© 2026
गायन र नृत्य संस्कृति प्राचीन कालदेखिनै रहेको पाइन्छ । गन्दर्भहरू गाउने पेशा भएका ब्यवसायी हुन् भने, नर्तकीहरू नृत्य कार्यक्रममा सकृय सहभागिता देखाउने महिला हुन् ।
गन्दर्भहरू शब्द चयन, स्वर साधना गरिरहन्थे, जस्ले गर्दा राम्रो गाउन सक्ने बन्थे । शब्द र भाव अनुसारको भाका खोज्थे । माया मोह, रोदन, क्रोध, जोस, वियोगान्त, संयोगान्त, शुभसाईत तथा भगवान भक्ती, जन्मका बेला, विदाइका बेला इत्यादि सबै प्रकारको अवस्थाका लागि मिल्ने संगीत बनाउथे । त्यसै अनुसार गाउथे ।
जसले गर्दा गीतहरू सशक्त र जीवन्त हुन्थे । त्यसैगरी बच्चाहरूलाई निदाउनका लागि लोरी र शुभकार्यमा मंगल गान (मावल) गाउने चलन ऐले पनि छँदैछ । बच्चाहरू जन्मेको छैठौँ दिनको छैंठी उत्सवमा गाइने छैंठी गीत हुन्छ भने ब्रतबन्धमा गाइने मंगल गान सारगर्भित र भावुक हुन्छ । त्यसैगरी विवाहमा अवस्था अनुसारको फरक–फरक भावका गीत गाउने चलन रहेको पाइन्छ ।
जस्तै जन्ती हिड्ने बेलामा एक प्रकारको गाइन्छ भने सबै जन्ती हिँडिसकेपछि महिलाहरूद्वारा रत्यौली गाइन्छ । त्यसैगरी दुलाहा र जन्तीलाई स्वागत गर्दा भिन्दै गीत गाउने चलन रहेको छ । त्यसैगरी धार्मिक र सांस्कृतिक पर्वहरूमा पनि फरक फरक भावका गीत गाउने चलन रहेको छ । यि गीतहरू हाम्रा सांस्कृतिक सम्पदा हुन् । हामीले आफ्नो सांस्कृतिक सम्पदाको रक्षा गर्नुपर्छ ।
त्यसैगरी हाम्रा पर्व विशेषमा पनि फरक–फरक प्रकृतिका गीत गाउने हाम्रो मौलिक परम्परा छ । रक्षा बन्धन (राखी) का बेला हाम्रो तराई क्षेत्रमा राखी सम्बन्धी गीत गाउने चलन पाइन्छ । राखी गीतमा दिदी–बहिनीले दाजुभाई र दाजुभाइले दिदीबहिनी प्रतिको माया–ममता दर्शाउने खालको गीत सुन्न पाइन्छ । रक्षा बन्धनको आस–पासमा लाखे नाचको माहोल देखिन्छ ।
लाखे नाच विशेषगरी नेवार समुदायहरूमा देखिन्छ । आज–भोलि भने अरू समुदायमा पनि देख्न सकिन्छ । लाखे नृत्यमा महाभारत अन्तर्गत कृष्ण चरित्रमा आधारित देव र दानव भनिने कृष्ण पक्षधर र कंस पक्षधरको लडाइँलाई आधार बनाएर झांकी सहितको नृत्य गरिन्छ । लाखे नाचको अन्त्यमा पूतना लगायत कंसहरूको हारसंगै नाचको अन्त्य हुन्छ ।
कृष्णाष्टमीको आसपासमा देखाइने लाखे नाच पछि तीज पर्व आउँछ । तीजमा भगवान कृष्ण, शिव, सप्तऋषि र अरू देवताहरूको पूजा आराधनाका साथै त्यसै सम्बन्धी गीत गाउने चलन रहेको छ । तीजमा चेली–बेटीहरूले माइतीघर, आफ्नो बालादिनको स्मरण, घरमा हुने बुहारी र महिलाहरूका सुख–दुःख बारेका गीत गाउने र सुनाउने परम्परा रहिआएको छ ।
