© 2026
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।
नेपाल र युएईबिचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।
दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यस पटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।
जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबिच हालसम्म १९ खेल भएका छन् । नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ ।
नेपालले युएईसँग पछिल्लो पटक गत मेमा आइसिसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेको थियो । त्यसअन्तर्गतका दुवै खेलमा नेपाल विजयी भएको थियो ।