© 2026
बुटवल । रुपन्देहीमा होटल तथा स्पा सेन्टरमा अनैतिक गतिविधि भइरहेको आशंकामा प्रहरीले अनुगमन तथा कारबाही तीव्र पारेको छ। यसक्रममा बुटवलको योगीकुटीस्थित एक होटलबाट १२ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलको अगुवाइमा मंगलबार गरिएको आकस्मिक अनुगमनका क्रममा योगीकुटीस्थित ईनआउट होटलबाट ५ पुरुष र ७ महिलालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रशान्त श्रीवास्तवका अनुसार उनीहरूलाई होटलभित्र आपत्तिजनक अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
मंगलबार इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा नगरपालिकाका २५ भन्दा बढी होटल तथा स्पा सेन्टरमा आकस्मिक अनुगमन गरेको थियो।अनुगमनका क्रममा अधिकांश होटल तथा स्पा सेन्टर आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको प्रहरीले जनाएको छ। कतिपयमा व्यवसाय सञ्चालनको अनुमति, स्पा सेन्टरमा उपलब्ध सेवाको विवरण तथा शुल्कको मूल्यसूचीसमेत नरहेको भेटिएको थियो।
त्यस्तै, कर्मचारीको नियुक्तिपत्र, उमेर तथा परिचय खुल्ने कागजात र कर्मचारीसम्बन्धी अभिलेखसमेत व्यवस्थित रूपमा नराखिएको प्रहरीको दाबी छ। प्रहरीले होटल तथा स्पा सेन्टरमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।