© 2026
काठमाडौँ ।
नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।
सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी-२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी-२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन् ।
सन् २०२३ मा आयोजित एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमा जितेको थियो । त्यतिबेला नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए । कप्तान लामिछाने एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन् । उनी सन् २०२३ को संस्करणमा पनि उत्कृष्ट खेलाडी चुनिएका थिए । उक्त संस्करणको प्रिमियर कपमा सन्दीपले ५५ रन बनाउनाका साथै १३ विकेट लिएका थिए ।
यसपालि उनले थप उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले एसिसी प्रिमियर कप २०२६ मा छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो ।