Butwal Today

कोशीका प्रदेश प्रमुख सहितको टोली कपिलवस्तुमा          

११ भाद्र २०८३, बिहीबार
अ+
अ-

कपिलवस्तु । कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग र प्रदेश प्रमुख कार्यालयका सचिव राजेश्वर ज्ञवाली सहितको टोलीले कपिलवस्तुको विभिन्न पुरातात्त्विक महत्वका पर्यटनस्थलहरुको भ्रमण गरेको छ ।

टोलीलाई कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले कार्यकक्षमा स्वागत एवम् सम्मान गरेका थिए । उनले कोसी प्रदेश प्रमुख खापुङ्ग नेतृत्वको टोलीलाई कपिलवस्तु नगरपालिका भित्रको पर्यटकीय क्षेत्र समेटेर प्रकाशित गरिएको सन्दर्भ सामाग्री सहित प्राचीन, पुरातात्त्विक र पर्यटकियस्थलको झल्को दिने तस्बिर भएको मायाको चिनो र बुद्धमुर्ति हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख पौडेल सँगै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक मनोहर भट्ट, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार श्री वास्तव लगायतले टोलीलाई स्वागत तथा सम्मान गरेका थिए । कपिलवस्तु नगरपालिकामा स्वागत सम्मान पछि कोसी प्रदेश प्रमुख खापुङ्ग नेतृत्वको टोलीले कपिलवस्तु नगरपालिका क्षेत्रका विभिन्न स्थलमा भ्रमण गरेको थियो ।

सिद्धार्थ गौतमले युवा अवस्था सम्म २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु तिलौराकोट दरबार, कपिलवस्तु सङ्ग्रहालय तथा स्मारक संरक्षण कार्यालय तिलौराकोट, कनकमुनी बुद्धको जन्मथलो निग्लिहवामा रहेको अशोकस्तम्भ, सिमसार क्षेत्रमा सूचीकृत रहेको जगदीशपुर ताल लगायतको अवलोकन गरेका थिए । सो अवसरमा कोसी प्रदेश प्रमुख खापुङ्गले बुद्धको जीवनी र बाल्यकाल जोडिएको स्थलमा आउँदा शान्ति र आनन्दको अनुभूति भएको बताए ।

कपिलवस्तुका पुरातात्विकस्थलको संरक्षण, सम्बद्र्धन र यथोचित विकासका लागी सरकार समक्ष आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता जनाए । कोसी प्रदेश प्रमुखको टोलीको भ्रमणले कपिलवस्तुको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा टेवा पुग्ने आशा लिएको नगर प्रमुख सुदिप पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?