© २०२३
लुम्बिनी, २३ माघ ।
भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरेका हुन् ।
पहिलो पटक लुम्बिनीमा पाइला टेकेका बापूले मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्म स्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैंचाको जानकारी तथा अवलोकन गरे । बापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिएका थिए । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तेयल बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिएका थिए । उपाध्यक्ष मैत्तेयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाट्य प्रमाण भएको बताए ।
उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिट बुकमा बुद्ध जन्मस्थलमा आउन पाउँदा एकदमै सौभाग्यशाली अनुभव गरेको लेखेका छन् । पवित्र पावनधाममा आउन पाउँदा अत्यन्तै खुशी र शान्ति मिलेको वापूले उल्लेख गरेका छन् । सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरी पूजा गरेका थिए ।
लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा मंगलबारबाट सुरु हुने रामकथा प्रवचनका लागि वापू यहाँ आएका हुन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छा अनुसार नै वापू लुम्बिनी आएको आयोजकहरुले बताएका छन् । रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुने छ । वापू सहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी आएको हो ।