© 2026
पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–ठिमुरेस्थित दुर्गा भवानी माध्यमिक विद्यालयमा आधारभूत तह (कक्षा १–५) को अस्थायी करार शिक्षक नियुक्तिका लागि लिइएको परीक्षाको निष्पक्षतामाथि प्रश्न उठेको छ । परीक्षामा सहभागीमध्ये दुई जना मात्र उत्तीर्ण भएपछि परीक्षार्थीले छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
परीक्षामा सहभागी ४१ जनामध्ये दुई जना मात्र उत्तीर्ण भएको र दुवै जना विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर खत्रीका आफन्त रहेको भन्दै परीक्षार्थीले प्रश्न उठाएका हुन् । परीक्षा निष्पक्ष नभएको आशङ्का गर्दै उनीहरूले परीक्षा प्रक्रिया छानबिन गरी पुनः परीक्षा सञ्चालन गर्न माग गरेका छन् ।
परीक्षार्थी मनिष आलेका अनुसार प्रधानाध्यापक निकट दुई जना परीक्षार्थी मात्र उत्तीर्ण भएपछि परीक्षा सञ्चालनमा संलग्न विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाको शिक्षा शाखा तथा विषय विशेषज्ञको भूमिकामाथि समेत प्रश्न उठेको छ । “४१ जना सहभागी भएको परीक्षामा दुई जना मात्र उत्तीर्ण हुनु र तीमध्ये प्रधानाध्यापकका आफन्त पर्नुले शङ्का उत्पन्न भएको हो,” उनले भने ।
परीक्षार्थीले परीक्षा सञ्चालनमा संलग्न प्रधानाध्यापक खत्री, गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजाराम भाट तथा विषय विशेषज्ञ मदन नेपाल र देवराज घिमिरेको भूमिकामाथि छानबिन गर्न माग गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक खत्रीका आफन्त उत्तीर्ण भएको विषयमा स्थानीय जनप्रतिनिधिले समेत प्रश्न उठाएका छन् । गाउँपालिकाका प्रवक्ता एवं सोही वडाका वडाध्यक्ष प्रकाश रायमाझीले परीक्षाको प्रथम पत्रमा दुई जना मात्र उत्तीर्ण हुनु र तीमध्ये विद्यालयका प्रधानाध्यापकका आफन्त पर्नुले परीक्षा प्रक्रियामाथि प्रश्न उठेको बताए ।
“परीक्षामा दुई जना मात्र उत्तीर्ण हुनु र तीमध्ये प्रधानाध्यापकका आफन्त पर्नुले नियतमाथि प्रश्न उठाएको छ,” उनले भने, “परीक्षासँग सम्बन्धित सबै पक्षमाथि छानबिन गरी आवश्यक परे पुनः परीक्षा लिनुपर्छ ।”
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कान्ता अधिकारीले भने आफूलाई यस विषयमा जानकारी नभएको बताइन् । शिक्षा शाखा प्रमुख भाटसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
परीक्षा प्रक्रियामाथि उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले शिक्षक नियुक्ति प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेका अनुसार परीक्षार्थीको उजुरी प्राप्त भएपछि छानबिन नभएसम्म शिक्षक भर्ना प्रक्रिया अघि नबढाउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको छ ।
“जिल्ला प्रशासनमा निवेदन परेको छ । छानबिन नभएसम्म शिक्षक भर्ना प्रक्रिया रोक्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेका छौँ,” उनले भने ।
उजुरीमा उठाइएका विषयमा छानबिनपछि मात्र परीक्षा प्रक्रिया निष्पक्ष भए–नभएको तथा शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउने वा पुनः परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय हुने जनाइएको छ ।