Butwal Today

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रम आयोजना गरी टोलीको बिदाइ गरेको हो। नेपालले मलेसिया जानुअघि केही दिन भारतमा प्रशिक्षण गर्नेछ ।

प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ छन् । अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ । दोस्रो खेल सेप्टेम्बर ३ मा बहराइनसँग, तेस्रो खेल सेप्टेम्बर ५ मा आयोजक मलेसियासँग र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?