Butwal Today

नेपालको पर्यटनमा विपद्को असर

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

मनसुनको अवधि छोटिँदै गएपछि नेपालमा पर्यटनको मुख्य सिजन सुरु हुन्छ । वर्षा यामको अन्त्यतिर हिन्दुहरूका चाडपर्व सुरु हुने भएकोले यो समयमा देशका विभिन्न धार्मिक स्थलमा जान खोज्ने स्वदेशी र विदेशी भक्तजनहरूको चहलपहल हुन्छ भने नेपालको बाटो हुँदै तिब्बतमा रहेको मानसरोवर जानेहरूले पनि यही समयलाई रोजेका हुन्छन् ।

यो वर्षको पर्यटनको मुख्य समय सुरु भएकै बेलामा भदौ १० गते भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीले त्रिशूली नदी छेउछाउको क्षेत्रमा अकल्पनीय क्षति पु¥याएको छ । यो लेख तयार गर्दासम्म ४,०८९ जना नागरिक अझैपनि सम्पर्कविहीन छन् भने १,३९६ जनाको शव फेला परेको छ । गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ५ जिल्लाका ७,५७० वटा निजी घरहरू पूर्ण रूपमा ध्वस्त वा क्षति भएका छन् ।

जसले गर्दा ८,३१७ घर परिवारका ३२,९६३ जना नागरिक पूर्ण रूपमा विस्थापित भएका छन् । मन्त्रालयको प्रारम्भिक प्रतिवेदन अनुसार बाढीबाट कुल ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति र आर्थिक नोक्सानी भएको अनुमान छ । क्षतिको पूर्ण विवरण आउन त केही समय लाग्ला, तर यो बाढीले भौतिक र मानवीय क्षति मात्र नगरेर सांस्कृतिक सम्पदा र संस्कृति, प्राकृतिक श्रोत, वातावरणमा समेत ठुलो क्षति गरेको सहजै अनुमान गर्न सकिन्छ, यो क्षति कदापि पुनर्स्थापना गर्न सकिने छैन ।

भोटेकोशीको बाढीले स्थानीय नागरिकहरूलाई मात्र असर गरेको छैन, मानसरोबर, गोसाईकुण्ड तिर्थ यात्रा र लामटाङ क्षेत्रमा पदयात्रा गर्न गएका सयौ मानिसलाई समेत बेपत्ता पारेको छ । हिमाली क्षेत्र नेपालको प्रमुख पर्यटकीय क्षेत्र हो ।

खासगरी विदेशी पर्यटकको रोजाईमा पर्ने यो क्षेत्रमा पर्यटकीय सिजन सुरु हुन् लागेको समयमा आएको विपत्तिले गर्दा नेपालको पर्वतीय क्षेत्र पर्यटनको लागि सुरक्षित नरहेको संदेश जाने खतरा पैदा भएको छ । यही विपत्तिको समयमा पृथ्वी राजमार्ग समेत अवरुद्ध हुँदा काठमाडौंदेखि चितवन र पोखरा जाने पर्यटकहरू समस्यामा परेका छन् ।

प्राकृतिक विपत्ति भएका क्षेत्रमा मात्र नभएर विपत्तिको कम असर परेका पर्यटकीय स्थानमा पनि पर्यटकहरूले हवाई उडान र होटेलको बुकिङ रद्द गर्ने क्रम बढेका समाचारहरू आइरहेका छन् । यी सबै परिदृश्यहरू हेर्दा नेपालको पर्यटन क्षेत्रले यो केही वर्ष कोरोना र भूकम्प भन्दा बढी नोक्सानी बेहोर्नुपर्ने देखिएको छ ।

प्राकृतिक विपत्तिका समस्या नेपालमा निरन्तर बढिरहेका छन् । चितवन र लुम्बिनीलाई छोड्ने हो भने अधिकांश पर्यटकीय गतिविधि पहाडी र हिमाली क्षेत्रमा केन्द्रित छ । यो क्षेत्रमा पर्यटकलाई लक्षित गरेर निजी क्षेत्रले ठुलो लगानी गरिरहेको छ ।