आजभोली तीज गीतमा समसामयिक विषयमा पनि गीत गाउने गरिन्छ । जस्तै ‘कहाँमा जान्छौ रानी चरी बगाल बरिलै भगवानलाई भेट न। भगवानलाइ भेटन के के पाहुर चाहिन्छ, बरिलै त्यति मलाई भनिदेउन ।’ त्यसैगरी माइतीघरको सम्झना गर्दै चेलीले माइती सम्झँदै ‘ए.. आमा हो..रूंदै रूंदै गयो मेरो भाई त, नभने कहीले चेली आइन माइत ।’ त्यसैगरी व्यवस्था र समाज सुधारको लागि, अग्रगामी सोंच लिएर नारीहरू गाउँछन– हाम्रा राजालाई केहिको थाहा छैन, अंग्रेजी राजाले पानी मुनी रेल कुँदायो ।
नेपालको पुरानो परम्परामा सासु वा घरकाले बुहारी प्रति गरिएको अमानवीय व्यवहार, पक्षपात, हिंसा, चरम् यातना र अन्यायका कथालाई विषयवस्तु बनाएर गाएको पाइन्छ । चरम् हिंसा, विभेद र अत्याचार सहन नसकेर नारीहरूले आत्महत्या समेत गरेका धेरै उदाहरणहरू छन् । सासु–ससुराले समान उमेरका छोरी र बुहारीलाई उत्तरी र दक्षिणी ध्रुव भएजस्तै फरक गर्थे ।
छोरीलाई गहिरो माया र बुहारीलाई घोर अत्याचार गर्थे । खान, लाउन, आराम गर्न, औषधि उपचार गर्ने कुरामा निकै कठोर थिए । लगातार १६÷१७ घण्टा कठोर काममा लगाउने, खान लाउन नदिने र पिट्ने सम्म गर्थे । तराईका केही गाउँमा दाइजो कम ल्याएको निउँमा मट्टितेल, पेट्रोल खन्याएर आगो लगाएर मार्नेसम्मको अन्याय गरेको पाइन्छ ।
तीज गीतमा नारीहरूले यिनै कुरालाई विषयवस्तु बनाएर गीत गाएको पाइन्छ । नेपालको महान चाड दशैंका बारेमा पनि धेरै गीत बनेका र बजेका छन् । जस्तै– दशैं आयो घर फर्क पर्देशी ।) दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला इत्यादि।) । विछोडको पिंडा नसकि खप्न दशैंको बेलामा।, तिमिलाई भेट्न आउँदै फर्की रमाइलो गावैंमा ।)
त्यसैगरी तिहारमा देउसी भैलोका सयौं गीत छन । मगर र गुरुङ समुदायबाट पनि सोरठी मारुनी गीत र नाचगान तिहार पर्वमा प्रस्तुत गर्ने परम्परा रहेको छ । जस्तै –नरमाइलो राजै नरमाइलो, वनीवास जानलाई नरमाइलो । भरतलाई राजपाट, कैकेयीको आस, हो.. हो.. नरोउ नरोउ आमा रामको भयो बनिबास।) । त्यसैगरी बहिनीहरू भन्छन– हे .. यमराज तेलको घेरा र मखमली फूलको माला नसुक्दा सम्म मेरा दाइलाई नलैजाउ, जस्ता मार्मिक गीत गाउने चलन रहेको छ ।
यसरी नै छठ पर्वमा तराईबासीहरू छठी माताको भक्ती गानमा झुम्मिएको पाइन्छ । त्यसपछि माघको सक्रान्ति देखिनै विशेषगरि थारू समुदायमा माघीको गीत र संस्कृतिमा नाच–गान गरेको देखिन्छ । जब फागु पूर्णिमा होली शुरू हुन्छ, तब तराई पहाड देशैभरी फागु गीत (होली गान) निकै रमाइलो संग चलेको देखिन्छ । फागु गीत फरक–फरक ठाउँमा फरक–फरक ढंगले आफ्नो–आफ्नो भाषामा गाएको पाइन्छ ।
फागुमा असुर राजा हिरण्य कसिपु र उनका छोरा प्रल्हाद तथा छोरी होलीका बारेमा धेरै गीत बनेका र बजेका छन् । यसरी चाडपर्वलाई आधार बनाएर हाम्रो देश नेपालमा धेरै गीतहरू बजाइन्छन् र पाइन्छन् ।
त्यसैगरी काम विशेषमा पनि फरकफरक प्रकारका गीत गाउने चलन रहेको छ । खेत–बारी जोत्दा, जनकवि केसरी धर्मराज थापाले गायका थिए । जस्तै– हो हो तारे हो हो, हो हो माले हो हो, हरियो डाँडा माथि हलो जोत्ने साथी, हो हो तारे हो हो, हो हो माले हो हो, डल्ला फर्काइ फर्काइ, ढाड मर्काइ मर्काइ । इत्यादि । त्यसैगरी खेत रोप्दा वाली, असारे गीत गाउने गरिन्छ ।
जस्तै– लौ छिटो गर लाटिकि आवइ घाम छँदै घर जाम्, अहै घाम छँदै घर जाँम् । घाम छँदै जान यत्तिकै भयो, जुन छदै घर जाँम्, अहै जुन छँदै घर जाँम् । त्यसैगरी धान काट्दा जस्तै– धन काट्दा, हात काटेर रक्त मन फाटेर बिरक्त । त्यसैगरी उँखु पेल्दा गाइने गीत जस्तै – हो हो सररर बेसि गोठैमा, फुर्के नाम्लो खुर्पेटो, सालको पात लाली ओठैमा, हो.. बिर्सियौ कि नानीले, बाला दिनमा खेलेको, सरर सरर कोल घुमाइ उखु पेलेको ।
त्यस्तै उमेर विशेषमा पनि नेपाली संस्कृतिमा गीत गाउने चलन रहिआएको छ । जस्तै– बच्चाहरूलाई निदाउन हाल्न लोरि गाउने गरिन्छ भने पाका उमेर समूहका ले रामायण र महाभारतका श्लोकहरू वाचन गर्ने गरिन्छ ।
गीत र नृत्य प्रतियोगितामा कसरी मूल्यांकन गर्ने ?
विद्यालय र विभिन्न संघसस्थाको आयोजनामा ठाउँ–ठाउँमा नृत्य प्रतियोगिता भैरहन्छन् । तीजको आसपासमा अझ धेरै प्रतियोगिता देख्न पाईन्छ । त्यस्ता प्रतियोगिताहरूमा सबै ठाउँमा दक्ष र तालिम प्राप्त मूल्यांकनकर्ता पाउन सकिन्न । त्यस्तो बेलामा कसरी मूल्यांकन गर्ने भन्ने बारेमा आफुले पाएको अनुभव, संक्षेपमा राख्न गईरहेको छु । जुनसुकै विषयको होस् ।
मूल्याङ्कन गर्नु गम्भीर विषय हो । नृत्य प्रतियोगितामा ५÷६ मिनेटको कार्यक्रम हेरेर, धेरैजनाको कलाकारिताको स्तर तुलना गर्न, राम्रै सचेतना चाहिन्छ । त्यसमा पनि गीतका शब्द, संगीत, स्वर, नृत्य कला, भेषभुषा, सुर–ताल सबैको एकैचोटि मूल्यांकन गरेर भ्याउनु पर्ने बोझिलो बिषय हो । धेरै प्रतियोगिहरूबाट उस्तै–उस्तै क्षमताको प्रस्तुति आयो भने त; प्रथम, दोस्रा, तेस्स्रा छान्न अझै कठिन पर्नेछ । त्यसैले मूल्यांकन गर्न एउटा सुत्र बनाउन पर्छ ।
