© 2026
रोल्पा । रोल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ र कोष तथा लेखा नियन्त्रक कार्यालय लिवाङ रोल्पाको सहकार्य तथा समन्वयमा सञ्चालन गरिएको घुम्ती कर सङ्कलन तथा सेवा शिविरमार्फत करिब २५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको उक्त अभियानले व्यवसायीलाई गाउँमै सरकारी सेवा उपलब्ध गराउँदै कर तिर्न सहज वातावरण सिर्जना गरेको छ ।
जिल्लाका उद्योगी तथा व्यवसायीलाई सदरमुकाम वा टाढाका सरकारी कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यका साथ सञ्चालन गरिएको शिविरमार्फत आर्थिक वर्ष २०८१/८२ र आर्थिक वर्ष २०८२/८३ को व्यावसायिक शुल्क सङ्कलन गरिएको रोल्पा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
अभियानमा कर सङ्कलनसँगै आय विवरण पेस गर्ने, उद्योग वाणिज्य सङ्घको सदस्यता दर्ता तथा नवीकरणलगायतका सेवा पनि एकै स्थानबाट उपलब्ध गराइएको थियो ।
रोल्पा नगरपालिकामा आन्तरिक राजस्व कार्यालयमा दाखिला हुने व्यावसायिक शुल्कतर्फ आर्थिक वर्ष २०८१/८२ मा १३९ जना व्यवसायीबाट पाँच लाख ५६ हजार रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा व्यवसायीको सङ्ख्या बढेर १६१ पुगेको र छ लाख ४४ हजार रुपैयाँ राजस्व दाखिला भएको उनले बताए । यसले व्यवसाय दर्ता तथा नवीकरण गर्ने व्यवसायीको सङ्ख्या क्रमशः बढिरहेको देखाएको उनले बताए ।
सुनिल स्मृति गाउँपालिकाका विभिन्न वडामा आर्थिक वर्ष २०८१/८२ मा १५६ जना व्यवसायीबाट तीन लाख ९० हजार रुपैयाँ व्यावसायिक शुल्क सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८२/०८३ मा व्यवसायीको सङ्ख्या बढेर २३३ पुगेको र पाँच लाख ८२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको सचिव अधिकारीले बताए । गाउँमै सेवा पुगेपछि नयाँ व्यवसायी पनि करको दायरामा आएको उनले बताए ।
त्रिवेणी गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा ३६ जना व्यवसायीबाट ९० हजार रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा व्यवसायीको सङ्ख्या ४५ पुगेको र एक लाख १२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । शिविर सञ्चालनसँगै व्यवसायीमा करप्रति सचेतना बढेको उनको भनाइ छ ।
परिवर्तन गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा ९८ जना व्यवसायीबाट दुई लाख २५ हजार रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा व्यवसायीको सङ्ख्या बढेर १३८ पुगेको र तीन लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सचिव अधिकारीले बताए । कर तिर्न गाउँमै सेवा पुगेपछि व्यवसायीको सहभागिता उल्लेखनीय रूपमा बढेको उनले बताए ।
माडी गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा ५३ जना व्यवसायीबाट एक लाख ३२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा व्यवसायीको सङ्ख्या ८१ पुगेको र दुई लाख दुई हजार पाँच सय रुपैयाँ सङ्कलन भएको अधिकारीले बताए । यसले ग्रामीण क्षेत्रमा कर प्रणालीप्रति विश्वास बढ्दै गएको सङ्केत गरेको उनले बताए ।
सुनछहरी गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा ४० जना व्यवसायीबाट एक लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा व्यवसायीको सङ्ख्या ५० पुगेको र एक लाख २५ हजार रुपैयाँ सङ्कलन भएको सचिव अधिकारीले बताए ।
