© 2026
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै बृहत्तर एकताका लागि अघि बढ्न अपिल गरेका छन्। संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेसभित्रको विवादले लोकतन्त्र र राष्ट्रियता कमजोर हुने जोखिम रहेको बताए। उनले गत पुसमा भएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको दाबी गर्दै त्यससम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरवलोकनको क्रममा रहेको उल्लेख गरे।
देउवाले पार्टीभित्र भावनात्मक एकता आवश्यक रहेको बताउँदै असहमतिलाई सबैको न्याय र कदर हुने गरी बृहत्तर एकतामा रूपान्तरण गर्नुपर्ने धारणा राखे।“व्यक्ति केन्द्रित हुन हुन्न। पार्टी एकताको पक्षमा दृढ हुन आह्वान गर्न चाहन्छु। पार्टीका सबै हामीहरू एकै परिवारका सदस्य हौं।” मुलुकको वर्तमान राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै देउवाले राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्ने बताए। लोकतान्त्रिक शक्तिबीच एकता कायम गर्दै संविधानप्रदत्त निकासका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ थियो।
समाजमा देखिएको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उल्लेख गर्दै देउवाले विगतका राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा खराब देखाउने भाष्यले मुलुकलाई थप कमजोर बनाउने बताए। कांग्रेसको नेतृत्वमा भएका राजनीतिक परिवर्तनप्रति आफूलाई गर्व रहेको पनि उनले बताए।
देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण नेपालमा गणतन्त्र आएको दाबी पनि गरे। आफूले ज्ञानेन्द्रलाई संवैधानिक राजतन्त्र स्वीकार गरेर अघि बढ्न आग्रह गरेको तर त्यसको सट्टा आफूलाई जेल हालिएको उनले बताए। “गणतन्त्र ल्याउनेमा मेरो होइन, राजाकै हात छ। बेलायतमा संवैधानिक राजतन्त्र छ, त्यस्तो भएर बस भन्दा उल्टै मलाई जेल हालिदिएका थिए।” उनको भनाइअनुसार, तत्कालीन राजसंस्थाले संवैधानिक राजतन्त्रको विकल्प स्वीकार नगरेपछि मुलुक गणतन्त्रतर्फ अघि बढेको हो।