Butwal Today

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

ढाका । बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण, सीमा विवाद तथा लामो समयदेखि विचाराधीन पानी बाँडफाँटलगायतका विषय समाधान गर्न चाहेको जनाएको छ ।

बङ्गलादेशको संसद्को विदेश मामिला मन्त्रालयसम्बन्धी स्थायी समितिका अध्यक्ष तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का सांसद जह्रत अदीब चौधरीले भारतसँग ‘राम्रो र स्वस्थ सम्बन्ध’ निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए ।

एएनआईसँगको कुराकानीमा चौधरीले करिब दुई वर्षको राजनीतिक अस्थिरतापछि गत फेब्रुअरीमा जनादेश प्राप्त गरी सरकार गठन गरेको बीएनपीले विदेश नीतिमा ‘बङ्गलादेश पहिलो’ दृष्टिकोण अपनाएको बताए । उनले भारतसँगको सम्बन्ध पनि दुवै देशलाई लाभ हुने ‘विन–विन’ रणनीतिका आधारमा अघि बढाउने सरकारको नीति रहेको स्पष्ट पारे ।

“भारत हाम्रो सबैभन्दा ठूलो छिमेकी हो । बङ्गलादेशका लागि हामी हाम्रो छिमेकीसँग राम्रो र स्वस्थ सम्बन्ध राख्न चाहन्छौँ,” उनले भने ।

चौधरीले बङ्गलादेश र भारतबीच केही महत्त्वपूर्ण मतभेद तथा लामो समयदेखि समाधान हुन नसकेका विषय रहेको स्वीकार गरे । भारतमा रहेकी पूर्व प्रधानमन्त्री हसिनाको प्रत्यर्पण, सीमा विवाद र पानीको अधिकारसम्बन्धी विषयलाई उनले प्रमुख मुद्दाका रूपमा उल्लेख गरे ।

“हामीसँग धेरै चुनौती छन् । शेख हसिना अहिले भारतमा हुनुहुन्छ । हाम्रो सीमा विवाद छ र लामो समयदेखि पानीको अधिकारसम्बन्धी मुद्दा पनि बाँकी छन् । त्यसैले भारतसँग हामीले समाधान गर्न चाहेका धेरै विषय छन्,” उनले भने ।

बीएनपी सरकारले ती विषयलाई बङ्गलादेशको राष्ट्रिय गरिमा कायम राख्दै व्यावसायिक र सम्मानजनक ढङ्गबाट समाधान गर्न चाहेको चौधरीले बताए । उनले भारतबाट पनि त्यही प्रकारको प्रतिबद्धता र सम्मानको अपेक्षा गरिएको उल्लेख गरे ।

“बङ्गलादेश आफ्ना कुनै पनि छिमेकीसँग वैमनस्यमा विश्वास गर्दैन । तर हामी मर्यादा, सम्मान, आफ्नो उचित अधिकारको स्वीकार र पारस्परिक हितका आधारमा सम्बन्ध अघि बढाउन चाहन्छौँ,” उनले भने ।

चौधरीको यस्तो भनाइ बङ्गलादेशले भारतसँग पूर्व प्रधानमन्त्री हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो गर्न आग्रह गरेको एक दिनपछि आएको हो । भारतीय उच्चायुक्त दिनेश त्रिवेदीले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया तीव्र बनाउने अपेक्षा बङ्गलादेशले गरेको उल्लेख गरिएको थियो ।

बङ्गलादेश सचिवालयस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुवै पक्षले प्रमुख द्विपक्षीय विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री रहमानले बङ्गलादेश र भारतबीचको सम्बन्धलाई अघि बढाउन उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । भेटमा विदेशमन्त्री खलिलुर रहमान, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरलगायत अधिकारी सहभागी थिए ।

त्रिवेदीले प्रधानमन्त्री रहमानसँग भेट गर्नुअघि बङ्गलादेशका विदेशमन्त्रीसँग पनि छलफल गरेका थिए । हसिनाको भारतमा उपस्थितिलाई लिएर पछिल्लो समय ढाका र नयाँदिल्लीबीच कूटनीतिक तनाव बढिरहेका बेला उच्चायुक्त र बङ्गलादेशको शीर्ष नेतृत्वबीच भएको भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि बङ्गलादेशबाट बाहिरिएकी हसिना त्यसयता भारतमा रहँदै आएकी छन् । गत अगस्ट ५ मा नयाँदिल्लीमा आयोजित भर्चुअल प्रेस अन्तरक्रियामा उनले आफूविरुद्ध जेल वा मृत्युदण्डको जोखिम भए पनि लोकतन्त्र पुनःस्थापना गर्न र देशलाई सही बाटोमा फर्काउन डिसेम्बरमा स्वदेश फर्कने दृढता व्यक्त गरेकी थिइन् ।

हसिनाको उक्त सार्वजनिक अभिव्यक्तिप्रति बङ्गलादेशले कडा आपत्ति जनाएको थियो । बङ्गलादेशको विदेश मन्त्रालयले त्यसबाट जनताको भावनामा असर परेको र दुई देशबीच सहयोग विस्तार गर्ने प्रयास थप जटिल बनेको जनाएको थियो ।

भारतले भने हसिनासँग सम्बन्धित उक्त कार्यक्रममा आफ्नो सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यहाँ व्यक्त गरिएका विचारलाई भारत सरकारले समर्थन नगर्ने बताएका थिए ।

“तपाईंले उल्लेख गर्नुभएको अन्तरक्रिया निजी सञ्चार संस्थाले आयोजना गरेको हो । यसमा सरकारको कुनै संलग्नता छैन र उक्त मञ्चमा व्यक्त गरिएका कुनै पनि विचारलाई भारत सरकारले समर्थन गर्दैन,” जयसवालले भने ।

बङ्गलादेशको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र समान हितका आधारमा अघि बढाउने बताउँदै आएको छ । हसिनाको प्रत्यर्पणसँगै सीमा, पानी बाँडफाँट र अन्य द्विपक्षीय विषय समाधान गर्न दुवै पक्षबीच निरन्तर संवाद आवश्यक रहेको बङ्गलादेशको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?