© २०२३
कपिलवस्तु, २० माघ ।
अवैध भारतीय मुद्रासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ एएम०४५९ नम्बरको भारतीय कारमा अवैध भारतीय मुद्रा ओसारपसार भैरहेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा कारमा सवार तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका–१ इमिलिया बस्ने गाडी चालक २८ वर्षीय हमिद मुसलमान, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा र सोही कारमा सवार २६ वर्षीय राकेशकुमार बर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर २ जमुवारपुलस्थित भैरहवा–तौलिहवा हुलाकी सडक खण्डमा भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको निलो रंगको उक्त भारतीय कारमा चेकजाँच गर्दा प्रहरीले अवैध भारतीय मुद्रा फेला पारेको हो ।
उक्त कारभित्र सिटमुनी ३ ठाउँमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा अवैध भारतीय मुद्रा रु ५०० दरको नोट ४ हजार थान गरी कुल २० लाख र सोही कारमा सवार राकेश कुमार बर्माको साथबाट ५०० दरको नोट २०७ वटा तथा १०० दरको ३६ वटा गरी जम्मा भारु १ लाख ७ हजार १०० रुपियाँ गरी जम्मा २१ लाख ७ हजार १०० रुपियाँ बरामद गरेको प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिइन् ।प्रहरीले बरामद रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाएको छ ।