Butwal Today

पाल्पामा ९५ करोड १० लाख राजस्व सङ्कलन

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-
पाल्पा । पाल्पामा चालु आर्थिक वर्षमा ९५ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्लामा कर तथा राजस्व सङ्कलन गर्दै आएको करदाता सेवा कार्यालय खारेज भएपछि त्यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ ।
सरकारले कर तथा राजस्व सङ्कलनको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दिए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष करिब १० प्रतिशत कम राजस्व सङ्कलन भएको हो ।
उद्योगी–व्यवसायी, व्यापारिक फर्म, एकलौटी फर्म तथा व्यक्तिगत आम्दानीलगायतबाट राजस्व सङ्कलन गर्दै आएको करदाता सेवा कार्यालय खारेज भएपछि पाल्पाका करदाताले छिमेकी जिल्ला रुपन्देहीको बुटवलस्थित कार्यालयमा राजस्व दाखिला गर्नुपर्ने अवस्था आएको छ । यसका कारण जिल्लामा राजस्व सङ्कलन घटेको प्रमुख कोष नियन्त्रक सूर्यप्रसाद अर्यालले बताए ।
प्रमुख अर्यालका अनुसार गत आर्थिक वर्षमा पाल्पामा ९५ करोड ९२ लाख २९ हजार १ सय ४७ रुपैयाँ राजस्व तथा कर सङ्कलन भएको थियो । त्यसअघि करदाता सेवा कार्यालयले १ अर्ब ६ करोड २३ लाख ४ हजार ४ सय ४५ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले राजस्व सङ्कलनको जिम्मेवारी दिए पनि आवश्यक जनशक्ति व्यवस्थापन र कर्मचारीको क्षमता अभिवृद्धिमा पर्याप्त पहल गरेको छैन । राजस्व सङ्कलनको जिम्मेवारी थपिए पनि सोहीअनुसार कर्मचारी र स्रोतसाधन उपलब्ध नहुँदा काममा चुनौती देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी राजस्व यातायात व्यवस्था सेवा कार्यालयबाट सवारीसाधन करबापत १७ करोड १९ लाख रुपैयाँ सङ्कलन भएको छ । त्यस्तै, एकलौटी फर्म तथा व्यक्तिगत आम्दानीमा लाग्ने करबापत १० करोड २९ लाख ७३ हजार १३ रुपैयाँ र वन क्षेत्रको रोयल्टीबापत ९ करोड ३ लाख ३८ हजार २ सय ८९ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?