© 2026
पाल्पा । कालीगण्डकी नदीको सभ्यता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा ३४ किलोमिटर लामो पदमार्ग निर्माण थालेको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमण थापाका अनुसार कालीगण्डकी किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वका स्थललाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको हो । पदमार्गले रामपुर क्षेत्रका धार्मिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने उनले बताए ।
रामपुर–१ देखि वडा नम्बर १० सम्म कालीगण्डकी किनारलाई समेटेर निर्माण भइरहेको पदमार्गले नदी सभ्यता र त्यससँग जोडिएका धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणमा समेत योगदान पुग्ने स्थानीयको अपेक्षा छ ।
स्थानीयवासी नेत्र भट्टराईले कालीगण्डकीको सभ्यता र धार्मिक महत्वसँगै रामपुर उपत्यकाको पर्यटकीय सम्भावनालाई उजागर गर्न पदमार्ग उपयोगी हुने बताए । प्राकृतिक तथा धार्मिक सम्पदाले सम्पन्न भए पनि प्रचारप्रसारको कमीले रामपुरका धेरै क्षेत्र ओझेलमा परेको उनको भनाइ छ । “दामोदरकुण्डदेखि देवघाटसम्म रहेका धार्मिक क्षेत्रलाई जोडेर प्रचार गर्न सकिए कालीगण्डकी क्षेत्र ठूलो धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ,” उनले भने ।
कालीगण्डकी नदीमा पानी डाइभर्सन गर्ने योजनाका विषयमा बहस भइरहेका बेला नदी किनारको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न पदमार्गले सहयोग गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । रामपुर नगरपालिकाका प्रतिनिधि दोमराज तिवारीले पदमार्गले पाल्पासँगै तनहुँ र स्याङ्जाका कालीगण्डकी किनारमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा समेत योगदान पुग्ने बताए ।
स्थानीय सरकारको पहलमा कालीगण्डकी किनारका धार्मिक स्थल जोड्ने पदमार्ग निर्माण सुरु भएपछि सङ्घीय सरकारले समेत देवघाट–राम्दी हुँदै देवघाट–मुक्तिनाथ जोड्ने अवधारणालाई अघि बढाएको स्थानीयको भनाइ छ ।
रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि पदमार्ग निर्माण सुरु गरेको हो । नगरपालिकाका इन्जिनियर कृष्ण थापाका अनुसार पदमार्ग निर्माणमा पहिलो वर्ष एक करोड दुई लाख रुपियाँ र दोस्रो वर्ष दुई करोड ७० लाख ५० हजार रुपियाँ खर्च भएको छ । पैदलयात्रालाई सहज बनाउन विभिन्न स्थानमा दुई हजार ५६७ मिटर क्षेत्रमा इँटा तथा ढुङ्गा छापिएको उनले जानकारी दिए ।
उनका अनुसार केलादीघाटमा ५५७ मिटर, ज्याग्दी पार्कमा १९१ मिटर, तिलकपुरमा ४३२ मिटर, सुन्दर पार्कमा १९५ मिटर, सालिकराम पार्कमा ११४ मिटर र नर्मदेश्वर पार्कमा १९० मिटर क्षेत्रमा इँटा तथा ढुङ्गा छापिएको छ । नर्मदेश्वर पार्क क्षेत्रमा भुजातका ढुङ्गासमेत प्रयोग गरिएको उनले बताए ।
कालीगण्डकी किनारमा रामपुर नगरपालिकाभित्र विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल रहेका छन् । होस्तीको दुर्गा मन्दिर, निसर्दीको दुर्गा मन्दिर, भुजातको सिद्धबाबा, खैरेनीको मणिमुकुन्देश्वर, खोरियाघाटको कृष्ण मन्दिर, आमडाहाको शिव मन्दिर, तातोपानीको गौशाला तथा लक्ष्मीनारायण मन्दिर, रामघाटको राममन्दिर, केलादीको राधाकृष्ण मन्दिर र खोटाङ टापु धामलगायतका स्थललाई पदमार्गले जोड्ने नगरपालिकाले जनाएको छ ।
रामपुर क्षेत्रका धार्मिक स्थलसँग पौराणिक तथा जनविश्वाससमेत जोडिएका छन् । स्थानीयका अनुसार भगवान् राम वनवासका क्रममा रामपुर क्षेत्रमा आएको र राम–सीताले खाना पकाउन प्रयोग गरेको भनिने चुलो तथा सीताकुण्डजस्ता स्थलसमेत यहाँ रहेका छन् । यस्ता धार्मिक तथा पौराणिक महत्वका स्थलको संरक्षण र विकासमा पदमार्गले थप सहयोग पुग्ने स्थानीय कृष्णकुमार अर्यालले बताए ।
रामपुरका स्थानीय अमृत काफ्लेले नगरपालिकाले पदमार्ग निर्माणको काम अघि बढाए पनि देवघाटदेखि मुक्तिनाथसम्म जोड्ने बृहत् पदमार्ग निर्माणमा सङ्घीय सरकारको भूमिका अझै आवश्यक रहेको बताए । उनका अनुसार स्थानीयस्तरमा निर्माण भएको पदमार्गले धार्मिक तथा पर्यटकीय गतिविधि बढाउनुका साथै कालीगण्डकीको धार्मिक महत्वलाई थप उजागर गर्नेछ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद सन्दीप रानाले देवघाटदेखि मुक्तिनाथसम्म जोडिने पदमार्ग निर्माणका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउने बताए । उनका अनुसार कालीगण्डकी करिडोरसँग जोडिएका धार्मिक स्थललाई एकीकृत रूपमा विकास गर्न सके यस क्षेत्रको धार्मिक पर्यटनमा ठूलो सम्भावना छ ।
रामपुर नगरपालिकाका प्रवक्ता कपित खाँडका अनुसार देवघाट–मुक्तिनाथ पदमार्गले पूर्णता पाए भारतलगायत छिमेकी मुलुकबाट धार्मिक पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । धार्मिक पर्यटनको विस्तारसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र स्थानीयको आयआर्जन तथा जीवनस्तरमा समेत सुधार ल्याउन सकिने उनले बताए ।
नगरपालिकाले कालीगण्डकी किनारका धार्मिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पदमार्गलाई पर्यटनसँग जोड्ने योजना अघि बढाएको जनाएको छ । पदमार्ग सञ्चालनमा आएपछि धार्मिक स्थलको प्रचारप्रसार, स्थानीय उत्पादनको बजारीकरण र पर्यटन व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।