© 2026
पाल्पा ।
पाल्पाका ग्रामीण क्षेत्रमा पुस्तौँदेखि किसानले जोगाउँदै आएका रैथाने बालीका बिउ पछिल्ला वर्षमा हराउँदै जान थालेका छन् । बढ्दो तापक्रमसँगै रोग तथा किराको प्रकोप बढेपछि स्थानीय जातका बाली उत्पादन हुन छाडेका छन् । बालीसँगै स्थानीय स्वाद, परम्परा र किसानको आत्मनिर्भरता पनि सङ्कटमा परेको किसानहरू बताउँछन् ।
निस्दी गाउँपालिका–मित्यालका पुराना किसान मनप्रसाद सोतीले मकैसँगै लगाउँदै आएको सानो जातको बोडीको बिउ अहिले गाउँमै पाइन छाडेको बताए । राम्रोसँग मलजल गरेर खेती गरे पनि किराको प्रकोप बढेपछि स्थानीय बोडीको उत्पादन घट्दै गएको र अन्ततः बिउ नै हराएको उनको भनाइ छ । “पहिले घरमै बिउ राखिन्थ्यो, अहिले बिउका लागि पनि बजारमा निर्भर हुनुपरेको छ,” उनले भने ।
निस्दीकी अगुवा कृषक माया सुनारीको अनुभव पनि उस्तै छ । मकै लगाउने समयमा मकैसँगै सिमी लगाउँदै आएकी उनी पछिल्लो समय सिमीलाई आम्दानीको स्रोत बनाउँदै आएकी थिइन् । तर गत वर्ष सिमीको बोटमा ठुलो मात्रामा किरा लागेपछि उत्पादनमा क्षति भयो । किराले गाउँका अधिकांश किसानका सिमीका बोट सखाप पारेपछि अर्को वर्षका लागि बिउसमेत जोगाउन नसकिएको उनले बताइन् ।
“सिमीबाट आम्दानी राम्रो हुन्थ्यो । तर किराले बोट नै नष्ट गरिदिएपछि बिउ राख्नसमेत पाइएन,” सुनारीले भनिन् । उनका छिमेकी किसानहरू पनि गाउँबाटै रैथाने सिमीको बिउ हराएको बताउँछन् ।
माथागढी गाउँपालिका–ओलेसका ६० भन्दा बढी घरपरिवारको वर्षे आम्दानीको मुख्य आधार कुनै समय सानो जातको कालो भट्ट थियो । किसानहरू मकैसँगै भट्ट लगाउँथे र बिक्री गरेर वर्षभरिका लागि चामलको जोहो गर्थे। तर अहिले त्यो परम्परा टुटेको छ ।
स्थानीय किसान मानबहादुर सारूका अनुसार उनका बाजेको पालादेखि नै मकैसँगै सानो दानाको कालो भट्ट लगाउने चलन थियो। तीन–चार पुस्तादेखि घरमै बिउ संरक्षण हुँदै आएको भए पनि केही वर्षयता बालीमा किराको प्रकोप बढेपछि भट्ट उत्पादन हुन छाड्यो । “कहाँबाट आयो किरा, बोटमा दाना नै लागेन। त्यसपछि हाम्रो पहिचान बनेको सानो दानाको कालो भट्टको बिउ गाउँबाटै हरायो,” सारूले भने, “तीन–चार वर्ष भयो, बजारबाट ल्याएको उन्नत जातको बिउमा निर्भर हुनुपरेको छ। स्थानीय जातको नाममा यही एउटा बाँकी थियो, अब त्यो पनि हरायो ।”
माथागढी–गोठादीका पुराना कृषक श्याम नेपालीका लागि पनि मासको खेती अहिले सम्झनामा मात्र सीमित भएको छ । खेतको आलीमा मास लगाएर बिक्री गर्ने र त्यसबाट जाडोका लागि लत्ताकपडा किन्ने गरेको विगत अहिले “एकादेशको कथा” जस्तै भएको उनी बताउँछन् । करिब पाँच वर्षअघि मासको दानामा किराको प्रकोप देखिएपछि गाउँबाटै मासको बिउ हराएको नेपालीले बताए। यस वर्ष बिउ नभएकै कारण उनले मास लगाउन पाएनन् । “किराले अभियान चलाएजस्तै आक्रमण ग¥यो । बाली नै ध्वस्त भयो । किरा किन लाग्यो भन्ने पत्ता लागेन,” उनले भने, “नियन्त्रणका लागि विभिन्न उपाय अपनायौँ, तर सफल भएनौँ। यस पटक मास राम्रो भएको भए गाउँमा दुई–चार लाख रुपैयाँ भित्रिन सक्थ्यो ।”
