Butwal Today

सहर भरिँदै, गाउँ रित्तिँदै

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

पाल्पा । कुनै समय अत्यन्तै रमाइलो गाउँका रूपमा चिनिने हाल बगनासकाली गाउँपालिकामा पर्ने पोखराथोक अहिले सुनसान बन्दै गएको छ ।

सिद्धार्थ राजमार्गसँग जोडिएको र यातायातको सुविधा भएको पोखराथोकमा पञ्चायतकालमै खानेपानी र बिजुलीको सुविधा पुगेको थियो । तर, अहिले त्यही गाउँमा मलामीसमेत पाउन कठिन भएको स्थानीय कवि नेपाल बताउँछन् ।

सुख–सुविधा, रोजगारी र शिक्षाको अवसरको खोजीमा गाउँभन्दा सदरमुकाम तानसेन, बुटवल र काठमाडौँलगायतका सहरमा बढी अवसर पाइने भएकाले गाउँबाट सहर पस्ने क्रम बढेको उनी बताउँछन् ।

ग्रामीण बस्तीबाट अवसर र सम्भावनाको खोजीमा सहर पस्नेको भीड पोखराथोकमा मात्र होइन, गाउँका हरेक बस्तीमा देखिन थालेको छ । बस्ती छाड्नु रहर नभई बाध्यता भएको स्थानीय बताउँछन् ।

पञ्चायतकालीन समयमा नमुना गाउँका रूपमा परिचित मदन पोखराको ग्रामीण बस्ती हराभरा थियो । सबैका घरघरमा बाह्रै महिना फलफूल लटरम्म झुलेका हुन्थे । गाउँ रमाइलो गाउँका रूपमा परिचित मदनपोखरामा अहिले मलामी जाने युवासमेत नभएको स्थानीय पुराना शिक्षक तिलकराम श्रेष्ठ बताउँछन् ।

नमुना गाउँका रूपमा परिचित मदनपोखरा अहिले तानसेन नगरपालिकाभित्र पर्छ । तर, थातथलो छाड्ने समस्याले यस क्षेत्रलाई नराम्रोसँग गाँजेको छ । गाउँ सुनसान बन्दै गएका छन् ।

दुई दशक अघिसम्म सूचना तथा सञ्चारका साधनको सहज पहुँच थिएन । बस्तीमा पुग्न एक–दुई घण्टा पैदल हिँड्नुपर्थ्यो । गाउँमा खानेपानीको समस्या पनि उत्तिकै थियो । तर, त्यतिबेला बस्तीमा जनघनत्व भने बढी थियो । अहिले गाउँमा सबै किसिमका सुविधा पुगे पनि बस्ती उजाडिएको स्थानीय इन्द्रबहादुर पचभैया बताउँछन् ।

निस्दी गाउँपालिका–मित्यालका ७० वर्षीय तेजबहादुर सुनारी सरकारी सेवाबाट अवकाशप्राप्त हुन् । सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको समस्या र चन्दा आतंकका कारण गाउँ मात्र नभई जिल्ला नै छाडेर अरुणखोलामा गएर बसेको उनले बताए । पछिल्लो समय गाउँबाट अधिकांश परिवार रोजगारी र शिक्षाका लागि तराई झर्ने क्रम बढ्यो ।

पहिले गाउँमा विकासका पूर्वाधारको अभाव थियो । अहिले गाउँमा आवश्यक धेरैजसो सुविधा पुगे पनि गाउँबाट बाहिरिएका मानिस फर्किएनन् । त्यसका कारण गाउँमा जनघनत्व घट्दै गएको उनले बताए ।

सशस्त्र द्वन्द्वको अन्त्य भई मुलुकमा शान्ति स्थापना भएपछि निम्न वर्गमा समेत वैदेशिक रोजगारीको प्रभाव पर्न थाल्यो । त्यसपछि गाउँका बस्ती पातलिँदै जाने क्रम बढ्यो ।

त्यससँगै सामुदायिक वनको विस्तार हुँदै जाँदा गाउँमा वन्यजन्तुको सङ्ख्या पनि बढ्दै गयो । कृषि गरेर जीवन निर्वाह गर्दै आएका किसानलाई वन्यजन्तुले दुःख दिन थालेपछि कतिपय परिवार पुर्ख्यौली थातथलो छाड्न बाध्य भएको बगनासकाली गाउँपालिकाका पूर्वजनप्रतिनिधि गणेश बस्यालले बताए ।

जिल्ला तथ्याङ्क कार्यालयका अनुसार गत वर्ष बसाइसराइका क्रममा १ हजार १ सय ४ जना पाल्पा जिल्लामा भित्रिँदा ३ हजार ९४ जनाले जिल्ला छाडेका छन् । बसाइसराइको सबैभन्दा बढी असर तानसेन नगरपालिकामा परेको देखिन्छ । तानसेनमा ४ सय २ जना भित्रिँदा ५ सय १ जनाले नगर छाडेका छन् ।

पूर्व खोला गाउँपालिकामा २१ जना भित्रिँदा २ सय २५ जनाले गाउँ छाडेका छन् । रिब्दीकोट गाउँपालिकामा ४४ जना भित्रिँदा ३ सय ४० जनाले बसाइसराइ गरेका छन् ।

तथ्याङ्कअनुसार रैनादेवी छहरा गाउँपालिकामा ४८ जना भित्रिँदा ३ सय ९३ जनाले गाउँ छाडेका छन् । समग्र जिल्लामा १ हजार १ सय ४ जना भित्रिँदा ३ हजार ९४ जनाले जिल्ला छाडेका छन् । तर, बसाइसराइको प्रभाव रामपुर नगरपालिकामा भने फरक देखिएको छ । यहाँ बाहिरिनेभन्दा भित्रिनेको सङ्ख्या बढी छ । रामपुरमा २ सय ५० जना बाहिरिँदा ३ सय ३३ जना भित्रिएका छन् ।

पाल्पाबाट सबैभन्दा बढी रुपन्देहीमा बसाइसराइ हुने गरेको तथ्याङ्कले देखाउँछ । रुपन्देहीबाहेक पूर्वी नवलपरासी, कपिलवस्तु, चितवन र काठमाडौंमा समेत पाल्पाबाट बसाइसराइ हुने गरेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।

गाउँमा सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता आधारभूत सुविधा विस्तार भए पनि रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका लागि मानिस सहर तथा तराईतर्फ जाने क्रम रोकिएको छैन । यसले सुविधा थपिँदै जाँदा पनि गाउँ रित्तिँदै जाने विडम्बनालाई थप स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?