भूकम्प र कोरोनाले थला परेको नेपालको पर्यटन क्षेत्र फेरी उठ्न लागेको अवस्थामा पछिल्ला वर्षहरूमा पहाडी र हिमाली क्षेत्रमा दोहोरिएका प्राकृतिक विपत्तिका घटनाले नेपालको पर्यटन क्षेत्रलाई दिर्घकालिन असर पार्ने निश्चित छ । नेपालमा काठमाडौं, जनकपुर र लुम्बिनीलाई छोड्ने हो भने बाँकी नेपालको पर्यटन मुख्यगरी जल, भूगोल र जंगल आश्रित छ । यही कारणले गर्दा प्रकृतिमा आउने सामान्य उतारचढावको असर पर्यटन क्षेत्रमा पर्ने गरेको छ । सरसर्ती हेर्दा प्राकृतिक प्रकोपले पर्यटन क्षेत्रमा ३ किसिमले असर पारिरहेको देखिन्छ ।

क) पहुँचमा असर
भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर ३७ वटा मोटरेबल पुल, ६८ वटा झोलुंगे पुल ध्वस्त भएका छन् भने ६९ किमी सडक कामै नलाग्ने गरेर बगेको छ । रसुवागढी भन्सार कार्यालयका संरचनासहित सडक र सवारीसाधन गरेर १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ सामान्य भन्दा केही बढी पानी पर्नासाथ बाढी पहिरोका घटना बढ्नु र त्यसबाट राजमार्ग अवरुद्ध हुनु, पुल पुलेसा भत्कनु, सडक भत्किनु नेपालको लागि सामान्य कुरा भैसकेको छ ।

मुख्य राजमार्ग बाहेक अधिकांश पर्यटकीय स्थलमा जानको लागि कच्ची बाटो र गोरेटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्ता पर्यटकीय मार्गहरू सामान्य बाढी, पहिरो र भूकम्पले क्षतिग्रस्त हुने गरेका छन् । हिमाली क्षेत्रमा बारम्बार आउने हिम पहिरो, बेमौसमी हिमपातले गर्दा हिमाली पदमार्गहरू बिग्रदा पर्यटकहरूले दुख पाउने गरेका छन् ।

बाढी, पहिरो र बेमौसमी हिमपातले गर्दा यात्रा सुरु गर्ने नसक्ने, यात्रारत अवस्थामा दुख पाएर गन्तव्यमा पुग्न नसक्ने र गन्तव्यमा पुगेका पर्यटकहरू समेत घुमफिर गर्न नसक्ने, फर्कन नसक्ने समस्याहरू नेपालमा भ्रमण गर्ने पर्यटकहरूले बारम्बार भोग्नु परिरहेको छ । स्थलमार्ग मात्र नभएर नेपालको हवाई क्षेत्र पनि अति वर्षा, शितलहर, हिमपातले गर्दा प्रभावित हुने गरेको छ ।

यसले नेपालको भ्रमण गर्ने पर्यटकहरूले दुःख पाउने र पर्यटन क्षेत्रका बारेमा नै नकारात्मक संदेश बोकेर फर्कने काम भैरहेको छ । यस्ता प्रकोपहरू बढिरहदा र सडक पूर्वाधारमा क्षति भैरहदा नेपालको पर्यटन विकासमा अवरोध आईरहनेछ ।

ख) पर्यटकीय पूर्वाधारमा क्षतिः
नेपालमा नीजि क्षेत्रले पर्यटन उद्योगमा ठुलो लगानी गरेका छन् । पर्यटकहरूले नेपालको प्राकृतिक वातावरण मन पराउने भएकोले शहर भन्दा बाहिर नदि तालतलैयाको नजिक, खोंच, भिरालो जमिन, पहाडको टुप्पो जस्ता ठाउँमा होटेल, रिसोर्ट बनाएका छन् । यस्ता ठाउँका होटेल, रिसोर्टहरूमा पर्यटकको आकर्षण पनि देखिएको छ । पर्यटकलाई सेवा पु¥याउने र मुनाफा हासिल गर्ने एकमात्र उद्देस्यले संचालन ल्याईएका यस्ता होटेल, रिसोर्टहरू स्थापना गर्दा प्राकृतिक विपत्तिको सम्भावनालाई ख्याल गरेको देखिदैन र विपद न्यूनीकरण तथा अनुकूलनका कार्यहरू समेत गरेको देखिदैन ।