पाल्पाको हावापानी र भू–बनोट दलहन बालीका लागि उपयुक्त भए पनि पछिल्लो समय रैथाने तथा परम्परागत बाली हराउँदै गएको किसानहरूको भनाइ छ ।
बगनासकाली गाउँपालिका–यम्घाका पुराना कृषक तोयनारायणलाई दुई दशक अघिसम्म मकैबारीमा धुसुवा बाली ‘झिल्गी’ लगाउने चलन अझै सम्झना छ । गाउँका अधिकांश किसानले मकैसँगै झिल्गी लगाउने र वर्षभरिका लागि आवश्यक चामलको जोहो गर्ने गरेको उनी बताउँछन् ।
तर झिल्गीको कोसा लागेपछि दानामा किरा लाग्न थालेपछि बाली क्रमशः हराउँदै गयो। किराको नियन्त्रणका लागि कतिपय किसानले विषादी प्रयोग गरे पनि अन्ततः झिल्गी गाउँबाटै लोप भएको स्थानीय वालकुमारी बस्यालले बताइन् ।
कृषि ज्ञान केन्द्र पाल्पाकी वरिष्ठ कृषि प्रसार अधिकृत मनिषा पौडेल पछिल्ला वर्षमा बढ्दो तापक्रमसँगै दलहन बालीमा किराको प्रकोप बढेको बताउँछिन् । उनका अनुसार जलवायु परिवर्तनका कारण रैथाने बालीमा प्रत्यक्ष असर परेको छ । “रैथाने बालीका कतिपय जातमा रोग तथा किरासँग लड्ने क्षमता तुलनात्मक रूपमा कम हुन्छ । तापक्रम र मौसममा आएको परिवर्तनसँगै रोग तथा किराको प्रकोप बढ्दा यस्ता बाली बढी प्रभावित भएका छन्,” पौडेलले भनिन् ।
जलवायु परिवर्तनको असर बालीको उत्पादन र क्षेत्र विस्तारमा समेत देखिन थालेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डे बताउँछिन् । उनका अनुसार पछिल्लो दशकमा बढ्दो तापक्रमका कारण तराईमा उत्पादन हुने केही तरकारी हिमाली क्षेत्रमा समेत उत्पादन गर्न सम्भव भएको छ । “यो प्रकृतिमा आएको परिवर्तनको असर हो। अब किसानले जलवायु अनुकूल खेती प्रणाली अपनाउन आवश्यक छ,” पाण्डेले भनिन् ।
यस वर्ष पाल्पामा धान बालीमा समेत खपटे किराको प्रकोप बढेको उनले बताइन्। रोग तथा किराको प्रकोपले खाद्य सुरक्षामै असर पार्न सक्ने भएकाले रोग तथा किरासँग प्रतिरोध गर्न सक्ने क्षमता भएका बिउ किसानलाई सिफारिस गर्न थालिएको पाण्डेले बताइन् ।
किसानहरूका अनुसार जलवायु परिवर्तनका कारण बाली मात्र हराएका छैनन्, ती बालीसँग जोडिएको स्थानीय स्वाद र परम्परा पनि हराउँदै गएको छ । पुस्तौँदेखि घरघरमा सुरक्षित राखिँदै आएका बिउ नष्ट हुँदा स्थानीय कृषि प्रणाली र जैविक विविधता कमजोर हुँदै गएको उनीहरूको चिन्ता छ ।
रैथाने बालीको संरक्षणसँगै स्थानीय स्वाद, परम्परा र किसानको आत्मनिर्भरता जोगाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय आवश्यक रहेको किसानहरू बताउँछन् । उनीहरूका अनुसार रैथाने बिउको संरक्षण, बिउ बैङ्क स्थापना, रोग तथा किराको अनुसन्धान र जलवायु अनुकूल प्रविधिको विस्तारमा सरकारले प्राथमिकता दिन सके लोप हुँदै गरेका बाली पुनः जोगाउन सकिनेछ ।