Butwal Today

कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु: युनिसेफ

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

किन्शासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपका कारण ३३० जना बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ ।

युनिसेफका अनुसार सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवाको प्रवाहमा गम्भीर अवरोध भइरहेको छ ।

अगस्ट २ सम्म १७ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामा ७४३ वटा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । तीमध्ये ३३० जनाको मृत्यु भएको युनिसेफले विज्ञप्तिमार्फत जनाएको छ ।

हरेक चार जना मृतकमध्ये एक जना बालबालिका रहेको पुष्टि भएको छ । विशेष गरी पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।

युनिसेफका अनुसार प्रकोपका कारण बाल्यकालको खोप, मातृ स्वास्थ्य सेवा र अन्य अत्यावश्यक स्वास्थ्य सेवामा पनि गम्भीर असर परेको छ । सङ्क्रमणको डर र स्वास्थ्य सेवामा आएको अवरोधका कारण धेरै मानिस आवश्यक उपचारबाट वञ्चित भइरहेका छन् ।

युनिसेफका प्रतिनिधि जोन एग्बरले इबोला प्रकोपले सम्पूर्ण स्वास्थ्य प्रणालीमा गम्भीर असर पारेको उल्लेख गर्दै मलेरियालगायत उपचार गर्न सकिने अन्य रोगका कारण पनि ठुलो सङ्ख्यामा बालबालिकाको मृत्यु भइरहेको बताए ।

विश्वव्यापी चिकित्सा संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले बुधबार पूर्वी कङ्गोको अवस्था झन् गम्भीर बन्दै गएको र प्रकोप नियन्त्रण हुने कुनै सङ्केत नदेखिएको भन्दै इबोला अभूतपूर्व गतिमा फैलिरहेको चेतावनी दिएको थियो ।

मङ्गलबारसम्म कङ्गोमा मे १५ मा इबोला प्रकोप घोषणा भएयता तीन हजार ९७३ वटा सङ्क्रमण पुष्टि भएको र एक हजार ८०१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?