नदि उकास क्षेत्रमा पर्यटकीय पुर्वाधारहरू बनाईएकोले बारम्बार डुवान र नदि कटानले यस्ता पूर्वाधारमा क्षति पुग्ने गरेको छ । पहाडी क्षेत्रमा भूक्षयबाट समेत होटेल, रिसोर्टहरूमा बारम्बार क्षति पुग्ने गरेको छ । यस वर्ष भोटेकोशीको बाढीले सानाठूला गरि १२५९ वटा होटेल, रिसोर्ट र रेस्टुरेन्टमा क्षति पुगेको र यसबाट वार्षिक २९ अर्ब ४६ करोड बराबरको नोक्सान हुने प्रारम्भिक अनुमान छ । बाढीग्रस्त क्षेत्रमा रहेका कुनैपनि होटेल, रिसोर्ट पुन; संचालन गर्न सकिने अवस्थामा छैनन ।

होटेल र रिसोर्टमा मात्र नभएर ट्रेकिंग ट्रेल, क्याम्प साईट, सूचना केन्द्र, मोबाईल टावर, विद्युत प्रसारण, खानेपानी, आकस्मिक स्वास्थ्य सुविधा समेतमा पछिल्ला वर्षहरूमा प्राकृतिक विपत्तिका असर देखिएका छन् । यसले पर्यटकलाई प्रदान गर्ने सेवा सुविधामा अकामी आउने र दिर्घकालिन रूपमा पर्यटक आगमन तथा बसाई घटाउन भूमिका खेल्नेछ ।

ग) पर्यटकीय सम्पदामा क्षति
नदी अनेकौ धार्मिक र सांस्कृतिक सभ्यताको क्षेत्र हो र यो प्रमुख पर्यटकीय सम्पदा समेत हो । हरेक प्राकृतिक विपत्तिले नदि किनारका सम्पदामा क्षति पुग्ने गरेको छ । यही भदौ १० को बाढीले त्रिसुली छेउछाउमा रहेका २७ वटा धार्मिक स्थल, ३ वटा मस्जिद, १६ वटा सम्पदा, एउटा पुरातात्विक स्थलमा आंशिक वा पूर्ण क्षति पुगेको सरकारले सार्वजनिक गरेको क्षतिको प्रतिवेदनमा उल्लेख छ ।

यो बाढीले टिमुरेदेखि सुस्तासम्म नदि किनारमा रहेका धेरै मठ मन्दिरहरू, ऐतिहासिक र सास्कृतिक महत्वका घाटहरू भत्काएको, बगाएको र पुरेको छ । सम्पदा क्षेत्रमा मात्र १६ अर्ब भन्दा बढीको क्षति भएको छ । नेपालम राफ्टिङ गरिने प्रमुख नदी त्रिशूली हो, बाढीले राफ्टिङ गर्न नमिल्ने भएको छ । प्राकृतिक प्रकोपले बिगारेका पर्यटकीय सम्पदाहरू नेपालमा धेरै छन् । भूकम्पको चपेटामा परेर पहाडी र हिमाली क्षेत्रमा रहेका सयौ वर्ष पुराना मठ मन्दिर र गुम्बा चैत्यहरू नाशिएका छन् र बाँकी रहेका पनि संरक्षणको अभावले गर्दा मासिने क्रममा छन् ।

बाढी, पहिरो र भूकम्प जस्ता विपत्तिमा परेर मानिसहरू विस्थापित हुँदा उनीहरूले मनाउने गरेका जात्रा, पर्व र अन्य सांस्कृतिक गतिविधिहरू पनि हराउन थालेका छन् । बाढी पहिरोले धरातलीय स्वरूपमै परिवर्तन ल्याउने भएकोले यस्ता विपदमा परेर भूदृश्यमा आधारित पर्यटकीय सम्पदाहरू नाशिने वा कुरूप बन्नु कुनै नौलो कुरा हैन ।

