Butwal Today

नेपाली कम्युनिस्ट सत्ता सञ्चालनमा कमजोर देखिए : शंकर पोखरेल

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा कमजोर देखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै महासचिव पोखरेलले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता किन टाढिए भन्ने विषयमा निर्मम समीक्षा नगरेसम्म कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव नहुने बताएका छन् ।

कम्युनिस्ट आन्दोलनमा अधिकार र सङ्घर्षका विषयमा धेरै चर्चा भए पनि समाज परिवर्तनको मुख्य आधार ‘अर्थराजनीति’को विषय उपेक्षित रहेको उनको भनाइ छ । क्रान्तिपूर्व ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागू हुन नसकेको र सरकारमा पुगेपछि आमरूपमा शक्ति क्षयीकरण हुने गरेको उनले उल्लेख गरेका छन् ।

कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए पनि जनसमर्थन भने बढ्नुको साटो घटेको उनले विश्लेषण गरेका छन् ।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौ महिने वामपन्थी सरकारबाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले जनमत बढाउन नसकेको उनले दाबी गरेका छन् । आमनिर्वाचन २०८२ मा सिङ्गो वामपन्थी आन्दोलनले बेहोरेको असाधारण धक्काले वाम तथा कम्युनिस्ट आन्दोलनबारे नयाँ ढङ्गले चिन्तन–मनन गर्नुपर्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

सरकारमा हुँदा नेता तथा कार्यकर्तामा सामाजिक रूपान्तरणप्रतिको हुटहुटी किन शिथिल भयो भन्ने विषयमा गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन् ।

हरेक समस्याका पछाडि कारण हुने र त्यसको समाधान पनि त्यही कारणभित्र निहित हुने मार्क्सवादी मान्यता रहेको उल्लेख गर्दै पोखरेलले समस्याबाट भाग्नुभन्दा त्यसको सामना गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?