रुन्टीगढी गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ मा ८१ जना व्यवसायीबाट दुई लाख दुई हजार पाँच सय रुपैयाँ सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा व्यवसायीको सङ्ख्या बढेर ९३ पुगेको र दुई लाख ३२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । सबै स्थानीय तहमा करदाताको सङ्ख्या बढ्दै गएको तथ्यांकले अभियान प्रभावकारी बनेको पुष्टि गरेको उनले बताए ।
जिल्लाका लुङ्ग्री गाउँपालिका, थबाङ गाउँपालिका र गंगादेव गाउँपालिकामा भने पछि घुम्ती शिविर सञ्चालन गरी कर सङ्कलन गरिने तयारी रहेको सचिव अधिकारीले बताए । ती स्थानीय तहका व्यवसायीलाई पनि गाउँमै सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए ।
परिवर्तन गाउँपालिकाका व्यवसायी प्रेमबहादुर मगरले गाउँमै कर सङ्कलन तथा दर्ता नवीकरणको सुविधा उपलब्ध भएपछि निकै सहज भएको बताए । पहिले कर तिर्न सदरमुकामसम्म पुग्न दिनभर समय खर्चिनुपर्ने, यातायात खर्च बेहोर्नुपर्ने र अन्य झन्झट सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए । अहिले आफ्नै पालिकामा सेवा पुगेपछि समय, श्रम र खर्चको बचत भएको उनले बताए ।
रुन्टीगढी गाउँपालिका होलेरीका व्यवसायी गोपाल डाँगीले विगतमा यस्ता घुम्ती सेवा नहुँदा व्यवसायी घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको बताए । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त सुवेदीले जिल्लाका साना तथा मझौला व्यवसायीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताए ।
उनका अनुसार शिविरमार्फत आय विवरण पेस गर्ने, कर सङ्कलन गर्ने, उद्योग वाणिज्य सङ्घको सदस्यता दर्ता तथा नवीकरण गर्ने सेवा एकै स्थानबाट उपलब्ध गराइएको थियो । यसले व्यवसायीको समय बचत गर्नुका साथै सरकारी सेवामा पहुँच विस्तार गरेको उनले बताए ।
अध्यक्ष सुवेदीका अनुसार साउन १४ देखि १७ गतेसम्म जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा पुगेर कर सङ्कलन तथा प्रशासनिक सेवा उपलब्ध गराउने कार्यतालिका तयार गरिएको थियो । सोही कार्यतालिका अनुसार साउन १४ र १५ गते रोल्पा नगरपालिकाका व्यवसायीका लागि लिबाङ बजारमा शिविर सञ्चालन गरिएको उनले बताए । साउन १५ र १६ गते सुनिल स्मृति र लुङ्ग्री गाउँपालिकाका व्यवसायीका लागि सुलिचौर बजारमा सेवा प्रदान गरिएको उनले बताए ।
त्यसैगरी साउन १६ गते परिवर्तन र थबाङ गाउँपालिकाका लागि बागमारा तथा दुईखोली बजारमा र त्रिवेणी गाउँपालिकाका लागि जुगार बजारमा घुम्ती शिविर सञ्चालन गरिएको अध्यक्ष सुवेदीले बताए । अभियानको अन्तिम दिन साउन १७ गते माडी र गंगादेव गाउँपालिकाका लागि घर्तीगाउँ बजारमा, सुनछहरी गाउँपालिकाका लागि पोबाङ बजारमा तथा रुन्टीगढी गाउँपालिकाका लागि होलेरी बजारमा सेवा उपलब्ध गराइएको उनले बताए ।
अध्यक्ष सुवेदीले दुर्गम बस्तीका व्यवसायीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्ता अभियान प्रभावकारी देखिएको बताए । उनका अनुसार व्यवसायीको समय, श्रम र आर्थिक खर्च बचत हुनुका साथै सरकारी निकाय र निजी क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि अभियानले महत्वपूर्ण भूमिका खेलेको छ । आगामी दिनमा बाँकी स्थानीय तहमा पनि यस्ता शिविर सञ्चालन गरी सबै व्यवसायीलाई कर प्रणालीको पहुँचमा ल्याइने उनले बताए ।
रोल्पा उद्योग वाणिज्य संघका अनुसार घुम्ती कर सेवा अभियानले ग्रामीण क्षेत्रका व्यवसायीमा कर तिर्ने संस्कार विकास गर्न, व्यवसाय दर्ता तथा नवीकरणलाई नियमित बनाउन र राजस्व सङ्कलन वृद्धि गर्न उल्लेखनीय योगदान पु¥याएको छ । सङ्घले आगामी वर्षहरूमा पनि सम्बन्धित सरकारी निकायसँग सहकार्य गरी यस्ता सेवा अझ प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।