© 2026
पाल्पा । भाद्र कृष्ण प्रतिपदाका दिनदेखि पाल्पाको सदरमुकाम तानसेनमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गाईजात्रा सुरु भएको छ ।
काठमाडौँ बाहिर नेवार समुदायको उल्लेख्य बसोबास तथा बाहुल्यता रहेको पाल्पाको तानसेनमा नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको गाईजात्रा भाद्र कृष्ण प्रतिपदाका दिन निकालिएको हो ।
नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा भाद्र कृष्ण प्रतिपदाका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर बजार परिक्रमा गराउने र सहभागीलाई दूध, फलफूल तथा मिठाई दान गर्ने परम्परा रहेको छ ।
यसरी नगर परिक्रमा गराउँदा दिवङ्गत व्यक्तिले गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्ने धार्मिक जनविश्वास रहेको छ ।
मल्लकालीन समयदेखि गाईजात्रा निकाल्ने परम्परा रहँदै आएको भए पनि यसलाई मनोरञ्जनसँग पनि जोडेर मनाउने गरिन्छ । स्थानीय हेमन्त शाक्यका अनुसार गाईजात्रासँग यमलोक र मृतात्मासम्बन्धी धार्मिक विश्वाससमेत जोडिएको छ ।
“वर्षभरि यमलोकको ढोका बन्द हुन्छ । मृतात्माहरू ढोकाबाहिर रहने र वर्षमा एक दिन गाईजात्राका दिन मात्र यमलोकको ढोका खुल्ने जनविश्वास छ,” शाक्यले बताए ।
उनका अनुसार मृतकका नाममा सक्कली तथा नक्कली गाई बनाएर, वास्सा, जोगी, ताहामचा लगायतका सामग्रीसहित बजार परिक्रमा गरेपछि मृतात्माले यमलोकमा प्रवेश पाउने र मुक्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।
परम्परागत रूपमा नेवार समुदायले मनाउँदै आएको यो सांस्कृतिक पर्व पछिल्लो समय अन्य समुदायले पनि मनाउन थालेका छन् । यद्यपि, गाईजात्राप्रतिको आकर्षण भने क्रमशः घट्दै गएको स्थानीय बताउँछन् । पर्व औपचारिकतामा मात्र सीमित हुँदै गएको उनीहरूको भनाइ छ ।