साथै क्राईट एरिया तोकिएको हुनुपर्छ । क्राईट एरियाको अभावमा, कतै–कतै अवैज्ञानिक र नमिल्दा प्रसंग देखिन्छन् । जस्तै– नाच्नेक्रममा ‘स्वास्थ्यको निम्ति फलफूल खाउँ’ भन्ने गीतको हाउभाउ गर्दा, झोलामा फलफूल लैजाने र भूईको झोलाबाट फलफुल झिकेर खान थालेको देखिन्छ । त्यतिबेला गीत अगाडि पुगिसकेको हुन्छ । नृत्यको सुर–ताल भङ्ग भईसकेको हुन्छ । अर्कोकुरा झोला टिप्नु, फलफूल झिक्नु, खानु, यी कुरा नाच जस्तो हुदैन र भद्दा देखिन्छ । सुरताल छुट्छ । त्यसैले शब्दको भाव, नाच (अभिनय) भित्रबाटै देखाउँदा राम्रो हुन्छ ।
गीत गाउने, बजाउने, नाच्ने, सबै कलाकारले सम्पूर्ण तयारी बाहिरै पूरा गर्नुपर्छ । कहिँकतै बजाउनेहरूले मञ्चमा पुगेपछि मादलको तना कस्ने, सारंगीमा खोटो दल्ने, त्यसैगरी गीत गाउनेले सातपत्र पट्याएको गीतको कागज खोल्ने गरेको देखिन्छ । हजारौं दर्शकलाई पर्खाएर यस्तो कार्य गर्नु समयमा भ्रष्टाचार गर्नु जस्तै हो । कलाकारिताको तौल घटाउनु हो ।
अर्को कुरा गीतको शिर्षक ‘नारी अधिकार’ दिईरहेको ठाउँमा तोकिएको शिर्षक बाहेक, बाहिरी कुरा राख्नै हुन्न । हाम्रो चलनचल्तीमा, गीतको शुरूमा तोकिएको विषयबस्तु छाडेर गीतमै ‘सर्बप्रथम गर्छु मैले अतिथिलाई नमस्कार, आयोजकहरूलाई, भन्दै धन्यवाद भन्ने र अन्त्यमा ‘आकासमा देखें मैले एउटा तारा अगस्ते, यो गीतको अन्त्य भयो, हस्त नमस्ते’ भन्ने जस्ता बेप्रसङ्गका कुरा राख्नु, राम्रो होइन । अझ त्यसले गीतको गरिमा घटाउँछ ।
मूल्याङ्कन १०० पूर्णाङ्कमा गर्दा सजिलो पर्नुका साथै, प्रतियोगिहरूलाई बढी न्याय हुन्छ । १० समूह प्रतियोगी भएको ठाउँमा पूर्णाअंक पनि १० हुँदा, कुनै समूहले ३ नम्बर पायो । लगतै आएको अर्को समुहले, त्यो भन्दा डबल राम्रो गर्यो । ६ नम्बर दिन पर्यो । यही क्रमले तेस्रो, चौथो पाँचौं समूहले पनि, झन्झन् डबल राम्रो गर्दै गए भने, नम्बर दिनेठाउँ पुग्दैन ।
डबल राम्रोलाई नम्बर पनि डबल नदिए अन्याय हुन्छ । त्यसैले पूर्णाङ्क धेरै राख्दा राम्रो । यस्ता कार्यक्रमहरूको मूल्याङ्कन, स्कुल क्याम्पसको परिक्षाको जस्तो हुदैन । कपि जाँच्ने, पास भए कक्षा चढ्ने । फेल भए, उहि कक्षा दोहो¥याउने हुदैन । यस्तोमा जतिसुकै राम्रो भएपनि, जतिसुकै धेरै समूह भएपनि प्रथम, द्वितीय, तृतीय र सान्त्वना मात्र छुट्टयाउने हो ।