बाढी र पहिरोले जल पर्यटनलाई प्रत्यक्ष असर पु¥याउने गर्दछ । तराईका नदीहरूमा आउने बाढीले कोशी टप्पु, पर्सा, चितवन, बर्दिया जस्ता राष्ट्रिय निकुन्जमा वन्यजन्तुको विचरणक्षेत्र पुर्ने, वनमा रहेका ताल तलैयाहरू पुर्ने गरेको देखिन्छ, यसले वन्यजन्तुको दैनिकीका साथे पर्यटकहरूको भ्रमणलाई असर पार्ने गरेको छ ।

जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रमा हिउँ पर्ने दरमा कमि र हिउ पग्लने दरमा वृद्धि भैरहेको छ । हिमाली क्षेत्रमा हिउँ घट्दै जादा हिमाली क्षेत्रले आकर्षण गुमाउदै जाने निश्चित छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दा हिम गलनमा वृद्धि, हिम पहिरो र हिमताल विस्फोटनका खतराहरू बढिरहेका छन् ।

यसले हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणलाई जोखिमपूर्ण बनाएको छ । सुख्खा, अतिवृष्टि र अनावृष्टि नेपालमा देखिएका जलवायु परिवर्तका असरहरू हुन् ।सुख्खा र खडेरीले तराई क्षेत्रमा रहेका तालतलैयाहरू हिउँदमै सुक्न थालेका छन् । ताल तलैया र नदीहरूमा पानीको मात्रा र बहावलाई खडेरी र अतिवृष्टि प्रभाव पार्ने र यसबाट नेपालका नदीहरूमा चलिरहेको जल पर्यटनलाई गम्भीर प्रभाव पार्ने निश्चित छ ।

नेपालको पर्यटनको मुख्य आधार प्रकृति हो र यही प्रकृति खलबलिदा पर्यटन क्षेत्र थिलोथिलो हुने गरेको छ । पर्यटन बहुविषय सम्बन्धित क्षेत्र भएकोले कृषि, वन, खानेपानी, संचार, उत्पादन, सस्कृति, बसाईसराई जस्ता क्षेत्रमा प्राकृतिक प्रकोपले असर पर्नासाथ पर्यटन क्षेत्र स्वतः प्रभावित हुन्छ । विपद्पछी पर्यटनका भौतिक पूर्वाधारलाई पुनर्जीवन दिन सकिने भएपनि पर्यटकीय सम्पदा, सभ्यता र संस्कारलाई पहिलेकै अवस्थामा ल्याउन सकिदैन । प्राकृतिक प्रकोपबाट त्रसित भएर फर्केका पर्यटकलाई सुरक्षित महसुस गराएर पुन भ्रमणको लागि ल्याउन पनि निकै कठिन हुन्छ ।

विकास निर्माणका कार्यहरू गर्दा पर्यटकीय क्षेत्र नखलबलिने गरि बनाउने, पर्यटन पूर्वाधारहरू बनाउँदा विपद जोखिमको सम्भावना अध्ययन गरेर मात्र बन(ाउने, विपद जोखिम न्यूनीकरणको काम गर्ने, विपद्को अवस्थामा पर्यटकको सुरक्षा, उद्धारमा प्राथमिकता दिने जस्ता कामहरू गर्न सकेमा पर्यटन क्षेत्रमा प्राकृतिक प्रकोपको क्षति कम गर्न र पर्यटकलाई सुरक्षित महसुस गराउन सकिन्छ । प्राकृतिक विपत्तिले विथोलेका क्षेत्रलाई सुरक्षित गरेर पर्यटकको लागि सिकेको थलो बनाउन सकेमा पर्यटकलाई आकर्षित गर्न सकिने भएकोले त्यसतर्फ पनि सरकार र पर्यटन व्यवसायीले ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?