Butwal Today

तेल चोरीको प्रयासले ढुवानी प्रणालीमाथि प्रश्न

रुपन्देही प्रहरीको कार्यक्षेत्रमा प्रदेश प्रहरीको ‘छापा’, पम्प सञ्चालक फरार
३१ भाद्र २०८३, बुधबार
अ+
अ-

भैरहवा । नेपाल आयल निगमका ट्याङ्करबाटै डिजेल चोरी भइरहेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले रूपन्देहीमा छापा हानेर तीनवटा ट्याङ्कर नियन्त्रणमा लिएपछि जिल्लाको पेट्रोलियम कारोबारको निगरानीमाथि गम्भीर प्रश्न उठेको छ ।

मायादेवी गाउपलिका –८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रदेश प्रहरीले छापा हानेको हो । उक्त कारबाहीबाट प्रहरीले करिब ३० लिटर डिजेलसहित दुई वटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो । ट्याङ्करको सिल तोडिएको र ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा रंगेहात फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी आशिष विश्वकर्माले जनाए ।

लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो भने घटनास्थलबाट एउटा ट्याङ्कर भागेपछि प्रहरीले पछ्याएर लु १ ख ६६१९ नम्बरको अर्को ट्याङ्करसमेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ३ वटै ट्याङ्कर भारतबाट ईन्धन भरेर भलवारी स्थित नेपाल आयल निगमको डिपोको लागि हिडेका हुन् ।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ । स्रोतका अनुसार पक्राउ पर्नेमा दुर्गेश चाई रहेका छन् । घटनापछि सराफ आयल सेन्टरका सञ्चालक रमेश सराफ, ट्याङ्कर चालक प्रमात्मा प्रसाद लोध र उमेश कहार भने फरार रहेको स्रोतले जनाएको छ ।

प्रहरीले भने पक्राउ परेका र फरार रहेका पम्प सञ्चालकको नाम सार्वजनिक गरेको छैन । घटनामा संलग्न भएको पाए पछि सराफ आयललाई सिल गरिएको नेपाल आयल निगम, प्रादेशिक कार्यालय भलवारीका निमित्त प्रमुख सुरेन्द्र सिंह बिष्टले जानकारी दिए । यस संगै चोरीमा संलग्न भनिएका तीनवटै ट्याङ्करका चालकहरूलाई नेपाल आयल निगमको कुनै पनि कार्यालयमा प्रवेश निषेधको कारवाही गरिएको उनले बताए ।

ट्याङ्करहरूको हकमा भने ढुवानी कार्य बन्द गरिएको छ । “अहिले ट्याङ्करमा आधुनिक तरिकाको ताल्चा लगाएर लक गर्ने गरिएको छ ।” विष्टले भने “उनिहरूले हाईड्रोलिक ज्याकको प्रयोग गरि ट्याङ्कर माथिको ढक्कन हटाएर पाईपको माध्मबाट डिजेल चोरी गरे जस्तो देखिन्छ ।”

जिल्लाको कार्यक्षेत्रमा प्रदेश प्रहरीको छापा 
घटनाको अर्को महत्वपूर्ण पक्ष भनेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नियमित कार्यक्षेत्रभित्र पर्ने पेट्रोलियम कारोबारस्थलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष टोली परिचालन गरी छापा मारिनु हो । जिल्लाभित्र हुने पेट्रोलियम पदार्थको ओसारपसार, भण्डारण र बिक्रीवितरणको निगरानी तथा शंकास्पद गतिविधिमाथि कारबाही गर्ने जिम्मेवारी नेपाल आयल निगम, भलवारी डिपो, स्थानीय प्रहरी संयन्त्रसँगै अन्य सम्बन्धित नियामक निकायको पनि हो ।

तर प्रदेश प्रहरी कार्यालयले नै विशेष टोली पठाएर प्रत्यक्ष कारबाही गर्नुपर्ने अवस्थाले रूपन्देहीमा पेट्रोलियम पदार्थको चोरी तथा अनियमितताको निगरानी कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ । यदि प्रदेश प्रहरीको विशेष टोलीले सूचना पाएर कारबाही गर्न सक्छ भने उही जिल्लामा रहेको प्रहरी संयन्त्रले किन त्यही गतिविधि समयमै पत्ता लगाउन सकेन ? यो प्रश्नको जवाफ स्थानियहरूले खोजिरहेका छन् ।

