© 2026
काठमाडौँ । दूध खरिद–बिक्री तथा किसानलाई तिर्न बाँकी पुरानो रकम भुक्तानी गर्न त्रिपक्षीय सम्झौता भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थान (डिडिसी) बिच लैनचौरमा आज त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका महाप्रबन्धक डा। रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी र दुग्ध विकास संस्थानका महाप्रबन्धक डा। शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्थाका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानले दैनिक १५ हजार लिटर दूध डिडिसीलाई उपलब्ध गराउनेछन् ।
डिडिसीले यसअघि खरिद गरेको दूधको तिर्न बाँकी रकम आगामी एक महिनाभित्र भुक्तान गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै, दूधको मात्रा र गुणस्तर सुरुआती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने तथा दूधको कन्भर्जको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
डिडिसीका महाप्रबन्धक डा। शरणकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनका लागि सम्झौता कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन बढाउन, उत्पादन वृद्धि गर्न तथा आत्मनिर्भरता बढाउन सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यसै गरी, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौता नेपाली दुग्ध उत्पादक किसानका लागि ऐतिहासिक दिन भएको बताए । केन्द्रीय सङ्घको सञ्जालमा आबद्ध संस्थाले दैनिक ४७ हजार लिटर दूध सङ्कलन गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक तथा कर्मचारीलगायतको सहभागिता थियो ।