Butwal Today

संरक्षणविहीन बढैयाताल, माछा मार्नेको भीड मात्र

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

बर्दिया । बर्दियाको बढैयातालमा पछिल्लो समय माछा मार्नेहरूको घुइँचो लाग्न थालेको छ । बढैयाताल गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको बढैयाताल संरक्षण र व्यवस्थापनको अभावमा माछा मार्ने खुला थलो बन्दै गएको हो ।

तालको संरक्षण, प्रवर्द्धन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको भए पनि बढैयाताल गाउँपालिकाले प्रभावकारी कदम चाल्न नसकेको स्थानीयको आरोप छ ।

तालमा दैनिकजसो बल्छी लिएर माछा मार्नेहरूको भीड लाग्ने गरेको छ । बाहिरबाट समेत मानिसहरू माछा मार्न आउने गरेका छन् । तर तालको संरक्षण तथा आम्दानीको स्रोतका रूपमा विकास गर्ने विषयमा पालिका उदासीन देखिएको स्थानीयको गुनासो छ ।

करिब १ सय ९ बिघा क्षेत्रफलमा फैलिएको बढैयाताल पश्चिम नेपालको महत्त्वपूर्ण प्राकृतिक तथा पर्यटकीय सम्पदाका रूपमा परिचित छ । तालमा विभिन्न प्रजातिका माछा, जलचर तथा चराचुरुङ्गी पाइन्छन् । प्राकृतिक सौन्दर्यका कारण पर्यटक आकर्षित गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि आवश्यक संरक्षण, पूर्वाधार र व्यवस्थापन नहुँदा तालले अपेक्षित लाभ दिन नसकेको स्थानीय बताउँछन् ।
ताल खुला भएपछि जोसुकै व्यक्ति बल्छी लिएर माछा मार्न पुग्ने गरेका छन् । बिहानैदेखि तालको किनारमा बल्छी लिएर बसेका मानिसहरू देखिन्छन् । माछा मार्नेहरूको बढ्दो भीडले तालको जैविक विविधतामाथि समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

खजुरा गाउँपालिकाबाट आएर माछा मारिरहेका हुस्सेन खानले तालमा माछा मार्न रोक तोक नभएकाले आफूहरू आउने गरेको बताए । “यहाँ माछा मार्न कसैले रोक्दैन । खाली समय भयो भने बल्छी लिएर आउँछौँ । माछा पनि राम्रै पाइन्छ,” खानले भने ।

त्यस्तै अर्का माछा मार्ने अक्टार खानले ताल व्यवस्थित रूपमा संरक्षण गर्न सके स्थानीय सरकारकै आम्दानीको स्रोत बन्न सक्ने बताए । उनका अनुसार ताललाई निश्चित नियम बनाएर व्यवस्थापन गर्ने हो भने माछा मार्ने गतिविधिबाट समेत पालिकाले राजस्व उठाउन सक्छ ।

“ताल यति ठुलो छ । यहाँ माछा मार्न आउनेको सङ्ख्या पनि धेरै छ । पालिकाले नियम बनाएर शुल्क उठाउने र तालको संरक्षण गर्ने हो भने आम्दानी पनि हुन्छ र तालको व्यवस्थापन पनि गर्न सकिन्छ,” उनले भने ।

बढैयाताल गाउँपालिका–५ का छोटे पठानले भने तालको अवस्था हेर्दा आफूहरूलाई दुःख लाग्ने गरेको बताए । उनका अनुसार ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने कुरा पटक–पटक उठे पनि व्यवहारमा प्रभावकारी काम हुन सकेको छैन । “बढैयातालको नामबाटै गाउँपालिकाको नाम राखिएको छ । तर यही तालको अवस्था यस्तो छ । माछा मार्नेहरू दिनहुँ आउँछन्, पालिकाले संरक्षण गर्न सकेको छैन,” पठानले भने ।

स्थानीयका गोविन्द प्रसाद थारुका अनुसार बढैयातालमा व्यवस्थित रूपमा माछा पालन, पर्यटन विकास तथा प्राकृतिक संरक्षण गर्न सके यसबाट वार्षिक करोडौँ रुपैयाँसम्म आम्दानी गर्न सकिने सम्भावना छ । तर तालको गुरुयोजना, संरक्षण क्षेत्र, माछा व्यवस्थापन, प्रवेश शुल्क, पर्यटकका लागि आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थालगायतका विषयमा ठोस काम हुन नसकेको उनको भनाइ छ ।
तालको संरक्षण नगरी माछा मार्ने गतिविधि खुला छाड्दा तालको प्राकृतिक प्रणालीमा समेत असर पर्न सक्ने जानकारहरू बताउँछन् । विशेष गरी प्रजननको समयमा माछा मार्ने गतिविधिलाई नियन्त्रण गर्नुपर्ने भए पनि त्यसतर्फ सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको आरोप छ ।

बढैयातालको संरक्षणका लागि स्थानीय सरकारले विभिन्न योजना र कार्यक्रम बनाउने गरेको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको गुनासो छ । तालको दीर्घकालीन संरक्षणसँगै पर्यटन विकासका लागि विस्तृत योजना आवश्यक भए पनि तत्कालीन रूपमा तालमा भइरहेको अनियन्त्रित गतिविधि रोक्नुपर्ने स्थानीयको माग छ ।

एकातिर तालमा माछा मार्नेहरूको घुइँचो लागिरहेको छ भने अर्कोतिर तालको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको स्थानीय सरकार भने मुकदर्शक बनेको आरोप लाग्दै आएको छ । तालको संरक्षण गर्न नसक्दा प्राकृतिक सम्पदा क्रमशः दोहनको केन्द्र बन्दै गएको स्थानीय भोला थारु बताउँछन् ।

अर्को तिर पालिकाले ठेक्का लगाउने तयारी भइरहेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । आर्थिक बर्ष २०८३/८४ को गाउँ सभाबाट ठेक्का लगाउने प्रक्रिया पारित भैसकेको उनले बताए । तर ठेक्का लगाउने कुरा गरे पनि उनले संरक्षण र विकास गर्ने योजनाको कुरा गरेनन् ।

बढैयाताललाई केवल माछा मार्ने स्थानका रूपमा नभई पर्यटकीय तथा आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्नुपर्ने उनीहरूको माग छ । तालको वैज्ञानिक अध्ययन गरी माछा तथा जलचरको संरक्षण, नियमनसहितको माछा मार्ने व्यवस्था, पर्यटकमैत्री पूर्वाधार निर्माण र नियमित अनुगमन गर्न सके बढैयाताल स्थानीय सरकारको दिगो आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ ।

तर त्यसका लागि पालिकाले कागजी योजना मात्र होइन, तालको संरक्षण र व्यवस्थापनमा तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । प्राकृतिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पाएको स्थानीय सरकार आफैँले तालको अवस्था बेवास्ता गर्दै जाने हो भने बढैयातालको पर्यटकीय सम्भावना कागजमै सीमित हुने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?