© 2026
गुल्मी । गुल्मी अस्पतालमा पछिल्लो समय विशेषज्ञ सेवा विस्तार भएसँगै बिरामीहरूको आकर्षण पनि बढ्दै गएको छ । जसका कारण उपचारका लागि यहाँ आउने बिरामीको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।
बिरामीको चाप बढेसँगै अस्पतालमा आवश्यक जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा भने समस्या देखिएको छ । गुल्मी अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा एक हजार ९२६ वटा शल्यक्रिया भएकोमा आव २०८१÷८२ मा दुई हजार ६३९ र आव २०८२/८३ मा दुई हजार ९८ वटा शल्यक्रिया भएका छन् । अस्पतालमा एनेस्थेसिया विशेषज्ञ चिकित्सक आएपछि सेवा अझ विस्तार हुने बताइएको छ ।
त्यस्तै बहिरङ्ग सेवातर्फ आ.व २०८०/८१ मा ७३ हजार ८७९ जनाले सेवा लिएकोमा आ.व २०८१/८२ मा ७८ हजार २५४ र आव २०८२/८३ मा ८१ हजार ६३४ जनाले सेवा लिएका छन् । आकस्मिक सेवामा आव २०८२/८३ मा १३ हजार ५९१ जनाले सेवा लिएका छन् ।
अन्तरङ्ग सेवातर्फ पनि सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । आव २०८०/८१ मा एक हजार ८६७ जनाले उपचार गराएकोमा आव २०८१/८२ मा दुई हजार ४०८ र आव २०८२/८३ मा दुई हजार ५२७ जनाले सेवा लिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताएका छन् ।
अस्पतालका प्रमुख डाक्टर विभव बस्यालले विशेषज्ञ सेवा विस्तार भएसँगै अस्पतालप्रति नागरिकको आकर्षण बढेको बताए । उनका अनुसार हाडजोर्नी, मिर्गौलाको डायलासिस, प्रसूति तथा बालरोग लगायतका विशेषज्ञ सेवा विस्तार भएपछि उपचारका लागि बिरामीहरूलाई बाहिर जानु पर्ने बाध्यता हटेको छ । विशेषज्ञ सेवा विस्तार भएपछि अस्पतालमा बिरामीको चाप बढेको र कतिपय अवस्थामा भर्ना गर्नका लागि बेडको अभाव हुने गरेको डा.बस्यालले बताए ।
अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बढे पनि स्वीकृत दरबन्दी अनुसार जनशक्ति उपलब्ध हुन सकेको छैन । आवश्यक जनशक्तिको अभावमा दैनिक सेवा प्रवाहमा चुनौती रहेको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १३२ जना कर्मचारीहरू कार्यरत रहेका छन् । अस्पतालको स्वीकृत स्थायी दरबन्दी ५९ जनाको भए पनि स्थायी पदपूर्ति भने २० जनामा मात्र सीमित रहेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेयले सीमित पूर्वाधार र थोरै जनशक्तिका बाबजुद पनि गुल्मी अस्पतालले नागरिकको विश्वास जित्न सफल बनेको बताए । उनले आगामी दिनमा थप सेवा विस्तार गर्नका लागि सम्बन्धित निकायहरूसँग विभिन्न उपायहरूको खोजि गरिरहेको जानकारी गराए । रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टरहरूलाई टिकाई राख्नका लागि थप प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आइरहेको जनाइएको छ ।