© 2026
सल्यान ।
आत्महत्याको जोखिम न्यूनीकरण गर्न र विद्यार्थीमा जीवनप्रतिको सकारात्मक दृष्टिकोण जगाउन सल्यानमा विद्यालय तहबाटै सचेतनामूलक पहल सुरु गरिएको छ । किशोरावस्थामा आइपर्ने पारिवारिक, सामाजिक तथा शैक्षिक दबाबका कारण युवापुस्ता मानसिक तनावमा परिरहेका बेला जिल्लाको छत्रेश्वरी गाउँपालिकामा यस्तो पहल गरिएको हो ।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सीएमसी नेपालको प्राविधिक सहयोग र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा पालिकास्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरी किशोर किशोरीलाई मानसिक स्वास्थ्य र जीवनको महत्त्वबारे बुझ्न र बुझाउन लगाइएको हो । त्रिज माध्यमिक विद्यालय भोटेचौरमा सम्पन्न आशा जगाऔँ, जीवन बचाऔँ विषयक निबन्ध प्रतियोगितामा पालिकाका सात माध्यमिक विद्यालयका सात छात्र र सात छात्रा गरि १४ जना विद्यार्थीले आफ्ना विचार र समाधानका उपाय प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा जनता माध्यमिक विद्यालय बुराँसेकी ममता बस्नेत र जानकी माध्यमिक विद्यालय दोहोलीकी सल्फा बुढाथोकीका निबन्ध उत्कृष्ट घोषित भएका छन् । उत्कृष्ट विजेताहरूलाई झोला, शैक्षिक सामग्री तथा प्रमाणपत्र प्रदान गरिएको छ भने सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र र यातायात भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गणेश न्यौपानेले बताए ।
पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले आत्महत्याजस्तो जटिल समस्या रोक्न विद्यालय र समुदायको भूमिका निर्णायक हुने बताए । मानसिक तनाव वा समस्या पर्दा निराश भएर गलत बाटो रोज्नु समाधान नभएको भन्दै उनले विद्यार्थीले आफ्ना पिरमर्का परिवार, शिक्षक वा साथीभाइसँग खुलेर राख्न सक्ने सुरक्षित र सहयोगी वातावरण निर्माण गर्न सबै लाग्नुपर्ने बताए ।
किशोरावस्थामा देखिने विभिन्न किसिमका व्यक्तिगत र सामाजिक चुनौतीहरूलाई विद्यार्थीले सहजै सामना गर्न सकून् र कठिन परिस्थितिमा पनि आशावादी बनून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
किशोरावस्थामा हुर्किँदै गरेका बालबालिकालाई विद्यालय तहबाटै मानसिक स्वास्थ्य, समस्या समाधानको सीप र एक अर्कालाई सहयोग गर्ने संस्कार सिकाउन सके जोखिममा रहेका धेरै जीवन बचाउन सकिने अपेक्षा स्थानीय तह र सरोकारवालाहरूको छ ।