त्यसैगरी जतिसुकै नराम्रो नाचे पनि चारजना पुरस्कृत नगरी हुदैन । यस्तो परिक्षणमा प्रतियोगिहरूको दक्षताको आधारमा क्रममात्र छुट्टयाउने हो । मूल्यांकनको एउटा सुत्र अंक विभाजन पनि हो । जस्तै– गीतको शब्दमा–२५ । स्वर मिठासमा–२५ । नृत्य कलामा ४०।, भेष–भुषामा–१०। = १००। कहिंकहिं भेष–भुषामा धेरै नम्बर राखेको देखिन्छ । त्यसो गर्नु गलत हो । लुगा गहना कला होइन । लुगा गहना किन्न सकिन्छ । कलाकारिता ठूलो मेहनतबाट सिक्ने कुरा हो ।
लुगा गहना दशौं लाख छन् । त्यसको तुलनामा सिपालु कलाकार ज्यादै कम छैन् । जान्नेमान्छे गञ्जि र लुङ्गि लगाएर नाचे पनि राम्रो देखिन्छ । नजान्ने मान्छे राम्रो कपडा लगाएर नाच्दैमा, नाच राम्रो हुने होइन । कलालाई भन्दा पोशाकलाई महत्त्व दिन थालियो भने मान्छेहरू, गाउने नाच्ने साधना छाडेर महँगा कपडा किन्नतर्फ मात्र लाग्छन् । कलाकारिताको विकास रोकिन्छ । त्यसो हुन दिनु हुँदैन ।
मूल्याङ्कनकर्ताले, पहिलो नृत्य हेरिसकेपछि, त्यस समूहलाई सबैभन्दा राम्रो ठान्दै ४० देखि ५० नम्बर दिंदा सजिलो पर्नेछ । त्यसपछिको दोस्रो नृत्यलाई पहिलो संग दाँजौं । अझै राम्रो वा अझै नराम्रो जस्तो छ । त्यै आधारमा बढाएर अथवा घटाएर नम्बर दिउँ । त्यसपछि आउने अरू आईटममा पनि त्यसैगरी नम्बर दिदै जाउँ ।
एकल नृत्य भन्दा, समुह नृत्य कठिन कला भएकाले त्यसै अनुसार महत्व दिनुपर्छ । प्रतियोगितामा १५ भन्दा धेरै समूह भएमा कार्यक्रम सकिन धेरै समय लाग्छ । यस्तो अबस्थामा शुरूका आईटमको स्तर, स्वयम मूल्याङ्कनकर्ताले समेत भुल्न सकिन्छ । जसलेगर्दा तुलना गर्ने र नम्बर दिने काम, निष्पक्ष भन्दा बाहिर हुनसक्छ । त्यस्तो अबस्थामा नयाँ शुत्र लाउनुपर्छ ।
सुरूका आईटम मध्ये सबैभन्दा राम्रा क्रमशः सातवटालाई विशेष ध्यानमा राखौं । अब नम्बर दिईसकेकाहरूबाट क्रमशः उत्कृष्ट ७ वटालाई, अरूलाई भन्दा विशेष निगरानी गरौं । सातवटा बाहेकलाई थोरैमात्र ध्यान दिए पुग्छ । त्यसैगरी छानिएका उत्कृष्ट ७ वटा र अब आउने मध्यबाट, निकै चनाखो हुदै उत्कृष्ट ४ वटाको छनोट गरिरहुँ ।
जसरी म्याराथुन दौडको शुरुमा सबैलाई बराबर ध्यानमा राखिन्छ । दौड अगाडि बढ्दै जाँदा, पछि परेकाहरूलाई त्यति ध्यान दिन आबश्यक नभए जस्तै, नृत्य प्रतियोगितामा पनि अगाडिका उत्कृष्ट ७ वटा समूहलाई सारै ध्यान पु¥याएर हेर्नुपर्छ । पछि परेकालाई छोड्दै जाने हो । मूल्याङ्कनकर्ताले ८÷१० प्रतिशत आईटम बाँकी हुँदा देखिनै उत्कृष्ट ४ समूहको फाईनल रूप दिन सम्पूर्ण दिमागी शक्ति लगाउनु पर्छ । सबै समूहको प्रस्तुति सकिएपछि उत्कृष्ट ४ समूहलाई अन्तिम बिचार गर्दै टुङ्गोमा पुग्नुपर्छ । हामीले गरेको मूल्यांकन सर्वमान्य होस् भन्ने सम्झनुपर्छ ।