विशेष गरी भारतबाट नेपाल आयल निगमको डिपोको लागि निस्किएका ट्याङ्करको सिल सुरक्षित छ कि छैन, निर्धारित परिमाणमै इन्धन गन्तव्यमा पुग्छ कि पुग्दैन र बाटोमा इन्धन निकाल्ने गरिएको छ कि छैन भन्ने विषयमा नियमित अनुगमन हुँदै आएको दाबी गरिए पनि यस्ता घटना दोहोरिनुले अनुगमन प्रणालीमाथि प्रश्न उठेको हो ।

घटनाले नेपाल आयल निगमको भलवारी डिपोको निगरानी प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको सिल बीच बाटोमै तोडिँदा त्यसको परीक्षण किन हुन्न, आयात गरिएको परिमाणको नियमित नापजाँच किन भएन र यस्तो गतिविधि लामो समयसम्म कसरी सम्भव भयो भन्ने प्रश्न उठ्न थालेका छन् ।

रूपन्देहीमा आयल निगमका ट्याङ्करबाट डिजेल निकाल्ने घटना यसपटक मात्र भएको होइन । यसअघि पनि रूपन्देहीमा प्रहरी उपरिक्षकको रूपमा बिक्रम सिंह थापा हुदा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट बाटोमै इन्धन निकाल्ने तथा चोरीका घटना सार्वजनिक भएका थिए । भारी दबाबका बावजुद तत्कालीन प्रहरी प्रमुखले पम्प सञ्चालक सहितलाई मुद्दा चलाए पछि त्यो घटना राष्ट्रिय रूपमै चासोका साथ हेरिएको थियो ।

यस पटक विशेषगरी निगमका ट्याङ्कर, चालक–सहचालक, पेट्रोल पम्प सञ्चालक र बीचका बिचौलियाबीच मिलेमतो भए–नभएको विषयमा समेत अनुसन्धान आवश्यक देखिन्छ । एउटा घटनामा ट्याङ्करको सिल तोडिएको अवस्थामा फेला पर्नुले सिल तोड्ने, इन्धन निकाल्ने र पुनः कारोबारमा लैजाने प्रक्रिया योजनाबद्ध हो कि आकस्मिक भन्ने प्रश्नसमेत उठेको छ ।

यसपटक दुई वटा ट्याङ्कर एकै घटनामा नियन्त्रणमा पर्नु र एउटा ट्याङ्कर घटनास्थलबाट भागेर पछि नियन्त्रणमा आउनुले घटनालाई एउटा ट्याङ्कर वा एक व्यक्तिको गतिविधिमा मात्र सीमित गरेर अनुसन्धान गर्नु पर्याप्त नहुने देखिएको सरोकारवालाको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिएका ट्याङ्करका चालक, सहचालक, पम्प सञ्चालक, निगमको डिपोबाट इन्धन भरेर हिँडेदेखि घटनास्थलसम्मको आवागमन, ट्याङ्करको सिल र इन्धनको परिमाणलगायत विषयमा अनुसन्धान गर्नुपर्ने देखिन्छ । यसबाट विगतका घटनासँग कुनै सम्बन्ध छ कि छैन भन्ने पनि खुल्न सक्नेछ ।

पेट्रोलियम पदार्थ चोरीमा संलग्न हुने व्यक्तिमाथि कारबाहीसँगै इन्धन ढुवानी प्रणालीभित्रै कुनै कमजोरी वा मिलेमतो छ कि छैन भन्ने पाटोसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । नेपाल आयल निगमको इन्धन ढुवानी प्रणालीमा ट्याङ्करको सिल र ढुवानी विवरणलाई महत्वपूर्ण सुरक्षा संयन्त्रका रूपमा लिइन्छ । त्यसैले सिल तोडिएको अवस्थामा निगमकै ट्याङ्कर फेला पर्नु सामान्य घटना नभएको जानकारहरू बताउँछन् ।

