Butwal Today

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

भट्टले शुक्रबार बिहान आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख मियाँसमक्ष दाबी पेस गरेका थिए ।

कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए ।

तोकिएको समयभित्रै एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । नेकपाका एक सांसदका अनुसार भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री बनेपछि भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।

नेकपा र एमालेबीच सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटसमेत भइसकेको छ । जसअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीनवटा मन्त्रालय पाउने सहमति भएको छ ।

एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व गर्ने स्रोतले जनाएको छ ।

गत ३१ असारमा एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । शाहले बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसलगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?