीकृत दरबार परिसरमा रहेको ऐतिहासिक मूल ढोकाको पुनर्निर्माण कार्य पूरा नहुँदै रोकिएपछि स्थानीय चिन्तित भएका थिए । गत आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुनुपर्ने भए पनि बजेट अभावका कारण काम अधुरै रोकिएको स्थानीयको भनाइ छ ।

गत वर्ष तानसेन नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नगरपालिका र पुरातत्त्व विभागका जिम्मेवार कर्मचारीबिच यस विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा विभागले बजेटको समस्या नहुने र काम गर्ने वातावरण नगर सरकारले बनाइदिनुपर्ने बताएको थियो । तर, गत आर्थिक वर्षमा बजेट अभाव भएपछि निर्माण कार्य पूरा हुन नसकेको स्थानीय बताउँछन् ।

पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पुरातत्त्व विभागको भए पनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा गत वर्ष काम पूरा हुन नसकेको इन्जिनियर प्रजापतिले बताए । उनका अनुसार यस वर्ष बाँकी काम पूरा गरेर पुनर्निर्माण सम्पन्न गरिएको हो ।

राणाकालीन समयमा तत्कालीन पाल्पा गौडाका प्रमुख प्रशासक तथा श्री ३ महाराजालाई हात्तीमा सवार गर्न सहज होस् भन्ने उद्देश्यले उक्त ढोका निर्माण गरिएको बताइन्छ । ढोकाको पुनर्निर्माण जगदेखि नै पुरानै स्वरूप र शैलीमा गरिएको छ । ढोकाको दायाँ–बायाँ रहेका ढुङ्गा–माटाका गाह्रोमा चुन र सुर्कीको प्रयोग गरिएको छ ।

पुरातत्त्व विभागका सम्पदा प्रमुख रमेशराज पौडेलका अनुसार विभागलाई प्राप्त बजेटअनुसार ८१ लाख ९५ हजार रुपैयाँमा एनपीएस कन्स्ट्रक्सन, भक्तपुरसँग निर्माण सम्झौता भएको थियो । गत वर्ष फिनिसिङ, रंगरोगन र छाना छाउनेलगायतका काम बाँकी रहेको उनले बताए । बाँकी कामका लागि आवश्यक रकम संस्कृति मन्त्रालयमार्फत अर्थ मन्त्रालयबाट प्राप्त भएपछि निर्माण कार्य पूरा गरिएको पौडेलले जानकारी दिए ।

तानसेन नगरपालिकाका मुख्य प्राविधिक रामप्रसाद श्रेष्ठले उक्त कामको सम्पूर्ण जिम्मेवारी र अख्तियारी पुरातत्त्व विभागको रहेको बताए । नगरपालिकाले निर्माण कार्यमा सहजीकरण मात्र गरेको उनको भनाइ छ ।

‘पर्याप्त बजेट नभएका कारण समस्या भएको थियो । अहिले मूल ढोकाको काम सम्पन्न भएको छ,’ श्रेष्ठले भने ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र रहेको उक्त ढोकाको तस्बिर पर्यटकले मोबाइल तथा क्यामेरामा कैद गरेर लैजाने गरेका छन् । पर्यटक आउने समयमा पुनर्निर्माणको काम पूरा नहुँदा यहाँ आउने पर्यटकले खल्लो महसुस गर्ने गरेको पर्यटक व्यवसायी राजीव शाहले बताए ।

उनका अनुसार पुरातत्त्व विभागले पुनर्निर्माणका लागि आवश्यक पर्ने पर्याप्त रकम सुरुमै विनियोजन गर्नुपर्ने थियो । निर्माण कार्य ढिलो हुनुमा पुरातत्त्व विभागको कमजोरी रहेको उनको भनाइ छ ।

२०४५ सालमा आएको भूकम्प, २०७२ सालको विनाशकारी भूकम्प तथा त्यसपछि आएका पटक–पटकका परकम्पका कारण ढोका जीर्ण र नाजुक अवस्थामा पुगेको थियो । यसको पुनर्निर्माण यसअघि नै गर्नुपर्ने स्थानीय बताउँछन् ।

त्यस्तै, २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही पक्षले तानसेन आक्रमणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा पनि उक्त ढोका थप कमजोर अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?