© 2026
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ नेफिनले यही साउन २४ गते ३२औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।
महासङ्घले आज पत्रकार सम्मेलन गरेर ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकताः पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धतता’ अन्तरराष्ट्रिय नारा र ‘आदिवासी सुडेनीहरुको सुरक्षित जीवन र र कल्याणको रक्षा’ राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको जानकारी दिएको हो । यो दिवसलाई आदिवासी जनजातिको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, पहिचान र अधिकारप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा मनाइँदै आएको छ ।
महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मोले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन तथा संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिन यस वर्षका कार्यक्रम केन्द्रित हुने बताए। यही साउन २४ गते काठमाडौँको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजातिका मौलिक वेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकीसहित ¥याली सुरु भई टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने महासङ्घले जनाएको छ ।
कार्यक्रममा नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ । साथै परम्परागत खाद्य संस्कृति, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक सम्पदाको प्रदर्शनीसमेत आयोजना गरिने महासङ्घका महासचिव विमल सारु मगरले जानकारी दिए । दिवसका अवसरमा आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत विभिन्न संस्थाको आयोजनामा आदिवासी अधिकार, भाषा, संस्कृति, समावेशी विकास र नीतिनिर्माणसम्बन्धी विषयमा विज्ञसहितको छलफल, रक्तदान, वृक्षरोपण, युवा तथा महिला सम्मेलन, पुस्तक तथा फोटो प्रदर्शनीलगायत साताव्यापी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।