Butwal Today

रूसमा युक्रेनी आक्रमण, ४ जनाको मृत्यु

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

मस्को । दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर भेन्यामिन कोन्ड्रातयेभले बुधबार बताएका छन् । यसैगरी दक्षिणी युक्रेनको अग्रणी सहर खेरसनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।

युक्रेनले पछिल्लो समयमा प्रभावित युक्रेनी सहरहरूमा मानिसहरूलाई सुरक्षित आश्रयमा राख्न र देशभरका नागरिकलाई मार्न बाध्य पार्ने मस्कोको चर्को आक्रमणको उचित प्रतिशोधका रूपमा रूसमाथि आफ्नो आक्रमण बढाएको जनाएको छ ।

रूसको पर्यटकीय क्षेत्र क्रास्नोडारमा “सयौँ” युक्रेनी ड्रोनको ब्यारेज प्रहार गरिएको क्षेत्रीय गभर्नर कोन्ड्रातयेभले बताएका छन् । नोवोरोसिस्कमा एक जना आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि गर्दै उनले आठ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताए ।

ड्रोन आक्रमणले बन्दरगाह सहरका २१ भवनमा क्षति पुगेको जनाउँदै उनले सामाजिक सञ्जालमा प्रसारित तस्बिरहरूले भवन तथा कारहरू जलेको देखाएको बताए । भोल्ना गाउँको एक निजी घरको बगैँचामा ड्रोनको भग्नावशेष खस्दा अर्का एक व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

कालो सागरको तटमा रहेको रिसोर्ट सहर जेलेन्डजिकमा पनि युक्रेनी आक्रमणका कारण दुई जना घाइते भएको जनाइएको छ । आफ्नो क्षेत्र र कालो सागरमा रातारात ५०२ युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । यसैबीच, युक्रेनको वायु सेनाले मस्कोले मिसाइल र १३८ ड्रोनमार्फत आक्रमण गरेको रिपोर्ट गरेको छ ।

दक्षिणी युक्रेनको अग्रणी सहर खेरसनमा रूसी ड्रोनले गरेको आक्रमणमा दुई जनाको ज्यान गएको सहर प्रमुखले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?