Butwal Today

आज राष्ट्रिय बाल दिवस: बाढी प्रभावित बालबालिकाको सुरक्षा गर

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ सोमबार मुलुकको विषम परिस्थितिमा पनि राष्ट्रिय बाल दिवसको औपचारिकता पूरा भएको छ ।

बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जबाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।

यो बाल दिवस भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ । अर्कोतर्फ त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउनेतर्फ राज्यको तत्कालै ध्यान जानु जरुरी छ ।

\इतिहासमा उल्लेख भए अनुसार रत्नराज्य लक्ष्मदेवी शाह भारत भ्रमणको क्रममा महात्मा गान्धीको जन्म दिनको अवसरमा त्यहाँ बाल दिवस मनाएको देखेपछि नेपालमा पनि उहाँले आफ्नो जन्म दिनको अवसर पारेर वि.सं. २०२१ सालदेखि राष्ट्रिय बाल दिवस मनाउने परम्पराको सुरुवात गर्नुभएको थियो । २०७२ सालमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै राष्ट्रिय बाल दिवसको मिति परिवर्तन गरी भदौ २९ कायम गरियो ।

जेहोस आजका बालबालिका भोलिका कर्णधार हुन् भनिन्छ तर राष्ट्रिय बाल दिवस मनाईरहँदा बालबालिकामाथि कायम विभेद रोकिएको छैन । घरपरिवार, समाज र राष्ट्रकै गहना बालबालिका हुन् । बालबालिका नभएको संसार त कल्पना पनि गर्न सकिँदैन । बालबालिकालाई राम्रोसँग हुर्कन, बढ्न, पढ्न, ज्ञान तथा सिप सिक्न पाउने वातावरण बनाइदिनु र उनीहरूलाई कुनैपनि हेला, भेदभाव, दुव्र्यवहार, दुःख, अप्ठ्यारो आदिमा पर्नबाट बचाउनु अभिभावक, समाज एवं सरकारको काम हो ।

त्यसैले सबैले बालबालिकाको भलाईका लागि काम गर्नुपर्छ भन्ने कुरा सम्झाइरहन, बालबालिकाका निम्ति के कस्ता राम्रा काम भए, के हुन सकेनन् भनेर छलफल गर्न हरेक वर्ष बालदिवस मनाइन्छ । यति मात्रै होइन बालबालिकाले पनि नयाँ ज्ञान, खेल, मनोरञ्जन गर्न पाउन्, आफ्ना क्षमता देखाउन पाउन्, अधिकारबारे थाहा पाउन्, खुसी–रमाइलो गर्न पाउन् भनेर हरेक वर्ष बालदिवस मनाइन्छ ।

चिन्ताको कुरा के छ भने सवै बालबालिकाले समान शिक्षा पाएका छैनन् । नेपालको संविधान २०७२ ले सवै बालबालिकालाई शिक्षाको अवसरबाट बञ्चित नगर्ने भन्दै शिक्षाप्रतिको प्रतिवद्धता जनाएको छ । एक तथ्याँक अनुसार नेपालमा कुल जनसंख्याको करिव ४० प्रतिशत बालबालिकाको संख्या रहेको छ । यिनै नागरिक भोलीको देशको कर्णधार हुन ।

भोलीको नयाँ नेपालको नेतृत्वकर्ता हुन । यिनीहरूको सर्वोपरी हित र रक्षाले मात्रै भोलीको नयाँ नेपाल सुरक्षित हुन सक्छ । तसर्थ बालबालिकाको सर्वाङ्गिण विकासका लागि आजैदेखि अभियान थालनी जरुरी छ । बालबालिकाहरू अहिलेपनि बालश्रम र वालविवाह लगायतका विभिन्न सामाजिक कुरीति र कुसंस्कारबाट पीडित हुनुपरेको छ ।

जसका कारण नेपाल शिक्षाका क्षेत्रमा पछि पर्दै गएको छ । अतः बाल दिवसको अवसरमा दिवस मनाएर औपचारिकता पूरा गर्नुभन्दा पनि बालबालिकाको अधिकारको कुरामा पनि ध्यान दिनु जरुरी छ । बाल अधिकार सम्बन्धी महासन्धिलाई नेपालले २०४७ साल भदौ २९ गतेका दिन अनुमोदन अर्थात् त्यो महासन्धिमा लेखिएका बाल अधिकारका कुरा हामी पालना गर्दछौँ भनी स्वीकार गरेको थियो ।

बिडम्बनाको कुरा के छ भने त्यसयता बनेका दर्जन बढी सरकारले नेपालले स्वीकार गरेको बाल अधिकार सम्वन्धि महासन्धि अझैपनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन् । यो बर्ष भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका हजारौं बालबालिकाको भविष्यको ग्यारेन्टी गर्नेतर्फ बाल दिवसको अवसरमा सम्वन्धित निकायको ध्यान जाओस् ।

उनीहरूको शिक्षादिक्षाको कुरामात्रै होइन, घर परिवार गुमाएका बालबालिकाको आश्रयको खाँचो छ । सरकारका साथै स्थानीय पालिकाहरूले समेत आजको दिवसको अवसरमा उनीहरूको अधिकारको चिन्ता गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?