© 2026
तम्घास (गुल्मी) । जनप्रतिनिधिले नागरिकका दैनिक समस्या सुन्ने र स्थानीय सरकारका सेवा प्रवाह गर्ने मात्रै होइन, स्वास्थ्य जाँचसमेत गर्न थालेपछि गुल्मीको काली गण्डकी गाउँपालिका–२ अर्वेणीका स्थानीयले थप सेवा पाउन थालेका छन् ।
वडा अध्यक्ष रेसमराज न्यौपानेले वडा कार्यालयको नियमित कामसँगै टोल टोलमा पुगेर नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएका हुन् । २०६४ सालमा अहेव उत्तीर्ण गरेका वडा अध्यक्ष न्यौपानेले आफूले हासिल गरेको स्वास्थ्यसम्बन्धी ज्ञान र सीपलाई जनताको सेवामा प्रयोग गर्दै आएका छन् ।
वडा कार्यालयमा सेवा लिन आउने नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यकता र समयअनुसार टोल तथा बस्तीमा पुगेर ज्येष्ठ नागरिक, शिक्षक तथा स्थानीयको स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्यसम्बन्धी आवश्यक सल्लाह दिने गरेका छन् ।
वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिन पुगेकी ७५ वर्षीया गोमता न्यौपानेले सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य जाँचसमेत गर्न पाउँदा खुसी लागेको बताइन् । जनप्रतिनिधि भएपछि राजनीति र प्रशासनिक काममा मात्रै सीमित हुने गरेको आफूले देखे पनि अर्वेणीमा भने वडा अध्यक्षले स्वास्थ्य सेवासमेत दिँदा नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।
“वडा अध्यक्षले राजनीति मात्रै गर्ने होइन रहेछ भन्ने महसुस भएको छ । भत्ता लिन आउँदा स्वास्थ्य पनि जाँच गर्न पाइयो,” उनले भनिन् ।
सोही स्थानकी ७३ वर्षीया सीता न्यौपानेले पनि वडा कार्यालयबाटै स्वास्थ्य जाँचको सुविधा पाउँदा सहज भएको बताइन् । स्थानीय सरकारका अन्य सेवा लिन आउने क्रममा स्वास्थ्यसम्बन्धी समस्या भएमा सामान्य जाँच र आवश्यक परामर्शसमेत पाउँदा जनप्रतिनिधि नागरिककै साथमा रहेको अनुभूति भएको उनले बताइन् ।
वडा अध्यक्ष न्यौपानेले अर्वेणीको माथिल्लो बस्तीमा रहेको दमौखानी माध्यमिक विद्यालयमा पुगेर शिक्षक तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसमेत गरेका छन् । विद्यालयको पठनपाठन तथा अन्य गतिविधिबारे जानकारी लिन पुगेका उनले विद्यालयको अनुगमनसँगै शिक्षक र स्थानीय ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासमेत बुझेका हुन् ।
विद्यालयका प्रधानाध्यापक यमबहादुर सिंजालीले वडा अध्यक्षले विद्यालयमै आएर स्वास्थ्य जाँच गर्नु सकारात्मक र उदाहरणीय काम भएको बताए । विद्यालयको नियमित अनुगमनसँगै स्वास्थ्य जाँच र अन्य रचनात्मक कार्यक्रम लिएर जनप्रतिनिधि आउँदा विद्यालय तथा समुदायलाई थप सहयोग पुगेको उनको भनाइ छ ।
वडा अध्यक्ष न्यौपानेका अनुसार ज्येष्ठ नागरिकसँग भेटघाट गर्ने क्रममा उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने र आफूले जानेको विषयमा आवश्यक सल्लाह तथा सुझाव दिने गरेका छन् । स्वास्थ्य जाँचका क्रममा देखिएका समस्याका आधारमा स्थानीयको स्वास्थ्य अवस्था र आवश्यकताबारे जानकारीसमेत प्राप्त हुने गरेको उनले बताए ।
“ज्येष्ठ नागरिकसँग भेटघाट गर्दा उहाँहरूको स्वास्थ्य अवस्थाबारे पनि बुझ्ने गरेको छु । आफूले जानेको सीपबाट सेवा गर्न पाउँदा एकातिर जिम्मेवारी बोध हुन्छ भने अर्कोतिर वडामा स्वास्थ्यसम्बन्धी कस्ता कार्यक्रम आवश्यक छन् भन्ने जानकारी पनि प्राप्त हुन्छ,” उनले भने ।
उनका अनुसार अर्वेणीको तल्लो बस्तीका ज्येष्ठ नागरिकमा उच्च रक्तचापको समस्या तुलनात्मक रूपमा बढी देखिएको छ भने माथिल्लो बस्तीका नागरिकमा त्यस्तो समस्या कम देखिएको छ । बस्तीअनुसार नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिने भएकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि यसले सहयोग पुग्ने उनले बताए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो पेसागत ज्ञान र सीपलाई नागरिकको सेवामा प्रयोग गर्दा समुदायले प्रत्यक्ष लाभ लिन सक्ने उदाहरण अर्वेणीमा देखिएको छ । वडा कार्यालयबाट प्रशासनिक तथा सामाजिक सेवासँगै सामान्य स्वास्थ्य जाँच र परामर्शसमेत पाउन थालेपछि विशेष गरी ज्येष्ठ नागरिकका लागि सेवा लिन सहज भएको स्थानीयको भनाइ छ ।