© 2026
रोल्पा । पछिल्लो समय साहित्यिक सिर्जना, पुस्तक लेखन तथा लेख–रचनाको प्रकाशन घट्दै गइरहेका बेला रोल्पाको इतिहास, भूगोल, सामाजिक तथा राजनीतिक घटनाक्रमलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको छ ।
गंगादेव गाउँपालिका–२ चौकावाङका लेखक टिकाराम नेपाली ‘अपिल’ले लेखेको ‘रोल्पाको इतिहास’ नामक पुस्तक लिबाङमा एक कार्यक्रमबीच विमोचन गरिएको हो ।
जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सिता आचार्यको र प्रमुख नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीको विशेष सहभागितामा पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।
लेखक नेपालीले रोल्पा जिल्लाको उत्पत्ति, राजनीतिक घटनाक्रम, सामाजिक तथा आर्थिक अवस्था र भौगोलिक संरचनालाई पुस्तकमा समेटिएको बताए । तत्कालीन प्यूठान र सल्यान जिल्लाका विभिन्न थुम तथा मौजा समेटेर रोल्पा जिल्ला बनेको ऐतिहासिक तथ्यलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले पुस्तक लेखेको उनले बताए ।
उनले इतिहास विगतका घटनाको विवरण मात्र नभई वर्तमानलाई बुझ्ने र भविष्यका लागि सिकाइ प्राप्त गर्ने आधार भएको बताए । रोल्पाको राजनीतिक तथा सामाजिक इतिहासमा दशवर्षे सशस्त्र द्वन्द्वको महत्वपूर्ण प्रभाव रहेकाले त्यस अवधिका विभिन्न घटना र संघर्षका प्रसङ्ग पनि पुस्तकमा समेटिएको उनले बताए ।
नेपालीले आफूलाई इतिहास लेखनको पूर्वअनुभव नभए पनि कविता, गजल तथा फुटकर लेख लेख्दै आएको बताए । पुस्तक तयार पार्ने क्रममा विभिन्न व्यक्तिसँग भेटघाट गरी तथ्य संकलन गर्दा कठिनाइ भए पनि अग्रज तथा सहपाठीको सल्लाह र सहयोगबाट लेखन पूरा गर्न सफल भएको उनले बताए ।
टिकाराम नेपाली ‘अपिल’को जन्म २०४१ साल असोज १७ गते साविक जिनावाङ गाविस–१, हाल गंगादेव गाउँपालिका–२ चौकावाङमा भएको हो । उनका बुवा रघु नेपाली र आमा पार्वती नेपाली हुन् । उनले सानोठिमी क्याम्पस, भक्तपुरबाट आईएड, बीएड तथा एमएड तहको अध्ययन गरेका छन् ।
पुस्तक लेखनमा सहयोग गर्ने सन्तोष बुढामगर, लेखनाथ आचार्य, गंगाराम डाँगी, बालाराम घर्तीमगरलगायतलाई उनले धन्यवाद दिएका छन् । पुस्तकको प्रकाशन, शुद्धाशुद्धी तथा डिजाइनमा सहयोग गर्ने निशान विक र इन्डिगो इङ्क पब्लिकेशनप्रति पनि उनले आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पुस्तकले वर्तमान पुस्तालाई रोल्पाको इतिहास बुझ्न सहयोग पुर्याउने बताएका थिए । स्थानीय इतिहास, संस्कृति, भूगोल र महत्वपूर्ण घटनालाई पुस्तकका माध्यमबाट संरक्षण गर्ने प्रयास सकारात्मक रहेको उनीहरूले बताएका थिए ।