रूपन्देहीमा पेट्रोलियम पदार्थ चोरी नियन्त्रण गर्न प्रदेश प्रहरीको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले कारबाही गरेको भनिए पनि जिल्ला प्रहरीको नियमित संयन्त्रलाई छल्दै प्रदेश प्रहरीबाट विशेष टोली परिचालन हुनुपर्ने कारण पनि अनुसन्धानकै विषय बनेको छ ।

प्रदेश प्रहरी कार्यालयले विशेष सूचना पाएर कारबाही गरेको हो वा जिल्लामा यसअघि भएका यस्ता घटनाको प्रभावकारी अनुसन्धान नभएपछि प्रदेश तहबाट हस्तक्षेप गरिएको हो भन्ने विषय प्रहरीले स्पष्ट पारेको छैन ।  यस घटनाले पेट्रोलियम पदार्थको चोरी नियन्त्रणमा जिल्ला प्रहरी, प्रदेश प्रहरी, नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको समन्वय कस्तो छ भन्ने प्रश्न पनि सतहमा ल्याएको छ ।

अबको अनुसन्धानले ३० लिटर डिजेल चोरीको घटनामा मात्र सीमित हुन्छ कि यसअघि दोहोरिँदै आएका पेट्रोलियम चोरीका घटनासम्म पुगेर सम्भावित ठूलो सञ्जालको खोजी गर्छ, त्यसले प्रदेश प्रहरीको यो कारबाहीको वास्तविक अर्थ निर्धारण गर्नेछ ।

तेल निकालिएको घटनामा छानबिन माग
अमलेखगञ्जबाट रूपन्देहीको भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ बोकेर आएका दुई ट्याङ्करबाट भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिएको घटनाको निष्पक्ष छानबिन गर्न पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघले माग गरेको छ । संघले घटनामा ट्याङ्करको सिल कसरी र कुन अवस्थामा तोडियो तथा पेट्रोलियम पदार्थ निकाल्ने कार्यमा को–को संलग्न थिए भन्ने विषयमा अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो ।

लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका दुई ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राकेशकुमार कसौधन र महासचिव भुपराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थ अत्यावश्यक तथा संवेदनशील वस्तु भएकाले यसको ढुवानीमा संलग्न कुनै पनि ट्याङ्कर, चालक वा सहचालक अनियमितता, चोरी वा गैरकानुनी कार्यमा संलग्न भएको प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्ने संघले जनाएको छ । तर अनुसन्धानका क्रममा वास्तविक दोषी पहिचान गरी निर्दोष व्यवसायी, चालक वा सहचालकमाथि अनावश्यक आरोप वा कारबाही हुन नहुनेमा संघले जोड दिएको छ ।

संघले ट्याङ्करमा लगाइएको सिल, अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ लोड गरिएदेखि भलवारी डिपोमा अनलोडिङ हुने प्रक्रियासम्मका सबै चरणको अनुसन्धान गर्न माग गरेको छ । बाटोमा ट्याङ्करमा कुनै अनधिकृत हस्तक्षेप भएको भए त्यसको समेत अनुसन्धान गर्नुपर्ने संघको भनाइ छ । घटनामा ट्याङ्कर व्यवसायी संघ वा संघमा आबद्ध कुनै पनि व्यवसायीको संलग्नता नरहेको संघले स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न व्यवसायी, चालक तथा सहचालकले निर्धारित नियम, सुरक्षा मापदण्ड र नेपाल आयल निगमका कार्यविधि पूर्ण रूपमा पालना गर्नुपर्नेमा संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । संघले घटनालाई निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित ढङ्गले अनुसन्धान गरी दोषी पहिचान गर्न आग्रह गरेको छ ।

अनुसन्धानका क्रममा आवश्यक जानकारी वा सहयोग माग भए सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि संघले जनाएको छ । यसैबीच, घटनामा संलग्न भनिएका चालक तथा सहचालकलाई संघबाट उपलब्ध गराइने सुविधाबाट वञ्चित गर्ने निर्णयसमेत गरिएको संघले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ट्याङ्कर र चालक पक्षका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?